Monday, March 18, 2013

अख्तियार प्रमुखमा लोकमान सिँहः चोरलाई चौतारी साधुलाई शुली

कार्टुन सौजन्य बरुण पोखरेल
एकिकृत नेकपा माओवादीको जोडमा पुर्व मुख्यसचिव लोकमान सिँह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिश भएका छन् । यी तिनै व्यक्ति हुन् जसलाई जनआन्दोलन दबाउन भूमिका खेलेको, मुख्यसचिव पदको दुरुपयोग गर्दै राजाको अप्रजातान्त्रिक कदमका लागि पुरै निजामती सेवालाई नै परिचालन गरेको लगायतका आरोप छन् । जनआन्दोलनको सफलतापछि जनआन्दोलनको क्रममा भएका ज्यादतीबारे अनुसन्धान गर्न गठन भएको कृष्णजंग रायमाझी नेतृत्वको आयोगले समेत उनलाई प्रमुख पात्रको रुपमा कारवाहीका लागि सिफारिश गरेको थियो । फलस्वरुप आन्दोनलपछि आन्दोलनकारीहरुकै सरकारले उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुनेगरी बर्खास्त गरेको थियो । उनी आफैँ अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचारका अभियुक्त हुन् ।

दुरुपयोगी नै दुरुपयोग अनुसन्धानकर्ता!
यदि खिलराज रेग्मी नेतृत्वको सरकारले यी कुरालाई ख्याल नगरी कार्कीलाई अख्तियारमा नियुक्त गर्यो भने दुरुपयोगी नै दुरुपयोग अनुसन्धानकर्ता र समग्र सँयन्त्रको नेता बन्ने पक्का छ । नेपालीमा एउटा उखान छ "चोरलाई चौतारी साधुलाई शुली" । जिन्दगीभर अख्तियारको दुरुपयोग गरेका सफलता वा लाभको पद लिनका लागि सधैँ छोटो बाटो (शर्टकट) प्रयोग गरेका चरम अवसरवादी र जनविरोधी व्यक्ति नै अब अख्तियार अनुसन्धान आयोगको प्रमुख हुने भएपछि कस्तो सुशासन र भ्रष्टाचार निवारण होला देशमा? के एमाओवादीले खोजेको सुशासन यस्तै हो?