Tuesday, March 27, 2018

बहकिएको बहस

कुरो सामाजिक सञ्जालकै हो। गत साता एउटा कुरामा सामाजिक सञ्जाल अझ भनौं ट्विटरमा अप्रिय बहस, अनावश्यक ध्रुवीकरण र कित्ताकाट भयो। विवाद २ जनाबाट शुरू भयो जसलाई म चिन्छु र सम्मान गर्छु ।
विनु सुवेदीले काठमाडौंको कुनै स्कुलले छोरीको भर्ना फारममा बाबुको फोटो टाँस्नै पर्ने र बाबुकै आम्दानीको स्रोत खुलेको कागज हुनुपर्ने बाध्यात्मक व्यवस्थाको विरोध गरेकी थिइन् ।
त्यसलाई डाक्टर र लेखक रामेश कोइरालाले बकम्फुसे कुरा भनिदिनुभयो र रंग हेरेर नुहाउन दिएनन् वा वर्ण हेरेर चिया ख्वाएनन् भने झैं सार्वजनिक खपतको लागि मात्र भनिएको झैँ अर्थ लाग्ने गरी ट्विट गर्नुभयो।
त्यसपछि पक्ष र विपक्षमा बहसले तीव्र रफ्तार समात्यो। शायद ट्विटरमा भिडेरमात्र पार नलाग्ने ठानेर होला, रामेशले एउटा ब्लग  नै लेख्नुभयो।
त्यसको प्रतिउत्तरमा फेरि विनु सुवेदीको लेख बाह्रखरीमा छापियो।
यो बहसमा मलाई उदेक लागेको कुरा के हो भने तथ्यमा धेरैजना गएकै थिएनन्। विनुको पक्षमा बोल्नेहरूले रामेशलाई पितृसत्तावादी, महिलाबिरोधी, महिला अधिकार विरोधी आदि भनिरहे भने विनुलाई त डलरवादी, अधिकारवादी, ह्यानत्यान, अपाच्य गाली नै पनि ‌ओकल्न भ्याए।
तर प्रश्नको चुरो कुरो के थियो भने १ कक्षामा भर्ना गर्दा नै बाबुको फोटो टाँस्नुपर्ने बाध्यता गराउने विद्यालय कुन हो? त्यत्तिकैमा डिएभी स्कुलको फारम आयो जहाँ आमाबाबु दुवैको फोटो टाँस्नुपर्ने बाध्यात्मक छ। तर यसलाई डाक्टर रामेशले पनि एउटा भारतीय विद्यालय भनेर नजरअन्दाज गरिदिनुभयो। तर त्यो भारतीय विद्यालय त यहीँ जावलाखेलमा रहेको, नेपाली विद्यार्थीलाई नेपाली पाठ्यक्रम नै पढाउने विद्यालय पो हो त।
म सधैँ भन्ने गर्छु व्यक्तिको लागि लोकतन्त्र वा प्रजातन्त्र भनेको समान छनोटको अवसर पनि हो। यस्तोमा त्यो विद्यालयमा यस्तो व्यवस्था छ भने ‘अर्कोमा पढाउ न त, किन निहुँ खोज्नु’ भन्न मिल्दैन। त्यसैले समस्या एउटा मात्रै विद्यालयमा छ भने पनि त्यसलाई सुधार्न लाग्नुपर्छ जुन दिशातर्फ यो बहस जान सकेन।
यो किन भयो? यसका लागि सामाजिक मिडियाको विशेषतामा जानुपर्छ। यसका धेरै फाइदा छँदाछँदै नकारात्मक पक्ष के देखिएको छ भने जब मानिस सामाजिक सञ्जालको बहसमा उत्रिन्छ उसले आफ्नो अडान छोड्दैन। आफ्नो अडान उपयुक्त छैन भन्ने लाग्यो भने पनि उसले सच्याउँदैन, बरू प्रतिरक्षाको लागि अडान झन्झन् कसिलो बनाउँदै जान्छ। यसले गर्दा बहस झन् ध्रुविकृत हुन्छ र व्यक्तिगत अहम् (इगो) को लडाइँको तहमा पुग्छ। ‍
यस्तोमा सत्यतथ्य पत्ता लगाउने सहज बाटो पनि बिर्सिइन्छ। जस्तै माथिकै उदाहरणमा बिनुले पनि विद्यालयहरुको नाम भनेर वहसलाई सही गति दिनसक्थिन्। त्यसो भएको भए यो अनावश्यक र अनुचित प्रावधान सच्याउन विद्यालयहरुलाई बाध्य पार्न सकिन्थ्यो।
अथवा रामेशले पनि सिधै मेन्शन गरेर सोधेर सत्यतथ्य पत्ता लगाउन सक्नुहुन्थ्यो। यसरी एउटा महत्वपूर्ण बहस व्यक्तिगत आरोपप्रत्यारोपमा गएर टुङ्गियो, र एउटा महत्वपूर्ण विषय ओझेल पर्‍यो।
यसका लागि कम्तीमा हामी सबैले सत्यतथ्य पत्ता लगाउने बाटो छँदाछँदै आफ्नो तर्क राखिहाल्ने हतार नगर्दा राम्रो हुन्छ। मैले पढाउँदा वा पत्रकारिताका तालिमहरूमा बर्ट्रान्ड रसेलको एउटा भनाइको सधैँ प्रयोग गर्छु जुन यहाँ पनि सान्दर्भिक देख्छु। उनले भनेका छन् ‘एरिस्टोटलले भने कि पुरुषको भन्दा महिलाका दाँत कम हुन्छन् जबकि उनी २ पटक विवाहित हुन् र आफ्नै श्रीमतीको मुख खोलेर हेरेर यो भनाइलाई पुष्टि गर्ने लेठो गरेनन्।’
तसर्थ सम्भव भएसम्म तथ्यमा प्रवेश गरेर बहस गर्दा सबैलाई राम्रो र बहस पनि उपयोगी हुनसक्छ। अझ पत्रकार वा विचार निर्माताहरुले त यो तर्फ झन् ध्यान दिनुपर्छ।

