Thursday, December 20, 2012

बुढो रुखको आत्महत्या (कथा)

डाँडाको टुप्पोमा वर्षौँदेखि एक्लै उभिइरहेको छु । आउने जाने मान्छेहरु मेरै छहारीमा एकछिन बिसाएर जान्छन् । आफ्नो बिरानो नभनी सबैलाई छहारी दिएकै छु । तर तिनैले नै हिँड्ने बेलामा भन्छन् कस्तो एक्लो रुख । पक्कै यो डाहाडे हुनुपर्छ र अरुलाई छेउमा पर्न पनि दिएको छैन । एकलकाँटे । आदि इत्यादी । यी सबै कुरा मैले पचाइरहेकै छु । तर कहिलेकाहीँ उनीहरुलाई पनि आफ्नो बारेमा केही भनिदिउँ कि झैँ त लाग्छ । भन्न मन लाग्छ मैले जति हुरीबतास वर्षा र आँधी कसले सहेको छ? यसरि उभिन मैले कम परिश्रम गरेको छु?

तर मान्छेको जातै न हो आफ्नो बिचार काटिएको कहाँ सुन्न सक्छ र? त्यसैले धैर्य गरेरै बसेको थिएँ । एक्लै भएपनि जिन्दगीलाई जसोतसो घिसारेकै थिएँ । शीर ठाडो गरेर उभिएकै थिएँ । जिन्दगीमा सधैँ अझै धेरै बाँच्ने र मानिसहरुलाई छहारी दिइरहने आशा थियो । तर आज भने मनै मरेर आयो । बाँच्नुको आकाँक्षा नै मरेर गयो । त्यसैले यो कथा भन्दैछु ।

मेरो जन्म १९५० तिर भएको हो । अहिले साठी काटियो । खासमा हाम्रो परिवार ठुलो थियो । मेरा वरिपरी मजस्तै अरु नौवटा बिरुवा थिए । शायद कुनै चराको कृपाबाट बीउ यो ठाउँमा आइपुग्यो र समयमै पानी परेकाले हामी उम्रेर बाँच्न सकेका थियौँ । विभिन्न समयमा आएका हुरी बतास र हिउँबाट थलिएर बिस्तारै मेरा दाजुभाई एकएक गरी खिङ्ग्रिङ्ग पर्दै गए र सबै मरे । बस म एउटाले हुरी सहेँ । बतास सहेँ । वर्षैपिच्छेजस्तो पर्ने हिउँबाट बचेँ । सजिलोमा मात्तिइन, अप्ठ्यारोमा आत्तिइन । बिस्तारै मेरो शरीर मोटाउँदै गयो । र अग्लिँदै गएँ । अहिले त डाँडाको टुप्पो समेत आफुभन्दा तल पाउँदा मन त्यसै खुशी भएर आउँछ । आफुले गरेको परिश्रमको फल प्राप्त भएजस्तो लाग्छ । तर आज भने मनै मरेर आयो । बाँच्नुको आकाँक्षा नै मरेर गयो ।

यहाँ एकै ठाउँमा ठिङ्ग उभिइराखे पनि मैले वरिपरिका सात गाउँसम्मको खबर राख्छु । किनकि सबै गाउँका मान्छेहरु यो बाटो हिँड्छन् । खुइय्य गर्दै मेरो छहारीमा एकछिन बिसाउँछन् । त्यही मौकामा पनि उनीहरुले गाउँको खबर भनिहाल्छन् । खासमा त्यो उनीहरुले एकार्कालाई भनिरहेका हुन्छन् । तर सुनिरहेको हुन्छु मैले । मान्छेले त एक कानले सुनेर अर्को कानले उडाइदिन्छ । यो देशमा प्रजातन्त्र आएको म जन्मँदाकै वर्ष हो जस्तो लाग्छ । तर त्यसको कथा पनि बुढापाकाको मुखबाट सुनेको छु । धेरै बुढाहरु प्रजातन्त्रले सपनामात्र बाँड्यो । उपाय बाँड्न सकेन भन्छन् । कोको मिलेर बल्लबल्ल पाएको प्रजातन्त्र पनि दरवारमा लगेर बुझाए पनि भन्छन् । मैले त सुनेको कुरामात्र हो । पक्का थाहा भएन। कहिलेकाहिँ बाटो हिँड्नेले रेडियो बजाउँदै हिँड्छन् । काठमाडौँबाट नै बज्ने यो रेडियोमा पनि यस्तै कुरा सुन्दा साँच्चै रहेछ कि जस्तो लाग्छ । 

