हिउँ परेको साँझमा झाडीमा रोकिँदा (Stopping By Woods on a Snowy Evening)
रोबर्ट फ्रस्ट
अनुवादः इन्द्रध्वज क्षेत्री
यी झाडी कसका हुन्, मलाई लाग्छ, म चिन्छु,
उसको घर छ शायद उता गाउँमा
उसले देख्ने छैन म रोकिएको
यहाँ,
उसका यी झाडीहरुमा हिउँले
भरिएको हेर्न ।
मेरो सानो घोडालाई लागेको हुनुपर्छ
अनौठो,
नजिकै कुनै गोठघर नहुँदा
पनि रोकिनु;
जङ्गल र जमेको तालको बीचमा,
वर्षकै सबैभन्दा अँध्यारो साँझमा।
उसले घाँटीको घन्टी हलाउँछ,
भुल भयो कि कतै भनेर सोध्न ।
अर्को आवाज त केवल सुस्त
बतासको,
र नरम हिउँका कणको सरसराहटको।
यी झाडी सुन्दर छन्,
गाढा र अँध्यारो,
तर मैले थाम्नु छ वचन आफ्नो
सुत्नुअघि नै जानु छ कैयौं
कोश,
सुत्नुअघि नै जानु छ कैयौं
कोश।
नहिँडेको बाटो (The Road Not Taken)
रोबर्ट फ्रस्ट
अनुवादः इन्द्रध्वज क्षेत्री
पतझड जंगलको बिचमा बाटो फाटेर दुई भए,
र, मलाई दुःख छ, म दुवै बाटो हिंड्न सक्दिनँ
र, एक यात्रीको रूपमा, म धेरैबेरसम्म
उभिएँ
र, एउटा बाटोलाई हेरेँ जहाँसम्म मेरो नजरले भ्याउँछ
जहाँसम्म त्यो
झाडीमा मोडिएर बिलाउँछ;
त्यसपछि मैले
अर्को बाटो हेरें, जुन पनि उतिकै
राम्रो थियो,
र सायद अझ
राम्रो यसको दाबी थियो,
किनकि त्यो
घाँसे थियो र माडिन चाहेको थियो;
यद्यपि पदचापले
माडिने सवालमा, दुइटै करिब उस्तै थिए,
र त्यो बिहान
दुइटै बाटो, उसरी नै पसारिएका थिए
पातहरूमा थिएन कुनै
पदचापको कालो दाग
ओहो, मैले पहिलो बाटो अर्को दिनको लागि राखेँ!
मलाई थाहा थियो
कसरी एउटा बाटोले अर्कोमा डोर्याउँछ,
मलाई शंका थियो
कि म कहिल्यै फर्केर आउनेछु।
म यो कुरा एक
दिन खुशीसाथ भन्नेछु कतै
युगौँयुग पछि:
जंगलको बिचमा दुई
बाटोहरू अलग भए, र म—
मैले त्यो बाटो
लिएँ जसमा कम हिँडिएको थियो,
र त्यसैले नै
हो यो सबै फरक पारेको ।
No comments:
Post a Comment