Monday, December 24, 2012

बुढो रुखको आत्महत्या (भाग २)

(कथाको दोस्रो वा अन्तिम भाग । पहिलो भाग पढ्न यहाँ क्लिक गर्नुहोस् ।)
एउटा बसन्तको सुन्दर दिन थियो । मेरा वरिपरि झण्डै तीन दर्जनको हाराहारीमा मानिस जम्मा भएका थिए । तीमध्ये ४ वा ५ जनासँग हतियार पनि थिए । म आश्चर्यमा थिएँ कि किन आज मानिसहरु यहाँ जम्मा भएका होलान्? सधैँ हतार हुने यी बिद्रोहीहरु किन आज मेरो वरिपरि सुस्ताउने धैर्य गरेका छन्? यी प्रश्नको उत्तर खोज्न मैले धेरै बेर कुर्न परेन । एकजना मेरो ठ्याक्कै अगाडि आए र छरिएर रहेकाहरुलाई आफु वरिपरि आउन आग्रह गरे । उनी रहेछन् कमरेड जेनिथ, बिद्रोहीका जिल्ला नेता । उनको भनाईबाट मैले बुझेँ कि एकजना जिल्ला कमिसार र अर्की लडाकु युवतीबिच बिहे हुँदै रहेछ । ती जिल्ला कमिसार चाहिँ क्षेत्री रहेछन् र लडाकु युवतीचाहिँ युगौँदेखि माथिल्लो जात भनिएकाले दलेर दलित नाम पाएको दमाई जातबाट रहिछिन् ।

ती वक्ताले यो कुरालाई जोड दिएर भने, "कमरेड भिक्टर र कमरेड निशाबिचको यो विवाह एउटा प्रगतिशील कदम हो । यसले परम्परागत रुपमा दलित भनेर पछि पारिएका समुदायलाई पनि हाम्रो पाटीमा समान रुपमा हेरिन्छ भन्ने कुरा स्थापित गर्दछ । हाम्रो पाटी र यसमा लागेका सबै कमरेडहरुले सँसारका सबै मानिस समान हुन् र केवल जात छन् भने पुँजिपती र श्रमीक दुईमात्र हुन् भन्ने कुरालाई आत्मैबाट अँगालेका छन् भन्ने प्रमाण पनि हो यो । सँसारको परिवर्तन चाहन्छौ भने आफैँबाट थाल भन्ने कुरालाई अनुसरण गर्दै आज विवाहबन्धनमा बाँधिने उहाँहरु दुवै जनालाई क्रान्तिकारी लाल अभिवादन ।"

Thursday, December 20, 2012

बुढो रुखको आत्महत्या (कथा)

डाँडाको टुप्पोमा वर्षौँदेखि एक्लै उभिइरहेको छु । आउने जाने मान्छेहरु मेरै छहारीमा एकछिन बिसाएर जान्छन् । आफ्नो बिरानो नभनी सबैलाई छहारी दिएकै छु । तर तिनैले नै हिँड्ने बेलामा भन्छन् कस्तो एक्लो रुख । पक्कै यो डाहाडे हुनुपर्छ र अरुलाई छेउमा पर्न पनि दिएको छैन । एकलकाँटे । आदि इत्यादी । यी सबै कुरा मैले पचाइरहेकै छु । तर कहिलेकाहीँ उनीहरुलाई पनि आफ्नो बारेमा केही भनिदिउँ कि झैँ त लाग्छ । भन्न मन लाग्छ मैले जति हुरीबतास वर्षा र आँधी कसले सहेको छ? यसरि उभिन मैले कम परिश्रम गरेको छु?

तर मान्छेको जातै न हो आफ्नो बिचार काटिएको कहाँ सुन्न सक्छ र? त्यसैले धैर्य गरेरै बसेको थिएँ । एक्लै भएपनि जिन्दगीलाई जसोतसो घिसारेकै थिएँ । शीर ठाडो गरेर उभिएकै थिएँ । जिन्दगीमा सधैँ अझै धेरै बाँच्ने र मानिसहरुलाई छहारी दिइरहने आशा थियो । तर आज भने मनै मरेर आयो । बाँच्नुको आकाँक्षा नै मरेर गयो । त्यसैले यो कथा भन्दैछु ।