Wednesday, August 15, 2018

हेड सर, तपाइँको स्कुलमा सफा चर्पी छ?

 दृश्य १

तराइको एउटा उच्च माध्यामिक विद्यालय । १६०० जना विद्यार्थी अध्ययनरत छन्, ३० जना शिक्षक कर्मचारी । भारतीय दुतावासको सहयोगमा ५ करोड लागतमा भव्य तीन तले भवनमा अध्यापन हुन्छ । पूर्वपश्चिम लमतन्न सुतेको भवनको गेटबाट छिर्दा बित्तिकै देब्रेतिरको कुनामा पुरुष शौचालय छ भने पश्चिमतर्फको कुनामा महिला शौचालय छ । तीन तलामै यसरी व्यवस्थित चर्पी बनाइएका छन् । तर हालको अवस्था?

भवन अझै हस्तान्तरण हुन पाएको छैन । चर्पी भने सखाप भइसकेका छन् । पुरुष शौचालयमा छिर्दा सेरामिक्सका प्यानका टुक्राहरु खुट्टामा ठेस्सिन आइपुग्छन् । १२ वर्षको पिनास निको बनाउलाजस्तो गन्ध छ । दिसाका ढिस्काहरु छल्दै अलिक भित्र पस्दा दिसा र पिसाबको आहाल देखिन्छ । चर्पीमा जोडिएका धाराहरु पनि उखेलिएका छन् र पानीको आपुर्ति पनि बन्द छ ।

त्यस्तै हालत छ छात्रा शौचालयको पनि । अलिक ओभानो ठाउँ खोज्दै दिसापिसाब गर्न बस्दाबस्दै ढोकासम्मै आइपुगेको छ । अब त्यो शौचालयभित्र छिरेर दिसापिसाब गर्न सक्ने अवस्था नै छैन । धारा छन्, पानी यहाँ पनि काटिएको छ । 

दृश्य २

महेन्द्र राजमार्गबाट ४ किलोमिटर उत्तरतर्फको एउटा गाउँमा अवस्थित निम्न माध्यामिक विद्यालय । ३०० जना विद्यार्थी अध्ययनरत छन्, ८ महिलासहित १२ जना शिक्षक कर्मचारी । चर्पी जम्मा एउटा छ । विद्यार्थीसँग ढेसिइँदै जान अप्ठ्यारो लागेर शिक्षकहरु छिमेकीकहाँ चर्पी प्रयोग गर्न जान्छन् ।

रुम टु रिड भन्ने दाताले बनाइदिएको चर्पी भने २ वर्ष अगाडिदेखि प्रयोगविहिन छ । कारणः त्यसको भित्री प्लास्टर र फिनिसिङ गर्न बजेट छैन । करीब ३० हजार रुपियाँको अभावमा यो चर्पी रोकिएको छ, शिक्षक विदयार्थी सबैले कहर काट्न बाध्य छन् । नगरपालिकाका मेयरलाई ल्याएर हेडसरले देखाइपनि सकेका छन् । ३० हजार कतैबाट जोहो हुन सकेको छैन वा भनौं प्राथमिकतामा परेको छैन ।

यी दुई दृश्यले विद्यालयहरुले चर्पीलाई दिने उपेक्षा देखाउँछन् । र, यी दृश्यहरु कुनै ती स्कूल बिशेषका मात्र होइनन् । देशभरका सार्वजनिक विद्यालयमा जाने हो भने शौचालयको व्यवस्थापन सम्बन्धमा कमवेशी यस्तै समस्या देखिन्छ ।

चर्पीसम्बन्धी धारणा

मानिसले खाना खान्छ भने त्यसलाई बिसर्जन पनि गर्नुपर्छ । त्यसैले खानाको जोहोलाई महत्व दिइन्छ भने त्यत्तिकै महत्व शौचालयलाई पनि दिनुपर्छ । र जसरी खाना खाने थाल सफा हुनुपर्छ, त्यसैगरी चर्पी पनि सफा हुनुपर्छ । सफा चर्पी प्रयोग गर्न पाउनु मान्छेको मर्यादाको कुरा हो । तर माथिका उदाहरणबाट हामीले देख्यौं हाम्रा विद्यार्थीहरुको मर्यादित जीवनको अपेक्षालाई बाल्यकालदेखि नै निमोठ्दै लगेका छौं ।

चर्पीको सरसफाइसम्बन्धी अर्को मान्यता के छ भने चर्पी प्रयोग गरिसकेपछि त्यसलाई सफा राख्नु दायित्व हो । बिकसित देशहरुमा कोही कति व्यवस्थित वा सभ्य छ भनेर उसको घर वा सार्वजनिक स्थलको चर्पी हेरेर जाँच्ने गरिन्छ । र विद्यालयमा राम्रो र सफा चर्पी नराखेर हामीले फोहरी पुस्ता उत्पादन गर्दैछौं जसको नकारात्मक असरबाट पार पाउन धेरै वर्ष र लगानी लाग्नेछ ।

सफा चर्पीसम्बन्धी अर्को मान्यता के हो भने आफुले सफा चर्पी प्रयोग गर्न पाइयो भने आफुपछि प्रयोग गर्नेले पनि त्यस्तै सफा चर्पी प्रयोग गर्न पाउनुपर्छ । त्यसैले आफुले प्रयोग गरेपछि अनिवार्य रुपमा चर्पी सफा गरेर छाड्नुपर्छ । अब विद्यालयले नै सफा चर्पी राख्नेतर्फ पहल गरेन वा हजारौ विद्यार्थीले प्रयोग गर्ने चर्पी दिनको एकपटक पनि सफा गर्ने व्यवस्था मिलाउन सकेन भने विद्यार्थीले सफा गर्दैनन् वा पानीको पाइप भाँचेर फाले भनेर विद्यार्थीलाई कसरी दोष लगाउन पाइन्छ ?