Wednesday, March 21, 2018

दुस्साहसी तीन यात्रा

जिन्दगीमा सजिलो र सीधा बाटो हिँड्नै जानिएन कि जस्तो लाग्छ अचेल । यसलाई बल दिएको छ मेरा पछिल्ला तीन पदयात्राले । यी तीनवटै यात्रामा अरु प्रायः नहिंड्ने बाटो हिंडेर असाध्यै दुःख पाइएको छ र कतिपय अवस्थामा त धन्न बाँचियो भन्ने पनि परेको छ । अलिकति Man Vs Wild का उपाय अपनाएर पनि ज्यान बचाउनुपरेको छ। तर एकपटकको दुःखबाट पाठ नसिकेको पाउँदा म आफैंलाई विश्मय लाग्छ।

जंगलमा बास
तीन वर्षअगाडि खप्तड जाँदाखेरि अरु हिंडेको दीपायल, झिग्राना हुँदै नगएर अछामको चौखुट्टेबाट यात्रा शुरु गर्यौँ । छोटो बाटो भनेर त्यो रोजेका थियौँ। डडेलधुराबासीले चौखुट्टेबाट  ४,५ घण्टामा पुगिन्छ भनेको आधारमा हामी ३ बजेतिर चौखुट्टेबाट हिँडे पनि भ्याइन्छ भनेर सोझिएका थियौँ । स्थानीयले भने ८,९ घण्टा लाग्छ भनेपछि हामीलाई हेपेर यिनीहरुले त्यसो भने होलान् भन्ने ठान्यौँ अनि त्यही दिन नै हिंड्ने निर्णय गर्यौँ। गाइड खोजेर चौखुट्टेबाट हिँड्दा नै अपरान्हको ४ बजेको थियो, राती १ बजेसम्म हिंड्दा पनि गन्तव्य नपुगेपछि रातभर एउटा पाटीमा आगो बालेर बस्नुपरेको थियो। राष्ट्रिय निकुञ्जको बाटोमा रातभर हिंड्दा झण्डै वन्यजन्तुको आक्रमणमा परिएन। यो यात्राबारे लेखिएको सँस्मरण यहाँ पढ्न सकिन्छ ।

