Sunday, November 9, 2014

कठोर समयको कथा

२०७१ कात्तिक २२ गतेको कान्तिपुर कोसेलीमा छापिएको किशोर नेपालको आत्मकथा 'मेरो समय' माथिको समीक्षा । यसको  ओरिजिनल यहाँ पढ्न पाइन्छ।

Wednesday, October 8, 2014

धेरै कुरा बोल्ने एउटा तस्वीर

नेपाली महिला पत्रकारहरुको सँस्था सञ्चारिका समुहले एउटा फोटोसहितको सानो समाचार आफ्नो अनलाइनमा पोष्ट गरेको छ। जसमा नेपाली काँग्रेसको प्रवास सँगठन नेपाली जनसम्पर्क समिति अमेरिकाका संयोजक बिष्णु सुवेदीले आफ्नी श्रीमतीलाई खुट्टा ढोगाइरहेको र उनले प्रसन्न मुद्रामा आशीर्वाद दिएजसरी टाउकोमाथि हात लगाइरहेका छन् (हेर्नुस् तस्वीर)।

यो फोटो प्रकाशित भएपछि ट्विटरमा यसको पक्ष र विपक्षमा बहस भयो । पक्षमा बहस गर्नेहरुले यो उनको व्यक्तिगत स्वतन्त्रताको कुरा भएको,  श्रीमतीलाई खुट्टा ढोगाउनु सँस्कृति भएको र सामान्य तस्विर भएकोले कुनै आपत्ति गर्नुनपर्ने तर्क गरेका छन् । केही आलोचक र महिलावादीहरुले भने यो तस्विरले महिलाहरुको सम्मानमा आँच पुर्याउने र विभेदकारी भएको तर्क गरेका छन् । म पनि दोस्रो खालेमा पर्दछु र मेरा केही तर्कहरु छन्।

पहिलो कुरा खुट्टा ढोग्नु र ढोगाउनु विभेदकारी कार्य हो । किनकी श्रीमान-श्रीमतीबिचको सम्बन्ध समान हो । त्यसैले यो समानतामा आधारित हुनपर्दछ । कसैले खुट्टा ढोग्दा अर्कोले आशीष दिइरहेको हुन्छ । त्यसैले ढोग्ने मान्छे कमजोर र ढोग पाउने मान्छे शक्तिशाली हुन्छ । त्यसको सट्टा बढी समानतामुलक नमस्कार आदानप्रदान गर्न सकिन्छ । हुन त हाम्रो समाज सँरचना नै श्रेणीगत छ - ठुलो सानो भन्ने तहहरु छन् र नमस्कार गर्दा पनि सानोले पहिला गर्ने चलन छ या गरोस् भन्ने अपेक्षा रहन्छ । अँग्रेजीमा जस्तो जसले पहिला देख्छ वा सुविधा हुन्छ उसैले अभिवादन गरिहाल्ने चलन छैन। कतिपय अवस्थामा त फलानाले मलाई नमस्कार गरेन भनेर कुण्ठित हुने सरकारी हाकिम र सामाजका वरिष्ठहरु प्रशस्त छन् । यो सामन्ती पद्दतीको अवशेष हो । तर पनि ढोगाउनु भन्दा नमस्कार आदानप्रदान कैयौँ गुणा राम्रो र समानतामुलक हो ।

त्योभन्दा महत्वपुर्ण कुरा त्यो तस्विर फेसबुकमा किन राखियो भन्ने हो । किनकि सबै तस्विर फेसबुकमा राख्नकै लागि मात्र खिचिन्नन् । के उनले त्यो तस्विर फेसबुकमा राखेर आफ्नो श्रीमतीको आफुप्रतिको निष्ठा वा गुलामी प्रमाणित गर्न खोजेका छन्सँस्कृति नाममा ढोगाउने र श्रीमतीको खुट्टाको जल खुवाउने प्रशस्तै छन् । तर पनि त्यसलाई सार्वजनिक गरेर एउटा खराब कामलाई अझ प्रचारप्रसार गर्न खोजेको हो कि भन्नेमा बढी आपत्ति हो।

