Picture Source: Privilege of privilege, The Kathmandu Post |
यस लेखमा सैद्धान्तिक भन्दा पनि आफ्नो सामान्य बुझाइको आधारमा राष्ट्रवादलाई परिभाषित गर्ने, नेपाली राष्ट्रवादका आधार, उग्र राष्ट्रवादले निम्त्याउने परिणाम र नेपालको सन्दर्भमा कसरि पुनर्परिभाषित गर्न सकिन्छ भन्नेबारे छोटकरीमा उल्लेख गरेन प्रयास गरेको छु ।
राष्ट्रवाद
के हो?
राष्ट्रवाद
आफ्नो देशप्रतिको आस्था हो, लगाव
हो, माया हो, भावना हो । यो सदिऔँदेखि विकसित अवधारणामा आधारित
हुन्छ र धेरैलाई आफुले देशलाई किन माया गर्छु भनेर प्रश्न सोध्ने जागरुकता नै हुन्न
। या भनौँ यो यति स्वाभाविक हुन्छ कि कसैले यसमाथि प्रश्न उठाउनु जायज नै ठान्दैन
वा यसलाई निरपेक्ष ठान्छ । आफु नेपालजस्तो पिछडिएको देशमा जन्मनुपरेकोमा गुनासो
गर्नेहरु वा नागरिकता समेत परिवर्तन गरेर अर्को देशको नागरिक भइसकेकाहरुमा पनि
ऐनमौकामा देशप्रतिको माया उम्लेर आउँछ,
गोर्खाली रगत उम्लेर आइहाल्छ । तसर्थ राष्ट्रवाद भनेको कुनै भुगोलभन्दा पनि त्यहाँ
रहेका आफुजस्तै पहिचान भएका समुदायप्रतिको माया हो ।
मुलतः
नेपालको राष्ट्रवाद देशभित्र एउटै भाषा (नेपाली), एउटै सँस्कृति (पहाडे
खस) र एउटै धर्म (हिन्दु)
मा आधारित राष्ट्रवाद हो । केही समय
अघिसम्म यी सबैलाई एकाकार ( इम्बोडिमेन्ट) गर्ने राजसँस्था नेपाली राष्ट्रवादको प्रमुख आधार
बनेको थियो र आज पनि केहीले त्यसलाई कुनै न कुनै रुपमा जीवित राख्ने प्रयास गरेकै
छन् । देशबाहिर भने बीर गोर्खाली भन्ने भावनाको वरिपरि नेपाली राष्ट्रवाद अल्झेको
छ । गोर्खाली भनेर नेपाललाई विश्वमा चिनाउने मतवाली समुदायप्रति थिचोमिचो र
छोइछिटो गर्नेहरु पनि राष्ट्रको सीमा काटेर गएपछि गोर्खाली हुनुमा गर्व गर्नुको
कारण यही हो । नेपाली राष्ट्रवादका सहायक आधारको रुपमा सगरमाथाको देश र बुद्धको
जन्मभुमी पनि हुन् । केही देशमा निश्चित खेलमा आधारित राष्ट्रवाद पनि हावी छ जस्तै
अर्जेन्टिना र ब्राजिलमा फुटबल,
भारत र पाकिस्तानमा क्रिकेट राष्ट्रवादका आधार हुन् ।
यही
आधारमा हेर्ने हो भने नेपालमा राष्ट्रवादप्रति सबैभन्दा प्रतिवद्ध कुन समुदाय देखिन्छ
भन्ने थाहा हुन्छ। स्वभाविक रुपमा पहाडे हिन्दु खस समुदायलाई नेपाली राष्ट्रवादप्रति
सबैभन्दा बढी लगाव छ। त्यसपछि गोर्खाली पहिचानमा योगदान गर्ने मतवाली समुदाय पनि
प्रतिवद्ध छ । त्यसै कारण नेपाली राष्ट्रवादले राष्ट्रको सीमाबाहिर दार्जिलिङ वा कुमाउँ
गढवाल बस्ने (मुलतः पुर्व गोर्खा सैनिक र तिनका
परिवार) नेपाली भाषीहरुलाई आफ्नो तर
नेपालभित्रै सदियौँदेखि बसोबास गर्दै आएका मधेशी वा उच्च हिमाली क्षेत्रमा बस्ने
आदिवासी जनजातीहरुलाई विरानो ठान्ने गर्दछ ।
यसको
अर्थ यो होइन कि पहाडिया बाहुन क्षेत्री समुदायले देशलाई धेरै माया गर्छ वा
हिमालको शेर्पा वा तराइको मधेशीले कम माया गर्छ। अर्थ के हो भने पहाडिया बाहुन