देशमा प्रजातन्त्र आएको केही समयपछि यो डाँडाको बाटो मान्छेहरु हिँड्न छाडे । हुन त म पनि सानै थिएँ छहारी दिन सक्ने भइसकेको थिइनँ । आक्कल झुक्कल आउनेहरुले देशमा निर्दलीय व्यवस्था छ त्यसैले सजिलै हिँड्न पनि पाइँदैन भन्थे । आफ्ना कुरा पनि कानेखुशी गरे झैँ गर्थे । मैले धेरै कुरा बुझ्नै पाइनँ ।

१२-१५ वर्षपछि फेरी मान्छेहरु सल्याङबल्याङ गर्न थाले । उनीहरु दिनमा भन्दा रातमा बढी हिँड्न थाले । हिँड्दा पनि ज्यादा कुरा नगर्ने । केहीले भन्थे तिनीहरु राष्ट्रघाती हुन् । म यिनै कुरामा विश्वास गरेर उनीहरुलाई सकेसम्म छहारी दिन नपरे हुन्थ्यो भन्ने सोच्थेँ । खुशीले भन्नुपर्छ पर्दा पनि परेन किनकि तिनिहरु सधैँ हतारमै हुन्थे । पछि सोच्दै जाँदा चाहिँ ती मान्छेहरु देशद्रोही हैनन् कि भन्ने लाग्न थाल्यो । चप्पलसमेत लगाउन सकेका छैनन् । खान नपाएजस्ता ख्याउटे छन् । सधैँ गम्भीर देखिन्छन् । खुसुखुसु भए पनि देश र जनताकै कुरा गरेका हुन्छन् । यसरी कुदिरहने, सधैँ काम गरिरहे जस्तो देखिने मान्छेहरु कसरी देशद्रोही हुनसक्छन्? तर पनि मैले तिनेरुलाई कहिल्यै राम्रोसँग हेरिन ।

फेरी मपनि लक्का जवान बनेँ । सबै मेरो छहारीमा आउन थाले । कुरो बुझ्दै जाँदा देशमा प्रजातन्त्र आएछ । ती रातरात खट्ने मान्छेहरु एकाएक अलप भए । मान्छेहरुले भने तिनिहरु काठमाडौँ छिरे । सिँहदरबार पुगे । के के गरे । के के गरे । तर म त यही डाँडाको टुप्पामा ठिङ्ग उभिइरहेकोले त्यती टाढा कसरी देख्नु र । उनीहरु फर्केर पनि आएनन् । मेरो सम्झना हुने त कुरै भएन शायद । मलाई भने थक्थकी लाग्यो कि ती त देशभक्त रहेछन्, त्यस्ता राम्रा मान्छेलाई मैले चिनेनछु, नराम्रो सोचेछु ।

समय न हो बित्दै जान्छ । हरेक हिउँदसँगै मेरो जवानी पनि बिस्तारै खिइँदै जान थाल्यो । तल तिरबाट बोक्राहरु निस्कन थाले । खाना र पानीको उचित जोहो गर्न नसकेर माथिबाट पनि हाँगाहरु सुकेर आउन थाले । तर मेरो भने सधैँ एउटा प्रयास रहन्थ्यो कि बसन्त लागेपछि सकेसम्म धेरै पात हाल्न सकुँ र यो गर्मी मौसममा सकेसम्म गाढा छायाँ दिन सकुँ । मैले मेरो कर्तव्य पुरा गरेकै थिएँ । यस्तैमा फेरी अर्को हल्ला आयो । अर्कोथरी मान्छेहरु जँगल पसे रे । गाउँघरका मान्छेहरुले फेरी भने यी आतंककारी हुन् । अर्काथरीले भन्थे यी त समाज परिवर्तनका लागि हिँडेका हुन् । पहिलेका यस्तै बिद्रोहीलाई समर्थन नगरेको पीडा मनमा थियो । त्यसको पनि भुलचुकस्वरुप मैले यिनलाई वास्तविक मुक्तियोद्धाको रुपमा लिएँ । कहिलेकाहीँ असिनपसिन हुँदै बन्दुक काँधमा बोकेर अनुशासनपुर्वक यो डाँडैडाँडा हिँडेको देख्दा म मनमनै पुलकित हुन्थेँ । अबचाहिँ यिनले देशको मुहार फेर्छन् भन्ने अभिलाषा आउँथ्यो ।

