Wednesday, October 8, 2014

धेरै कुरा बोल्ने एउटा तस्वीर

नेपाली महिला पत्रकारहरुको सँस्था सञ्चारिका समुहले एउटा फोटोसहितको सानो समाचार आफ्नो अनलाइनमा पोष्ट गरेको छ। जसमा नेपाली काँग्रेसको प्रवास सँगठन नेपाली जनसम्पर्क समिति अमेरिकाका संयोजक बिष्णु सुवेदीले आफ्नी श्रीमतीलाई खुट्टा ढोगाइरहेको र उनले प्रसन्न मुद्रामा आशीर्वाद दिएजसरी टाउकोमाथि हात लगाइरहेका छन् (हेर्नुस् तस्वीर)।

यो फोटो प्रकाशित भएपछि ट्विटरमा यसको पक्ष र विपक्षमा बहस भयो । पक्षमा बहस गर्नेहरुले यो उनको व्यक्तिगत स्वतन्त्रताको कुरा भएको,  श्रीमतीलाई खुट्टा ढोगाउनु सँस्कृति भएको र सामान्य तस्विर भएकोले कुनै आपत्ति गर्नुनपर्ने तर्क गरेका छन् । केही आलोचक र महिलावादीहरुले भने यो तस्विरले महिलाहरुको सम्मानमा आँच पुर्याउने र विभेदकारी भएको तर्क गरेका छन् । म पनि दोस्रो खालेमा पर्दछु र मेरा केही तर्कहरु छन्।

पहिलो कुरा खुट्टा ढोग्नु र ढोगाउनु विभेदकारी कार्य हो । किनकी श्रीमान-श्रीमतीबिचको सम्बन्ध समान हो । त्यसैले यो समानतामा आधारित हुनपर्दछ । कसैले खुट्टा ढोग्दा अर्कोले आशीष दिइरहेको हुन्छ । त्यसैले ढोग्ने मान्छे कमजोर र ढोग पाउने मान्छे शक्तिशाली हुन्छ । त्यसको सट्टा बढी समानतामुलक नमस्कार आदानप्रदान गर्न सकिन्छ । हुन त हाम्रो समाज सँरचना नै श्रेणीगत छ - ठुलो सानो भन्ने तहहरु छन् र नमस्कार गर्दा पनि सानोले पहिला गर्ने चलन छ या गरोस् भन्ने अपेक्षा रहन्छ । अँग्रेजीमा जस्तो जसले पहिला देख्छ वा सुविधा हुन्छ उसैले अभिवादन गरिहाल्ने चलन छैन। कतिपय अवस्थामा त फलानाले मलाई नमस्कार गरेन भनेर कुण्ठित हुने सरकारी हाकिम र सामाजका वरिष्ठहरु प्रशस्त छन् । यो सामन्ती पद्दतीको अवशेष हो । तर पनि ढोगाउनु भन्दा नमस्कार आदानप्रदान कैयौँ गुणा राम्रो र समानतामुलक हो ।

त्योभन्दा महत्वपुर्ण कुरा त्यो तस्विर फेसबुकमा किन राखियो भन्ने हो । किनकि सबै तस्विर फेसबुकमा राख्नकै लागि मात्र खिचिन्नन् । के उनले त्यो तस्विर फेसबुकमा राखेर आफ्नो श्रीमतीको आफुप्रतिको निष्ठा वा गुलामी प्रमाणित गर्न खोजेका छन्सँस्कृति नाममा ढोगाउने र श्रीमतीको खुट्टाको जल खुवाउने प्रशस्तै छन् । तर पनि त्यसलाई सार्वजनिक गरेर एउटा खराब कामलाई अझ प्रचारप्रसार गर्न खोजेको हो कि भन्नेमा बढी आपत्ति हो।

फोटो केवल फोटोमात्रै हुँदैन । यसबाट शक्तिसम्बन्ध पनि अभिव्यक्त हुन्छ । औपनिवेशिक कालमा स्थानीयहरुलाई पशु वा कामवासना तृप्तिको साधनको रुपमा चित्रित गरेरअफ्रिकाको गरिबीको तस्विर बेचेर शक्ति राष्ट्रहरुले शक्ति आर्जन गरिरहेको त हामीले भोगेकै छौँ। यो व्यक्तिगत तहमा समेत लागु हुन्छ ।

पतिपत्नीबिचको सम्बन्ध श्रेणीगत (hierarchical) होइन -  सिद्धान्ततः दुवै बराबर हुन् । तर श्रीमतीलाई खुट्टा ढोगाउनुत्यसको फोटो खिच्नु र सार्वजनिक गर्नुले बिभेदलाई बढावा दिएको हुन्छ ।

समानताको आकाँक्षा राख्ने सबैलाई यो फोटो बिझाएको हुनुपर्छ । अझ यसरी सार्वजनिक गर्ने व्यक्ति देशको सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको प्रवास सँगठन नेपाली जनसम्पर्क समिति अमेरिकाका सँयोजक हुन् । समाज सुधारमा सहयोगी हुनुपर्नेमात्र होइन नेतृत्व गर्नुपर्ने मान्छेले नै यस्ता गतिविधी सार्वजनिक गर्नु (उनको प्रोफाइल साथीहरुले मात्र पहुँच पुर्याउनसक्ने भएपनि फेसबुकमा राख्नु नै सार्वजनिक गर्नु हो । किनकी उनका केही हजार साथीभाई र आफन्तले देख्छन् । कसैले उनको श्रीमतीलाई ट्याग गरेपछि उनका त्यतिकै सँख्याका साथीले देख्छन्तिनैमध्ये केही साथीले शेयर गर्छन् र यसरी मिडियामै पनि आउनसक्छले महिला अस्मिता र समानताको आकाँक्षाको खिल्ली उडाउँछ । 

आस्थाबिश्वास वा सँस्कारका नाममा यस्तो कार्यलाई सही ठहर्याउनेहरुसित भने मेरो भन्नु केही छैन।