फोटो केवल फोटोमात्रै हुँदैन । यसबाट शक्तिसम्बन्ध पनि अभिव्यक्त हुन्छ । औपनिवेशिक कालमा स्थानीयहरुलाई पशु वा कामवासना तृप्तिको साधनको रुपमा चित्रित गरेरअफ्रिकाको गरिबीको तस्विर बेचेर शक्ति राष्ट्रहरुले शक्ति आर्जन गरिरहेको त हामीले भोगेकै छौँ। यो व्यक्तिगत तहमा समेत लागु हुन्छ ।

पतिपत्नीबिचको सम्बन्ध श्रेणीगत (hierarchical) होइन -  सिद्धान्ततः दुवै बराबर हुन् । तर श्रीमतीलाई खुट्टा ढोगाउनुत्यसको फोटो खिच्नु र सार्वजनिक गर्नुले बिभेदलाई बढावा दिएको हुन्छ ।

समानताको आकाँक्षा राख्ने सबैलाई यो फोटो बिझाएको हुनुपर्छ । अझ यसरी सार्वजनिक गर्ने व्यक्ति देशको सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको प्रवास सँगठन नेपाली जनसम्पर्क समिति अमेरिकाका सँयोजक हुन् । समाज सुधारमा सहयोगी हुनुपर्नेमात्र होइन नेतृत्व गर्नुपर्ने मान्छेले नै यस्ता गतिविधी सार्वजनिक गर्नु (उनको प्रोफाइल साथीहरुले मात्र पहुँच पुर्याउनसक्ने भएपनि फेसबुकमा राख्नु नै सार्वजनिक गर्नु हो । किनकी उनका केही हजार साथीभाई र आफन्तले देख्छन् । कसैले उनको श्रीमतीलाई ट्याग गरेपछि उनका त्यतिकै सँख्याका साथीले देख्छन्तिनैमध्ये केही साथीले शेयर गर्छन् र यसरी मिडियामै पनि आउनसक्छले महिला अस्मिता र समानताको आकाँक्षाको खिल्ली उडाउँछ । 

आस्थाबिश्वास वा सँस्कारका नाममा यस्तो कार्यलाई सही ठहर्याउनेहरुसित भने मेरो भन्नु केही छैन।

Tuesday, September 30, 2014

प्रधानमन्त्रीको गरीमा र सल्लाहकारको अक्षमता



प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमणका क्रममा खिचिएका आपत्तिजनक र अपमानजनक तस्विरहरु सोसल मिडिया र अनलाइनहरुमा आइरहेका छन् । प्रधानमन्त्री एउटा व्यक्ति मात्र नभइ संस्था हो। यसले उनको मात्र होइन राष्ट्रकै मानमर्दन भइरहेको छ । 

यति धेरै भइरहँदा पनि प्रधानमन्त्रीको सचिवालय वा उनको प्रेस सल्लाहकार समुहबाट आधिकारिक भनाइ नआउनु दुर्भाग्यपूर्ण छ। चाहेको भए सल्लाहकार समुहले ती तस्विर हटाउन र फैलिनबाट रोक्न सक्थ्यो ।

त्यसको लागि पहिलो कदम आपत्तिजनक तस्वीरहरु पोष्ट गर्ने व्यक्तिलाई तत्काल हटाउन लगाउन सकिन्थ्यो। त्यसरी पोष्ट गर्ने व्यक्तिहरु नेपाली काँग्रेससँग सम्वद्ध गैर आवासीय नेपाली रहेछन् । उनीहरुलाई सम्पर्क गर्न पनि सहज नै थियो । 

