Tuesday, February 26, 2013

गफै त हो सम्धी

प्रविधिको प्रयोगमा नेपालका सबै सरकारी कार्यालयको तुलनामा निर्वाचन आयोग 
अगाडि रहिआएको छ । मतदाता सुचीमा नाम लेखाएपछि सबै मतदाताको
नाम यसरी वेबसाइटमा अद्यावधिक गर्ने गरेको छ । 
साँच्चै हो सामाजिक मिडिया एकदमै शक्तिशाली बनेको छ । यसले प्रचण्डपुत्रलाई सगरमाथा चढ्ने खर्च दिने निर्णय देखि ग्याँसको भाउ फिर्ता लिनसम्म सरकारलाई बाध्य पारेको छ । यसकै शक्तिलाई देखेर केही साथीहरु राजनीतिक दल नै खोल्न पनि हौसिनुभएको छ ।

सामाजिक मिडियामा सबैभन्दा धेरै हुने कुराकानी भनेको राजनीतिक दल र नेतालाई गाली हो । हरेक दिन अधिकाँश हामीहरु यसैमा व्यस्त हुन्छौँ । तर एउटा सानो प्रश्नले भने मलाई यो समुहको सक्रियताबारे सोच्न बाध्य पारेको छ ।


देश चुनावतिर जाँदैछ । आज नगए पनि भोली जान्छ । जेठमा नभए मंसीरमा होला । यसका लागि निर्वाचन आयोगले लगभग दुई वर्ष पहिलेदेखि नै फोटो सहितको मतदाता नामावली संकलन थालेको हो । घरघरमा गएर पहिले घर नम्बर दिइयो र निर्धारित ठाउँमा गएर फोटो खिच्न लगाइयो । निर्वाचन आयोगले कतिसम्म सहज बनायो भने काठमाडौँमा बस्ने जान्नेमान्नेहरुलाई यहाँकै जिल्ला निर्वाचन कार्यालयमा गएर आफ्नो नागरिकता भएकै ठाउँमा नाम लेखाउन सक्ने व्यवस्था समेत मिलाइदियो । गाउँका मानिस बरु गाविस वा नगरपालिकाको आदेश ठानेर नजिकको विद्यालय वा वडा कार्यालयमा गएर तत्काल फोटो खिचाए तर दुःखको कुरा, सधैँ अरुलाई ‌‍औँलो देखाउने धेरै बिद्वानहरुले अझैसम्म आफ्नो नाम लेखाएका छैनन् । फलस्वरुप २०६४ को निर्वाचनमा १ करोड ७६ लाख मतदाता रहेकोमा अहिले १ करोड २० लाख मतदाताले मात्र आफ्नो नाम लेखाएका छन् ।

यसको नतीजा?
  1. फोटोसहितको मतदाता परिचयपत्र लागु भएपछि धाँधली गर्न नपाइने ठानेका दलहरुलाई यो अभियानको बिरोध गर्न राम्रो खुराक बनिरहेको छ ।
  2. मतदाता नामावली अद्यावधिक हुन नसकेर २०६४ सालकै मतदाता सुची लागु हुने डर छ जसले आगामी चुनावमा उत्तिकै धाँधली हुने छ ।
  3. र सबैभन्दा महत्वपुर्ण के हो भने यही कारणलाई देखाएरमतदाता सुचीमा नाम नभएका जति नागरिकताबिहीन हुन्  र उनीहरुलाई नागरिकता दिएर मात्र चुनाव गर्नुपर्दछ भनिँदैछ । 
सानो कुराको ठुलो असर
धेरैलाई लाग्न सक्छ मतदाता नामावलीमा नाम नलेखाउनु सामान्य कुरा हो । चाहेको बखत गरौँला । तर यही उदासीनताका कारण देशलाई दीर्घकालीन असर नै पर्ने अवस्था आइसकेकोतर्फ हाम्रो विद्वत समुदाय बेखबर छ ।

हामी सबैलाई थाहा छ २०६३ सालमा गाउँगाउँमा पुगेर नागरिकता वितरण गरिएको थियो । तत्पश्चात बालिग हुनेहरुले सजिलै नागरिकता पाउनसक्ने अवस्था विद्यमान छ । हालै अँगिकृत नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले पनि वंशजको आधारमा नागरिकता पाउनसक्ने व्यवस्था सरकारले गरेको छ ।

सँसारभरि नै बसाँइसराइको कारणले एक देशको नागरिक सोही देशमा मात्र बसिरहन सक्छ भन्ने अवस्था अहिले छैन । त्यसैले कुनै निश्चित समयबिन्दु तोकेर त्यसअघीसम्म आफ्नो देशमा बस्नेहरुलाई राज्यले नागरिकता दिने वा प्रक्रियामा सामेल गर्ने प्रचनल रहिआएको छ । र त्यसपछि बसाइँ सरेर आउने जनसँख्या आप्रवासी रहन्छ । तर हाम्रो देशमा हरेक ५ वर्षमा अंगिकृत नागरिकता बाँड्दै जाने प्रवृत्ति बस्यो भने देशको जनसँख्यालाई व्यवस्थापन गर्न कठीन हुन्छ र अप्ठ्यारो स्थिति आउनसक्छ ।

त्यसैले मेरो सबैलाई आग्रह छ कुनै नेतालाई गाली गर्नुअगाडी आफैँलाई सोध्नुस्, "के मैले मतादाता नामावलीमा नाम लेखाएको छू?"

अथवा यस्तो पनि हुनसक्छ ट्वीटर वा फेसबुकमा कोही हेडमास्टर बनेर ज्ञान बाँड्न थाल्यो भने वा नेतालाई गाली गर्न थाल्यो भने सोधौँ "के तपाइँले मतादाता नामावलीमा नाम लेखाउनुभएको छ?"

निर्वाचन आयोगले सुचीमा दर्ता गर्ने मतदाताहरुको विवरण वेबसाइटमा अद्यावधिक गर्ने गरेको छ । जहाँ गएर तपाइँले आफ्नो विवरण गलत रहेछ वा परिवर्तन भएको छ भने सच्याउन पनि सक्नुहुन्छः http://www.election.gov.np/EN/bbvrs/index.php 

1 comment:

  1. सह्राहनीय लेख । बौद्धिकवर्गले महत्वपूर्ण क्षेत्रमा उदासीनता देखाउँदा हामीले सामाजिक जर्जरतालाई प्रश्रय दिइरहेका हुन्छौं । बौद्धकता त फोहर देखेर नाक थुन्दा भन्दा फोहरलाई उचित ब्यवस्थापनमा पहलकर्मी भुमीका खेल्दा ज्यादा झल्किने गर्दछ । मैले मेरो फोटो सहित मतदाता परिचयपत्र अनलाइन रुजु गरिसकेको छु । यहाँलाई धेरै धेरै धन्यबाद !

    ReplyDelete