क्षेत्रीले देशप्रति आफुले धेरै माया गर्ने ठान्दछन् वा त्यसरी माया गर्ने प्राधिकार
आफुसित भएको ठान्दछन् ।
नेपालमा
पनि बाहुनक्षेत्रीको सँस्कृति वा समय क्रममा हिन्दु धर्मलाई नै स्वीकारेर बसेका
थुप्रै जनजाती समुदाय छन् । उनीहरुले प्रभुत्वशाली समुदायसितको द्वन्द्व कम गर्न आफ्ना
धार्मिक सँस्कारमा समेत सम्झौता गरेर बसेका छन् । यसरी सम्झौता गर्न नचाहनेहरुलाई
निरन्तर प्रताडना गर्ने काम प्रभुत्वशाली समुहले गरि नै रहन्छ। नेपालमा मधेशी
समुदाय र अन्य जनजाती समुदायलाई गरिने मानमर्दन र सिमान्तिकरणलाई यही अर्थमा लिन
सकिन्छ । नेपालमा गोरुको मासु खाने सँस्कार भएका जनजाती र मुस्लिमहरुले पनि गोरु
नखाने सँस्कारलाई शिरोपर गरेकै कारण धार्मिक सहिष्णुता सम्भव भएको हो ।
तानाशाहीको
आधार राष्ट्रवाद
राष्ट्रवाद
एक खतरनाक आस्था हो किनकि यसले निश्चित भाषा, धर्म
वा सँस्कृति भएकालाई आफ्नो र बाँकी (जुन
मुलतः अल्पसँख्यक हुन्छ) लाई इतरको रुपमा
पहिचान गर्छ । प्रभुत्वशाली समुहले इतर समुहका मौलिक सँस्कृतिलाई ध्वँश गर्ने र
आफ्नो सँस्कृतिअनुरुप ढाल्ने प्रयास गर्दछ। यसो गर्ने क्रममा कम बल प्रयोगबाट नै
इतर समुदायले प्रभुत्व स्वीकार्यो भने कम क्षति हुन्छ । तर अल्पसँख्यक समुदाय पनि
बलियो रहेछ वा अल्पसँख्यक समुदायबाट आफुहरुले प्रवर्द्धन गरेको वा गर्न चाहेको
राष्ट्रवादमा धक्का आउने महसुस गर्यो भने खेदेरै छाड्नेसम्मका हतकण्डा
प्रभुत्वशाली समुदायले अपनाउँछ।
तानशाहहरुले
बहुसँख्यक जनसँख्यालाई इतर सँस्कृति वा समुदायको चुनौतीको डर देखाएर राज गरिरहने
अभ्यास पुरानो हो । आधुनिक शासकहरुले समेत राष्ट्रवाद भजाएर राज गरेका थुप्रै
उदाहरण छन्। राष्ट्रवादबाट माथि उठेर अन्तर्राष्ट्रवादको अभ्यास गरेका युरोपेली
मुलुकहरुमा समेत आप्रवासीको अतिक्रमणको डर देखाएर बहुसँख्यकको मत जित्न खोज्ने
दक्षिणपन्थी दलहरुको पुनरुत्थानलाई यसकै एक उदाहरणको रुपमा लिन सकिन्छ। कतिसम्म
भने हिटलरको शक्तिको स्रोत आर्य नश्ल र क्रिश्चियन धर्ममा आधारित जर्मन राष्ट्रवाद
थियो । उनले निरन्तर यहुदी र धर्म निरपेक्ष वा बिरोधी समाजवादी/कम्युनिष्टहरुबाट चुनौतीको डर देखाएर नै राष्ट्रिय
रुपमा शक्ति आर्जन गरेका थिए । यही कारण नै दोस्रो विश्वयुद्धजस्तो विध्वँसकारी
घटना विश्व इतिहासमा भएको छ । नेपालको सन्दर्भमा पञ्चायती शासन ३० वर्षसम्म
टिक्नुका पछाडि राजाले प्रभुत्वशाली पहाडे खस हिन्दुहरुको सँरक्षकको रुपमा आफुलाई
चित्रित गर्नु प्रमुख कारण हो ।
हिँसामा
रुपान्तरण
उग्र
राष्ट्रवाद अन्ततः जातीवाद वा नश्लवादमा परिणत हुन्छ । आधुनिक समयका धेरै द्वन्द्व
यही अन्ध राष्ट्रवादका कारण जन्मेका छन् । पश्चिम चिनको उइघुरदेखि म्यानमारका
रोहिङ्ग्या मुसलमान, बँगलादेश/पाकिस्तानका हिन्दु र इराकका याजिदिसम्म यस्तै
राष्ट्रवादका शिकार बनेका छन्। दक्षिण एशियाका धेरै देशमा पनि राष्ट्रवाद भनेको