चर्पीलाई हेर्ने दृश्टिकोण 

नेपाल सरकार शिक्षा मन्त्रालयको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता निर्देशिका २०७४ ले छात्र र छात्राहरुका लागि चुकुलसहितका अलगअलग शौचालय हुनैपर्ने न्यूनतम मापदण्ड कल्पना गरेको छ भने उत्कृष्ट मापदण्डमा 'सुरक्षित स्थानमा बाल, लैङ्गिक, अपाङ्गता र वातावरण मैत्री ४० छात्रा (माध्यामिक तहमा २५ छात्रा) र ४० छात्रहरुको अनुपातमा १ शौचालयको सुविधा' हुनुपर्ने कल्पना गरेको छ । अर्थात ३०० जना विद्यार्थी भएको विद्यालयमा कम्तीमा ६ वटा चर्पी हुनुपर्छ ।

विद्यालयमा छात्राहरुको शौचालयमा स्यानिटरी प्याड डिस्पोज गर्ने सुविधा पनि अनिवार्य हुनुपर्छ । उक्त निर्देशिकाले महिनाबारी स्वच्छता व्यवस्थापनका लागि सेनिटरी प्याड व्यवस्थापन गर्न छात्रा शौचालयहरूमा ढकनसहितको डस्टबिन राखिएको हुनुपर्ने न्यूनतम व्यवस्था गरेको छ । यसको अभावमा धेरै छात्राहरुले महिनावारीका बेला विद्यालयमा गयल हुनुपर्दछ । धेरै हेडसरहरुले भोगेकै हुनुपर्छ सानोमा उत्कृष्ट पढ्दै गरेका छात्राहरु किशोरावस्थामा प्रवेश गरेपछि एक्कासी कमजोर हुन थाल्छन् । अब ८ कक्षासम्म पढ्ने छात्राहरु र ८ जना शिक्षिका भएको विद्यालयमा एउटामात्र शौचालय हुनु कति दयनीय अवस्था होला?

 चर्पी नहुनु जनस्वास्थ्य समस्या पनि हो । किनकि चर्पी सफा भएन भने बालबालिकाहरु कि त खेत खलियान वा खोल्साखाल्सीतिर जान्छन् जसले वातावरण र पानी प्रदुषित गर्छ । अर्थात् उनीहरु दिसापिसाब च्यापेर बस्छन् जसले उनीहरुमा विभिन्न स्वास्थ्य समस्या आउनसक्छन् । दिसापिसाब च्याप्दा बालबालिका (र प्रौढमा पनि) कब्जियत हुने, माँशपेशीमा गडबड हुने, अनियमित दिसापिसाब, मुत्रनलीमा संक्रमणजस्ता समस्या हुने अध्ययनहरुले देखाएका छन् ।

व्यवस्थापकीय समस्या

कुनै विद्यालयमा चर्पी छैन भने त्यो विद्यालय व्यवस्थापन समितिको समस्या हो, नालायकी हो। अहिले विद्यालय शिक्षाको अधिकार पनि स्थानीय निकायमा गएकोले स्थानीय निकायको झन् ठुलो नालायकी हो । न्यूनतम लागतमा शौचालय सुचारु गर्न सकिने अवस्थामा पनि स्थानीय निकायले आनाकानी गर्नु अत्याचार नै हो । पाखापखेरा डोजर कुदाउने पैसाबाट अलिकित पैसा काटेर विद्यालयमा चर्पी बनाउनु पर्दैन भनेर अभिभावकहरुले स्थानीय निकायलाई सोध्नैपर्ने भएको छ ।

तर भएको चर्पी सफा छैन भने यो चाहिं विशुद्ध रुपमा विद्यालयको दैनन्दिन व्यवस्थापन हेर्ने प्रधानाध्यापकको असफलता हो । चर्पी सफा राख्ने व्यवस्था मिलाउन नसक्ने प्रधानाध्यापकले विद्यालय राम्रोसँग चलाउन सक्दै सक्दैनन् । चर्पी भनेको विद्यालयमा चाहिने चक डस्टर वा मार्कर जत्तिकै आवश्यक हो । बरु पढाइ प्रवचन विधिद्वारा गर्न सकिएला, चर्पीको विकल्प छैन ।

हेड सर, के तपाइँको स्कुलमा सफा चर्पी छ ? यो प्रश्न मैले हेड म्याडमहरुलाई सोधेको छैन किनकि मलाई आशा छ वहाँहरु यी समस्याहरुप्रति संवेदनशील हुनुहुन्छ र आफ्नो विद्यालयमा सफा चर्पी राख्ने व्यवस्था मिलाउनुभएको छ ।

शिक्षक मासिक, भदौ २०७५ मा प्रकाशित