दोस्रो कदम यसरी सर्कुलेट भइरहेका तस्वीरहरुलाई थप शेयर नगर्न सार्वजनिक रुपमा औपचारिक आग्रह गरेको भए धेरैले सहज रुपमा हटाउने पनि थिए होला। 

त्यति गर्दा पनि सर्कुलेशन कायमै रह्यो भने फेसबुक (जहाँ सबैभन्दा बढी शेयर भएका छन्) मा रिपोर्ट गरेर पति ती तस्विर हटाउन सकिन्थ्यो ।

यति उपाय हुँदा पनि कुनै कदम नचालिनुले प्रधानमन्त्री पद र सँस्थाको गरिमालाई उनकै सल्लाहकार समुहले मतलब गरेनन् जस्तो छ।
 
हुँदाहुँदा अर्को एउटा तस्विर सार्वजनिक भएको छ जसमा प्रधानमन्त्रीका सल्लाहकार नै औपचारिक भेटवार्ता भइरहँदा छेउमा स्टकिँगस्को बाहिर हाफ प्यान्ट लगाएर खुट्टालाई कैँची बनाएर उभिइरहेको देखिन्छ। 

यो तस्विर (माथि) चाहिँ सल्लाहकार समुहले नै सार्वजनिक गरेजस्तो देखिन्छ किनकि औपचारिक भेटवार्ता भइरहँदा  अरुले प्रवेश नै पाउँदैनन् । यसले चाहिँ सल्लाहकार समुहको तत्परता वा सँवेदनशिलता मात्र होइन कि क्षमतामाथि नै प्रश्न उठाएको छ । 

यो मामलामा नेपाली काँग्रेस पार्टी पनि चुकेको छ । प्रधानमन्त्री कोइराला पार्टी सभापति पनि हुन् । यसरि तस्विर सार्वजनिक गर्ने महाशयहरु पनि पार्टीसम्वद्ध गैरआवासीय नेपाली रहेछन्। यसमा पार्टीले पनि तत्काल कदम चालेर प्रधानमन्त्री पद र सँस्थाको गरिमा बचाउन भुमीका खेल्न सक्थ्यो र अक्कल नभएका पार्टी सदस्यहरुलाई कारवाही गर्नसक्थ्यो । दुर्भाग्य त्यो अझ हुन सकेको छैन र हाम्रा प्रधानमन्त्री हाँसोका पात्र बनिरहेका छन् ।

सोसल मिडियालाई नै उपयोग गरेर विश्वका कति राजनेताहरुले आफ्नो लोकप्रियता बढाइरहेका छन्। हामीकहाँ भने उल्टो नतिजा निस्किरहेको छ। र त्यसको ठेक्का लिएका कथित सल्लाहकारहरु कानमा तेल हालेर बसेका छन् या निकृष्ट प्रयोगलाई बढावा दिइरहेका छन्।

Monday, August 25, 2014

राष्ट्रवाद, राष्ट्रियता र राष्ट्रियतावाद

Picture Source: Privilege of privilege, The Kathmandu Post
यस लेखमा सैद्धान्तिक भन्दा पनि आफ्नो सामान्य बुझाइको आधारमा राष्ट्रवादलाई परिभाषित गर्ने, नेपाली राष्ट्रवादका आधार, उग्र राष्ट्रवादले निम्त्याउने परिणाम र नेपालको सन्दर्भमा कसरि पुनर्परिभाषित गर्न सकिन्छ भन्नेबारे छोटकरीमा उल्लेख गरेन प्रयास गरेको छु ।