१२ दिने पदयात्रा ६ दिनमा
अर्कोपटक उपल्लो मुस्ताङ जाने योजना गरेर निस्क्यौँ । मुक्तिनाथ पुगेपछि माथि हाँसिरहेको दामोदर हिमाल छोएरै आउने यति तीव्र उत्कण्ठा भयो कि उपल्लो मुस्ताङ जाने योजनालाई गोली मारेर थोराङतिर हानियौँ। छ जना हिंडेकोमा तीनजना मात्र उकालो लाग्न सक्ने देखियो तर पनि हिम्मत हारिएन। बिहान ५ बजे हिंडेका हामी दिउँसो ४ बजेमात्र थोराङ पुग्यौँ। लगभग शतप्रतिशत पर्यटकले नै मनाङबाट मुस्ताङतर्फ यात्रा गर्ने गर्दछन् उनीहरु ४९०० मिटरमा रहेको हाइक्याम्प वा ४७०० मिटरमा रहेको बेसक्याम्पमा बसेर ५४१९ मिटरको थोराङ भञ्ज्याङ पार गरेर ३८०० मिटरको मुक्तिनाथमा पुगि विश्राम गर्छन् । हामी भने उल्टो बाटो हिंडेका थियौँ। ३८०० मिटरको मुक्तिनाथबाट यात्रा शुरु गरेर एकै दिनमा ५४१९ मिटर पुगेका थियौँ र झरेर ४९०० मिटरको हाइक्याम्पमा बास बस्न पुगेका थियौँ। दुई रातको बसाइ ११०० मिटरको फरकमा । यो पनि जोखिमपुर्ण नै थियो तर जेनतेन बाँचेर आइयो। यही यात्रामा तिलिचोसमेत पुग्न भ्याइयो । पर्यटकहरुले ‌औसतमा १२ दिन लगाउने पदमार्ग हामीले ६ दिनमा छिचोलेका थियौँ ।

अर्को उल्टो यात्रा
यसपटक फेरि त्यस्तै उल्टो यात्राको संयोग पर्यो । ताप्लेजुङ पुगेपछि धेरैको चाहना हुन्छ एकपटक पाथिभरा पुगेर आउँ । यसको अर्को कारण के पनि होला भने हिमाली जिल्ला भएर पनि सदरमुकाम मेङलुङ मात्र पुगेर फर्कने हो भने कुम्भकर्ण, कञ्चनजंघा लगायतका हिमाल नजिकबाट महसुस त के कुरा देख्न पनि नपाइ फर्कनुपर्ने हुन्छ । त्यसैले यसपटक ताप्लेजुङ पुग्दा जुन मेरो लागि पहिलो यात्रा थियो, पाथिभरा पुग्ने रहरले कुतकुतायो । अरु काम पनि लिएर गएकोले तमोरको छेउछाउ सिंह्वा पुगिएको थियो । त्यहाँबाट पाथिभरातिर हेर्दा लाग्यो बाग्लुङ राङखानीको रुम्टाबाट हाँडीकोटको डाँडो हेर्दैछु। बस, के चाहियो । लु भाई अब यहीँबाट पाथिभरा हुँदै मेङलुङ झरिन्छ भन्ने ठानियो । पहिलो दिन अलिकति माथि १७०० मिटरको उचाइमा रहेको लिङखिम गाउँ पुगेर बसियो । स्थानीयले त भन्दै थिए लिङखिमबाट ,७ घण्टा लाग्छ । यति नाथे त हिँडिहालिन्छ नि भनेर आँटियो । तर १७०० बाट ३८०० मिटरको उचाइमा चानचुने कुरा होइन भन्ने मलाई थाहा थियो तर टोलीका साथीहरुलाई भने निरन्तर अल्टिमिटर हेर्दै यति माथि आइयो भनेर हौस्याइरहेँ।