कहिलेकाहिँ अर्कै जङ्गी पोशाक लगाएको डफ्फा निस्कन्थ्यो । मनमा चिसो सिरेटो बहन्थ्यो । र लाग्थ्यो डङरङङ आफै लडेर बाटो नै छेक्न पाए पनि हुन्थ्यो । नजिकै कतै बन्दुक पड्केको सुन्दा सक्ने भए त आफैँ गएर ति मुक्तियोद्धाहरुको पक्षमा लडौँजस्तो लाग्थ्यो । अनुवाद हुन नसक्ने मेरा यी क्रान्तिकारी विचार मभित्रै ओइलिँदा मन हदैसम्म अमिलो हुन्थ्यो । तर मान्छेहरुले भन्थे लडाइँ जारी छ । क्षति दुवैतिर भएको छ । मुक्तियोद्धाहरु डटेर लडेका छन् र लडाइँ एकपक्षीय हुन दिएका छैनन् । सुनेर गर्व लाग्थ्यो । अनि मनमा विश्वास हुन्थ्यो कि यिनले चाहिँ साँच्चिकै परिवर्तन ल्याउने भए । यसरी केही वर्ष लगातार बन्दुकका आवाजहरु मेरो कानमा परिरहे । वरिपरिका डाँडाकाँडामा, खोँचमा, टारमा, बगरमा, शहरमा, गाउँमा, जताततै । धन्य हो मेरै छेउमा भने भएनन् । मान्छेहरु भन्थे यो मुक्तियोद्धाहरुको आधार इलाका हो त्यसैले सरकारी फौज आउन सक्दैन ।


पछि फेरी अर्को हल्ला आयो । ती मुक्तियोद्धाहरु बिजयी भए रे । अब उनीहरु साँच्चिकै देशको मुहार फेर्न काठमाडौँ जाँदैछन् रे । एकपटक त पहिलेका यस्तै कार्यकर्ताको याद आयो जो एकपटक काठमाडौँ छिरेर कहिल्यै फर्केनन् । तर यी मुक्तियोद्धाले त्यसो गर्लान् भनेर बिश्वासै गर्न मन लागेन । आफ्नै छेउमा हुर्किएका र आफैँले खुशीसाथ छहारी दिएका उनीहरुले त्यसो नगर्लान् भन्नेमा म ढुक्क भएँ । तर हिजो राती एउटा यस्तो घटना भयो जसले गर्दा मनै मरेर आयो । बाँच्नुको आकाँक्षा नै मरेर गयो ।

कथाको दोस्रो तथा अन्तिम भाग पढ्न यहाँ क्लिक गर्नुहोस् । 

8 comments:

  1. Thank you all for the comments. Did you read the second part of the story? Here it is: http://mediadiscourses.blogspot.com/2012/12/blog-post_24.html

    ReplyDelete
  2. The content is as good as the topicis #Like...

    ReplyDelete
  3. किस्ताबन्दीको कथाको पूरा प्रतिक्रिया किस्ताबन्दीमै दिनुपर्ला । तर सुरुवात राम्रो छ ।

    ReplyDelete
  4. interstaing starting.......sir keep it up..................

    ReplyDelete
  5. गजबको अनुभुती

    ReplyDelete
  6. Bro this reminds me of a poignant tale of Arun and Barun, two sons of a widow that u wrote at school, probably when in grade 6 or 7. That story had an happy ending but this engaging story while having a smooth flow, I expect, is going to have a tragic end. Tragedy of out time, which even writers cannot avoid in their creation. Anyway, eagerly looking forward to the concluding part.

    ReplyDelete
  7. tito satya...

    ReplyDelete