राष्ट्रवाद के हो?
राष्ट्रवाद आफ्नो देशप्रतिको आस्था हो, लगाव हो, माया हो, भावना हो । यो सदिऔँदेखि विकसित अवधारणामा आधारित हुन्छ र धेरैलाई आफुले देशलाई किन माया गर्छु भनेर प्रश्न सोध्ने जागरुकता नै हुन्न । या भनौँ यो यति स्वाभाविक हुन्छ कि कसैले यसमाथि प्रश्न उठाउनु जायज नै ठान्दैन वा यसलाई निरपेक्ष ठान्छ । आफु नेपालजस्तो पिछडिएको देशमा जन्मनुपरेकोमा गुनासो गर्नेहरु वा नागरिकता समेत परिवर्तन गरेर अर्को देशको नागरिक भइसकेकाहरुमा पनि ऐनमौकामा देशप्रतिको माया उम्लेर आउँछ, गोर्खाली रगत उम्लेर आइहाल्छ । तसर्थ राष्ट्रवाद भनेको कुनै भुगोलभन्दा पनि त्यहाँ रहेका आफुजस्तै पहिचान भएका समुदायप्रतिको माया हो ।

Saturday, April 5, 2014

मातृभुमी र पितृभुमी

जन्मभुमीको सेवा
हालै रसियाले युक्रेनको पुर्वी भाग क्रिमियालाई आफ्नो मुलुकमा गाभेको छ । यसबारे विश्व बिभाजित छ । अमेरिकी नेतृत्वको विश्वको ठुलो हिस्सा यसलाई अर्को मुलुकको सम्प्रभुतामाथिको आक्रमण ठान्छ । बिरोध गर्छ । रसियाले भने क्रिमियाको आत्मनिर्णयको अधिकार भएको भन्दै आफ्नो कदमको बलपुर्वक प्रतिरक्षा गर्दै आइरहेको छ । १९९० को शुरुमा शीतयुद्ध सकिएपछि फेरि तत्कालिन प्रतिद्धन्दी शक्तिहरु नै आमने सामने भएका छन् । यो बिभाजन बढ्दै जाने अनुमान गरिएको छ । १९७५ मा यसरी नै सिक्किमको विलय गरेको भारतले रुसको कदमको समर्थन गरेको छ । यसका छिटा नेपालमा पनि आइपुगेका छन् । सरकारी र औपचारिक तहमा नेपाल तटस्थ बस्ने निर्णय गरेको छ । सरकारइतर केही शक्तिहरु भने नेपालले यसको बिरोध गर्नुपर्थ्यो भन्ने ठान्छन्

Monday, March 24, 2014

टुक्राटाक्रीः नेपाल नबन्नुका केही कारण

नेपाल किन बनेन भन्नेबारेको विभिन्न कोणबाट बहस भइरहेका छन् । जसरी देश बनाउनु गार्हो छ त्यत्तिकै गार्हो छ देश किन बनेन भनेर कारण पत्ता लगाउन । यो मौकामा आफुलाई पनि लागेका केही कुरा नलेखिरहन सकिन । सैद्धान्तिक तहमा थुप्रै बहस भइसकेकोले यो लेखमा आफुले देखेको आधारमा नेपाल नबन्नुका केही व्यावहारिक कारणबारे आफ्ना बिचार राख्न खोजेको छु ।