जातीवाद हो । यसको टड्कारो उदाहरण बँगलादेश हो । बँगाली भाषामा राष्ट्रवाद (नेशनलिज्म)
लाई जातीवादको रुपमा अनुवाद गरिएको छ र बँगाली भाषा र मुस्लिम धर्ममा आधारित
बँगाली राष्ट्रवादको बँगलादेश जातीयतावादी दल (बँगलादेश
नेशनलिष्ट पार्टी)ले नेतृत्व गर्दछ । भारतमा समेत हिन्दु धर्म र
हिन्दी भाषामा आधारित राष्ट्रवादको वकालत गर्ने राष्ट्रिय स्वयँसेवक सँघद्वारा
प्रवर्द्धित भारतीय जनता पार्टीको हालैको पुनरुत्थानले धेरै इतर समुदायलाई चिन्तित
बनाएको छ ।
अर्को
कुनै पक्षबाट चुनौती छैन भने जनताहरु कुनै तानशाहका पछाडि लाग्दैनन् । त्यसैले राष्ट्रवादलाई
कायम राखिराख्न पनि चलचित्रमा जस्तो एउटा खलपात्र उभ्याइरहनु पर्छ । यो विदेशी भयो
भने अझ राम्रो । नेपालमा पनि पञ्चायत र अहिलेका उग्र बामपन्थीले पनि भारतविरोधी
धारणा हुर्काइराख्नुका पछाडि यो कारण प्रमुख छ । नेपालमा भारतविरोधी धारणा प्रबल
हुँदा मधेशीहरु पिडित हुने कारण यही हो । उनीहरु नेपाली नै भएपनि अन्ध
राष्ट्रवादले त्यो देख्दैन,
बुझ्दैन वा बुझ्न चाहन्न। भाषा र छालाको रँग भारतीयहरुसित मिल्ने भएकै कारण उनीहरु
अन्य इतर समुदायभन्दा पनि बढी पिडित छन् ।
राष्ट्रवादबाट
राष्ट्रियतावादतर्फ
राष्ट्रवाद
र राष्ट्रियता एउटै होइनन् । राष्ट्रवाद एउटा प्रभुत्वशाली पहिचानमा आधारित हुन्छ
भने राष्ट्रियता उक्त राष्ट्रभित्र बसोबास गर्ने नागरिकको राजनीतिक अधिकारसँग
जोडिएर आउँछ । राज्यले दिने सुविधाहरुको उपभोग गर्ने अधिकारसित जोडिन्छ । कानुनी
वा औपचारिक परिचयसित जोडिन्छ जस्तै राहदानी वा नागरिकता । तर प्रभुत्वशाली
राष्ट्रवादले राष्ट्रियतालाई पनि निर्देशित गर्छ र केही समुदाय बढी लाभान्वित हुने
र अर्को समुदाय सिमान्तकृत हुने क्रम जारी रहन्छ।
विद्वान
सिके लालले नेपाली भाषाको राष्ट्रियतालाई अँग्रेजीमा सिटिजनशिपको रुपमा अनुवाद
गरेका छन् । यो एउटा आदर्श कल्पना हो जहाँ सबै समुदायका पहिचान सम्मानित हुँदै
राज्यले सबैलाई समान व्यवहार गर्दछ । नेपालमा पनि विभिन्न भाषा सँस्कृतिहरु छन् र
हरेक सम्प्रदायका राष्ट्रप्रति आफ्नै धारणा छन् । पृथ्वीनारायण शाहदेखि पञ्चायत र
२०४६ को प्रजातन्त्रपछि पनि एउटै भाषा (नेपाली), सँस्कृति (पहाडे
खस) र धर्म (हिन्दु)
मा आधारित राष्ट्रवादले नेपालका सबै जनसँख्यालाई नसमेट्ने अनुभव भएकोले नै राज्यको
पुनर्सँरचना गरी यी सबै समुदायको पहिचान र हक अधिकार सुनिश्चित गर्नुपर्ने कुरा
बहसमा आएको हो । धर्म निरपेक्षता यसतर्फको एउटा सकारात्मक पाइला हो । राज्यको
पुनर्सँरचनामार्फत नेपाली राष्ट्रियताको समेत पुनर्सँरचना गरि सबैलाई समेट्न सक्ने
गराउनु जरुरी छ।
(नेपाली राष्ट्रवाद र राष्ट्रियताका
आधार र यसलाई कसरी समावेशी राष्ट्रियतावादतर्फ लक्षित गर्न सकिन्छ भन्नेबारे
मार्टिन चौतारीद्वारा प्रकाशित सिके लालको पुस्तक नेपालीय हुनलाई… मा विहङ्गम विवेचना गरिएको छ ।)