गाउँगाउँमा बाटो पुगेको छ, बाटो पुगेपछि ३० वर्ष पुरानै भए पनि रेन्जरोभर गाडी चढ्छन् । त्यहाँका स्थानीय समेत गाडीमै मेङलुङ, त्यहाँबाट अर्को गाडी चढेर फेदीसम्म पुग्ने र त्यहाँबाट जम्मा तीन घण्टा हिंडेर पाथीभरा पुग्दा रछन् । त्यसैले यो बाटोमा लिङखिम छोडेपछि नै मान्छेको कुनै छाप थिएन । डोरेटो बाटो पनि झण्डै मेटिइसकेको रहेछ । त्यही पनि ५ सदस्यीय टोली निरन्तर अगाडि बढिरह्यो र पाथीभरा पनि निरन्तर अग्लो हुँदै गइरह्यो । जति हिँडेपनि नपुगिने, जति माथि गयो उति नै टाढा हुने ।

छोटो बाटो भनेर सातुसामल केही बोकिएको थिएन । अलिअलि मकै र जम्म तीन लिटर पानीको भरमा हामी यात्रा गर्दै थियौँ जुन लगभग आधा बाटो पनि नकाट्दै सकिइहाल्यो। अनि हप्याक भइयो । त्यसपछि फेरि Man Vs Wild कै उपाय शुरु गरियो । शुरुमा पानीको बोतलमा राखी हिउँ पगालेर पिउने आइडिया लगाइयो। पग्लिँदा पानी सँग्लो देखिएन । त्यसैले त्यो उपाय त्यागियो । तर तीर्खा कसरी तृप्त गर्ने? हिन्दीको कहावत मर्ता क्या नहीँ कर्ता भने झैँ यसपटक सीधै हिउँ खाएर घाँटी भिजाउने उपाय लगाइयो ।


पानी त पुग्यो तर शरीरलाई शक्ति पनि चाहियो। खोतलखातल गर्दा एकपटकमा बुद्ध एयरको चकलेट भेटाए एकजना साथीले । अर्कोपटक भने केही भेटिएन शिवाय एक पुरिया जीवनजल। त्यही जीवनजललाई हिउँमा छर्कँदै खाइयो । पानी पनि पुग्ने, शक्ति पनि आउने ।

नौ घण्टासम्म पुरै उकालो हिंडेर बल्लबल्ल पाथीभरा पुगियो त्यो पनि ३ टोलीमा । असाध्यै भोकाएका १ जनालाई भोकले कुदायो, मसहित २ जना बिचमा पर्यौँ अघि गएको साथीलाई नभेटाउने, पछि परेकालाई कुर्दा आफैँ शहीद भइन्छ कि भन्ने डर । पुच्छरका २ जना पुच्छरमै भइ नै हाले । यसरी अन्ततः पाथीभरा पुगेपछि मुख्य काम भनेको प्रसाद मागेर खानु नै भयो । सम्भव भएसम्म सबैतिर र मन्दिरका पुजारी, पहरेदार जताजता छन्, त्यतै गएर मागेर खाइयो । लाग्यो स्वर्गीय अनुभुती भनेको यही होला । मन्दिर पुग्दा बित्तिकै खान पाएको थोरै अनारदाना नै सञ्जीवनी अमृत होला ।

रिसाएको कञ्चनजंघा

२ दिन अगाडि पानी परेर मौसम खुलेको थियो । २००० मिटर माथि लागेदेखि नै हिउँ शुरु भएको थियो, मन्दिरमा पुग्दा त आधा फुटभन्दा बढी जति जमेको थियो होला। ३८०० मिटरमा पुगेर कञ्चनजंघादेखि सगरमाथा सम्मको पानोरामा हेरौँला भन्ने सपना भने सपनामात्रै रह्यो । कुहिरो लागेर बाटो नै भूतको फिल्मको दृश्यजस्तो भएको थियो । शिखरमा पुग्दा भिजिबिलिटि ५० मिटर पनि थिएन होला। त्यतिमात्र होइन, नौ दिनको इलाम, पाँचथर र ताप्लेजुङको यात्राभर पनि कञ्चनजंघाको दर्शन गर्न पाइएन। शायद कञ्चनजंघा मसँग रिसाएको छ, अर्कोपटक मन्स्याउन फेरी जानुपर्ला ।