चौकिदारको छोरो चौकिदार नै हुँदा मख्ख
लेख शुरु गर्न चाहन्छु पश्चिम नेपालको दुर्गम पहाडी गाउँमा बाल्यकाल बिताउँदा आफुले देखेको एक आम प्रवृत्तिको दृश्टान्तबाट । केही मगर र गुरुङ जातिका युवाहरुका लागि बेलायती सेना वा सिङ्गापुर, मलेशियन प्रहरीमा भर्ती हुने अवसर भए पनि क्षेत्रीहरुका लागि अन्तिम लक्ष्य भारतीय सेनामा भर्ती हुनु थियो भने बाहुन जातीका युवाका लागि भारतमै चौकिदारी लगायतका कामका अवसर हुन्थे। त्यस्ता गैरसैनिक (सिभिल) अवसर दुईथरि हुन्थेः अस्थायी र स्थायी (पार्मेन्टी वा पार्मेट) । अस्थायीबाट शुरु गर्दै स्थायी भएर पेन्शनमा निस्कन पाउनु जीवनको लक्ष्य हुन्थ्यो। सबैभन्दा भाग्यमानी त्यो हुन्थ्यो जो आफु पेन्शन निस्केपछि छोराका लागि पनि त्यही जागीरमा भर्ती गराउने ग्यारेन्टी हुन्थ्यो । अर्थात बाउले चौकिदार भएर ३० वर्ष वा बढी एक परिवारलाई सेवा गरेपछि फेरी छोरो चौकिदारकै रुपमा भर्ती हुन्थ्यो। यसरी तीन पुस्ताले काम गरिरहेको र चौथो पुस्ता पनि त्यही जागिरको लागि तयार हुँदै गरेको देखेको छु। यो दृश्टान्तबाट सामान्यीकरण गर्न खोजिएको निश्कर्ष के हो भने हामीमा यति सम्म जागीरे प्रवृत्ति छ कि चौकिदारको छोरो चौकिदार हुँदा नै हामी मख्ख हुन्छौँ । यो व्यवस्थाले एकातर्फ अर्को पुस्तासम्मको लागि रोजगारी त सुनिश्चित गर्छ तर नकारात्मक पक्ष झन् व्यापक छ किनकि चौकिदारको छोरो चौकिदार नै रहन्छ। उ सानैदेखि यो व्यवस्थाबारे जानकार रहन्छ, उसलाई त्यसै गरि नै हुर्काइन्छ र उसको मनोविज्ञान तथा शिक्षादिक्षा यस्तो बन्छ कि अन्त्यमा गएर चौकिदारको जागीर नै उसको लागि सबैभन्दा आकर्षक बन्न जान्छ । यो पश्चिम पहाडको आम प्रवृत्ति हो र दास प्रथाको परिवर्तित रुप पनि हो। किनकि यो व्यवस्थाले चौकिदारको छोरा चौकिदार नै वा ड्राइभरको छोरा ड्राइभर नै हुने अवस्था सिर्जना गर्छ।
 
जागीरे र कामचोर प्रवृत्ति
नेपालका अधिकाँश गाउँ (शहरमा त जम्मा १७%  जनसँख्या बस्छ) का मानिसमा रोजगारीका लागि जागीरै गर्नुपर्ने प्रवृत्ति छ । स्वरोजगार बन्ने वा उद्यम गर्ने चेत छैन । त्यसैले त थुप्रै पुर्वाधार खडा भइसक्दा, आन्तरिक बजारमा माग हुँदा र सरकारी प्रयासका बाबजुद पनि हामीहरुले सामान्य उत्पादनहरु पनि गर्न सकेका छैनौँ । यहाँको श्रमशक्ति बाहिरिनुपर्ने र विदेशी सामग्री उपभोग गर्नपर्ने बाध्यताबाट हामीहरु गुज्रिरहेका छौँ । जागीर गरेर कोही धनी बन्यो भने पौरख ठान्ने तर उद्यम गरेर कोही मानिसले प्रगति गर्यो भने ठगेको ठान्ने प्रवृत्ति छ । अपरिचित दलाललाई बिल भर्पाइ विना नै लाखौँ रुपियाँ बुझाएर विदेश जान, विदेशी सेनामा भर्ती हुन हामी लालयित हुनछौँ तर त्यही लगानीबाट उद्यम गर्न सक्दैनौँ । उद्यम गर्नेहरुमा पनि काम गरे आम्दानी र नाफा हुन्छ भन्ने स्पष्ट हुँदाहुँदै पनि अनुशासित भएर काम नगर्ने र हप्तामै २,३ दिन उद्यम बन्द गर्ने वा निश्चित समय काम नगर्ने प्रवृत्ति देखेको छु । जबकि त्यही मान्छे जागीरमा गयो भने अरुले तोकेको समयमा निश्चित घण्टा अनुशासित भएर काम गर्छ।