Tuesday, September 30, 2014

प्रधानमन्त्रीको गरीमा र सल्लाहकारको अक्षमता



प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमणका क्रममा खिचिएका आपत्तिजनक र अपमानजनक तस्विरहरु सोसल मिडिया र अनलाइनहरुमा आइरहेका छन् । प्रधानमन्त्री एउटा व्यक्ति मात्र नभइ संस्था हो। यसले उनको मात्र होइन राष्ट्रकै मानमर्दन भइरहेको छ । 

यति धेरै भइरहँदा पनि प्रधानमन्त्रीको सचिवालय वा उनको प्रेस सल्लाहकार समुहबाट आधिकारिक भनाइ नआउनु दुर्भाग्यपूर्ण छ। चाहेको भए सल्लाहकार समुहले ती तस्विर हटाउन र फैलिनबाट रोक्न सक्थ्यो ।

त्यसको लागि पहिलो कदम आपत्तिजनक तस्वीरहरु पोष्ट गर्ने व्यक्तिलाई तत्काल हटाउन लगाउन सकिन्थ्यो। त्यसरी पोष्ट गर्ने व्यक्तिहरु नेपाली काँग्रेससँग सम्वद्ध गैर आवासीय नेपाली रहेछन् । उनीहरुलाई सम्पर्क गर्न पनि सहज नै थियो । 

दोस्रो कदम यसरी सर्कुलेट भइरहेका तस्वीरहरुलाई थप शेयर नगर्न सार्वजनिक रुपमा औपचारिक आग्रह गरेको भए धेरैले सहज रुपमा हटाउने पनि थिए होला। 

त्यति गर्दा पनि सर्कुलेशन कायमै रह्यो भने फेसबुक (जहाँ सबैभन्दा बढी शेयर भएका छन्) मा रिपोर्ट गरेर पति ती तस्विर हटाउन सकिन्थ्यो ।

यति उपाय हुँदा पनि कुनै कदम नचालिनुले प्रधानमन्त्री पद र सँस्थाको गरिमालाई उनकै सल्लाहकार समुहले मतलब गरेनन् जस्तो छ।
 
हुँदाहुँदा अर्को एउटा तस्विर सार्वजनिक भएको छ जसमा प्रधानमन्त्रीका सल्लाहकार नै औपचारिक भेटवार्ता भइरहँदा छेउमा स्टकिँगस्को बाहिर हाफ प्यान्ट लगाएर खुट्टालाई कैँची बनाएर उभिइरहेको देखिन्छ। 

यो तस्विर (माथि) चाहिँ सल्लाहकार समुहले नै सार्वजनिक गरेजस्तो देखिन्छ किनकि औपचारिक भेटवार्ता भइरहँदा  अरुले प्रवेश नै पाउँदैनन् । यसले चाहिँ सल्लाहकार समुहको तत्परता वा सँवेदनशिलता मात्र होइन कि क्षमतामाथि नै प्रश्न उठाएको छ । 

यो मामलामा नेपाली काँग्रेस पार्टी पनि चुकेको छ । प्रधानमन्त्री कोइराला पार्टी सभापति पनि हुन् । यसरि तस्विर सार्वजनिक गर्ने महाशयहरु पनि पार्टीसम्वद्ध गैरआवासीय नेपाली रहेछन्। यसमा पार्टीले पनि तत्काल कदम चालेर प्रधानमन्त्री पद र सँस्थाको गरिमा बचाउन भुमीका खेल्न सक्थ्यो र अक्कल नभएका पार्टी सदस्यहरुलाई कारवाही गर्नसक्थ्यो । दुर्भाग्य त्यो अझ हुन सकेको छैन र हाम्रा प्रधानमन्त्री हाँसोका पात्र बनिरहेका छन् ।

सोसल मिडियालाई नै उपयोग गरेर विश्वका कति राजनेताहरुले आफ्नो लोकप्रियता बढाइरहेका छन्। हामीकहाँ भने उल्टो नतिजा निस्किरहेको छ। र त्यसको ठेक्का लिएका कथित सल्लाहकारहरु कानमा तेल हालेर बसेका छन् या निकृष्ट प्रयोगलाई बढावा दिइरहेका छन्।