sfdfs
ReplyDeleteदुइटा कुरा—
ReplyDelete१) राष्ट्रवादको व्याख्या, बुझाइ र प्रयोगमा अराजकता आयो र यसले आफ्नो धरातल छाडेर उग्रराष्ट्रवादको बाटो समात्यो । अरूले बनाइदिएका र अरूले प्रयोगमा ल्याएका राष्ट्रवादका मानकहरूलाई एकछिन बिर्सिने हो भने यो राष्ट्रप्रतिको माया र सदभाव हो । म यसका गलत implication तिर जान चाहन्नँ तर नेपालमा जातीयताकै आधारमा वर्ग विभाजन भयो र तिनै वर्गले आफ्नो अधिपत्य स्थापित गर्नका लागि (उग्र)राष्ट्रवादको नारा उराले । नेपालमात्रै होइन, विश्वका अरू उदाहरण हेर्ने हो भने पनि यसलाई पुष्टि गर्न सकिन्छ, लेखमा भनिएकै छ । हँसियाको काम घाँस काट्ने हो, कहिलेकाहीँ मान्छे पनि काटिन्छन् । यसो भन्दैमा हँसिया मान्छे काट्न बनाइएको हो भन्ने अर्थ लगाउन सकिन्न । हामी कुनै निश्चित भौगोलिक सीमाभित्र छौं भने त्यसअनुकूलका संस्कृति आत्मसात गर्नेहरूको एकखाले एकतामात्रै राष्ट्रवादको आधार हो भन्नुमा आफ्नाखाले बुझाइ होलान् । यो एउटा बहुआयामिक दर्शन हो । संसारभरिका मान्छेले यसलाई आफूअनुकूल व्याख्या र प्रयोग गर्दै आएका छन् । कसैले जातिवादको रूपमा बुझे/बुझाए होलान्, कसैले धर्मका रूपमा । 'राष्ट्रवाद' आफैंमा अतिवाद होइन, यसको आड लिएर अतिवाद चलाइएको हो । मैले बुझेसम्म राष्ट्रवाद कहिल्यै निरपेक्ष हुँदैन ।
२) अर्थराजनीतिक पाटोलाई लेखमा बिर्सिएजस्तो लाग्यो । कतिपय बुझाइ कोरा सिद्धान्तमा आधारित लाग्यो । नेपालको पुरातन हिन्दूवादी दर्शनबाट थालनी गरिएका थुप्रै 'वाद'हरू अहिले सुधारको चरणमा छन् । धार्मिक आस्थाको जगमा उभिने क्षेत्रीयता अहिले स्रोत-साधन बाँडफाँडको सन्दर्भमा परिवर्तन हुन थालेको छ । राज्यसञ्चालनमा हिजोजस्तो हालीमुहाली र हिन्दू एकतन्त्रीयता छैन । बहसहरू जातीयताभन्दा आर्थिक सबलतातिर केन्द्रित भएका छन् । जातीय र क्षेत्रीय संघीयताका एजेन्डामा अहिले दलहरू आफैं पछि हट्न थालेका छन् । मान्छेहरूले विकास, समृद्धि र समतामूलक आर्थिक उन्नतिका कुरा गर्न थालेका छन् । समृद्धिसँगै मानव विकासका बहस हुन थालेका छन् । विचार, धार्मिक आस्थामा विभाजित भए पनि अहिले समृद्धिको एकसूत्रीय एजेन्डामा धेरै नागरिक एकामुख भएका छन् । यो सकारात्मक पाटो हो । यो तत्व पनि सुधारिएको राष्ट्रवादको एउटा अंश हो । समयको एउटा कालखण्ड र समाजसापेक्षित अवस्थामा निर्धारण गरिएका सैद्धान्तिक अवयवहरू अर्को समाज, समय र संस्कृतिमा मेल खाँदैनन्, यो ध्रुवसत्यलाई मान्ने हो भने राष्ट्रवादका मानक पनि फेरिँदै जान्छन् ! माथि लेखमा भनिएका तथ्यगत उदाहरणहरू उग्रराष्ट्रवाद हुन् ।
बैदेशिक रोजगारी मा गएका विभिन्न जिल्ला केटा हरु एउटा कोठा मा परिवार का
ReplyDeleteसदस्य जस्तो गर्ने गर्छन ...(के नेपाल को राष्ट्रियता बैदेशिक रोजगारी ले
बनाएको छ र ?? लेखक ज्यु ले यो पाटो मा टुकी बल्दिनु भाको भए बेस हुने थियो
..
