Tuesday, August 20, 2013

परिश्रमी सोमबहादुर तामाङ र कृषिले ल्याएको परिवर्तन

राम्चे पुग्नको लागि पहिरो पार गर्दै यात्रुहरु
रसुवा जिल्ला । काठमाडौँबाट त्यति टाढा नभएपनि वर्षको कम्तीमा ३ महिना यो सडक सम्पर्कबाट बिच्छेद हुन्छ । यमानका पहिराले हरेक वर्ष कम्तीमा राम्चे र मुलखर्क गरी २ ठाउँमा सडकलाई क्षतविक्षत बनाइदिन्छन् र सदरमुकाम धुन्चे सडक सम्पर्कबाट बिच्छेद हुन्छ । यता राम्चेका बासिन्दा भने दुईतिरको पहिरोको कारणले टापुजस्तो अवस्थामा पुग्छन् । यस्तो अवस्थामा धेरैलाई लाग्नसक्छ त्यहाँ त झण्डै भोकमरीको अवस्था पो सिर्जना हुन्छ कि । तर त्यसो होइन ।

पानी पर्दा पहिरो चलिहाल्छ । माथिबाट ठुल्ठुला ढुँगा गड्याङगुडुङ आवाजसहित खस्छन्, तल बनिरहेको बाटोको डोरेटो पनि भत्काईदन्छ । तर कर्मठ उद्यमी र परिश्रमी रसुवाबासीलाई पहिरोले रोकेको छैन । पानी रोकिइसक्दा स्थानीयबासी जुट्छन्, पहिरो पन्छाउँछन् र अर्को डोरेटो बनाइहाल्छन् । उनीहरु आफु भोकमरीमा पर्ने कुरा त परै छाडौँ बरु काठमाडौँलाई समेत तरकारी खुवाइरहेका छन् ।