१. निश्चित प्रभुत्वशाली समुहले परिभाषित गर्ने हुनाले राष्ट्रवाद उग्र नै हुन्छ। योसँग आर्थिक, राजनीतिक शक्ति पनि जोडिएर आउने हुनाले प्रभुत्वशाली समुह आक्रामक हुन्छ जसबाट द्वन्द्व र हिँसाको बिजारोपण हुनपुग्छ । निरपेक्ष रुपमा राष्ट्रप्रतिको माया र सदभावको रुपमा लिने हो भने किन केही समुह जन्मजात राष्ट्रवादी हुन्छ? र अर्को समुहले किन जीवनभर राष्ट्रवादको कसीमा परीक्षा दिइरहनुपर्दछ? यसको उत्तर खोज्दा नै यो निरपेक्ष रुपमा राष्ट्रप्रतिको माया वा लगाव होइन बरु आफु वा आफुजस्तै समुदायले राज्यबाट प्राप्त गर्ने लाभहानीसित जोडिन गएको हुन्छ।
ReplyDelete२. अर्थराजनीतिक पाटोबारे लेखमा छुट्न गएको छ । नेपालमा पछिल्लो समयमा राजनीतिक तहमा पिछडिएका समुदायको प्रतिनिधित्व बढेर गएको सत्य हो । दोस्रो सँविधानसभापछि बहसहरु पनि पहिचान वा राष्ट्रियताको पुनर्सँरचना भन्दा आर्थिक विकासबारे केन्द्रित हुँदै गएका छन् । तर यसैलाई नेपालको राष्ट्रवादको अवधारणामै परिवर्तन आयो भनेर प्रमाण मान्न सकिन्न । वास्तवमा भन्ने हो भने दोस्रो सँविधानसभापछि नेपालको राष्ट्रियताको पुनर्निर्माणबारेका बहस पछाडि परेका छन् र कुनै पनि बेला प्रतिगमन हुनसक्ने खतरा रहेको छ । हो, राष्ट्रवादको अवधारणा परिवर्तनशिल छ तर यति छिट्टै हुँदैन । पिछडिएका समुदायको राजनीतिक प्रतिनिधित्वलाई सँस्थागत गर्दै साँस्कृतिक रुपमा नै नयाँ खाले राष्ट्रियताको पुनर्निर्माण गर्नु जरुरी छ ।
आफ्नो गाउँठाउँबाट टाढा वा विदेशमा रहँदा जसले पनि सबैभन्दा नजिकको पहिचान भएका मान्छेलाई आफ्नो ठान्छ । यसरी दुईजनामात्र हुँदा नेपालीको नाता हनसक्छ तर ३ जना भए भने एउटै पहिचान भएका २ जना एकातिर र इतर पहिचान भएको १ जना अर्कोतिर हुने अवस्था आउँछ । विदेशमा राष्ट्रवादको अहम् देशभित्रजति नहुने भएकोले देशभित्रको प्रभुत्वशाली समुह भन्दा पनि एउटै पहिचान राख्ने बहुसँख्यकले अर्कोलाई सिमान्तकृत गर्ने सम्भावना रहन्छ।
ReplyDeletewell balanced knowledge sir thanks alot
ReplyDelete