सानैमा बाउले आफ्नो नामको अन्त्यमा क्षेत्री राखिदिए । हुर्किंदै जाँदा थाहा भयो म त क्षेत्री होइन । नत बाहुन नै हुँ । उपाध्याय बाहुन हजुरबुवाले बर्मा गएका बेला राम्री देखेर मेरी क्षेत्रीनी हजुरआमालाई विवाह गरेकोले मेरा बाबु क्षेत्री बने र हामी सबै पुस्ता क्षेत्री नै बन्यौं । स्थानीय भाषामा बाहुनबाट खसेर बनेका खस जाती अरे । खसेपछि हाम्रो सामाजिक स्तर पनि एक तह तल हुने नै भयो । क्षेत्रीनी बिवाह गरेर आधा दर्जन छोराछोरी पाइसकेपछि पनि हजुरबुवाले मेरी हजुरआमाले पकाएको खानुभएन । दुइवटी श्रीमतीको धनी भएको र अर्की हजुरआमा बाहुनी भएको कारणले उहाँले कहिल्यै आफैंले पकाएर पनि खानुपरेन ।
यो विभाजन मेरो परिवारमा अहिले तेस्रो पुस्तामा छ र अझै पनि अर्की हजुरआमातर्फबाट जन्मेका दाजुभाइसँग मैले सँगै खाना खाँदा कसैलाई अप्ठ्यारो लाग्दछ । यो दलितहरुको जस्तै अवस्था हो भन्न त सक्दिन, तर सारा संसारबाट नै यसरी प्रताडित हुँदा, थिचिँदा, पिसिँदा उनीहरुले अनुभव गर्ने पीडा कति भयावह हुन्छ होला भन्ने एकछेउ अनुमानचाहिँ म गर्न सक्थेँ ।
यसरी भन्दा म बाहुनभित्रको दलित थिएँ ।
अहिले जताततै पहिचानको राजनीति चुलिएको छ । गर्दागर्दै बाहुन–क्षेत्रीसमेत यो राजनीतिमा उत्रेपछि बाहुनबाट झरेर क्षेत्री बनेको मैले आफ्नो परिचय स्पष्ट गर्न जरुरी बन्यो – म क्षेत्री हो कि बाहुन ? वा अरु कोही ?
बाल्यकालभर कम्तीमा मेरो पारिवारिक वातावरणमा मेरा अन्य (बाहुन) दाजुभाईसितको तुलनामा म दोस्रो दर्जाको मानिस नै हुँ भन्ने बिश्वास रह्यो र यो परिचय निर्माण गर्न र कायम राख्न समाजले ठुलै भरथेग गर्यो । मेरै काका–ठुलाबाउको भान्सामा पुग्ने वा दाजुभाइसित सँगै बसेर खाने मौका मलाई थिएन । सामान्यतः पितृसत्तात्मक समाजमा पुरुषसँग विवाह गरेपछि महिलाको जात पनि पुरुषकै हुन्छ । तर मेरी हजुरआमा तल्लो जातको भएकोले उहाँले मेरो हजुरबुवाको जात पाउन सफल हुनुभएन ।
यो विरोधाभाषले मलाई सानैदेखि चिमोट्थ्यो र कहिलेकाहीँ आफ्नो नामको पछाडि पनि बाहुन (शर्मा वा आचार्य) नै उल्लेख गरुँजस्तो लाग्दथ्यो । आफुलाई अरुभन्दा श्रेष्ठ सावित गर्न बाहुनहरुले यो प्रपञ्च गरेका हुन् भन्नेमा म बिश्वस्त छु ।
मलाई आफ्नो परिचय पुनरावलोकन गर्न बाध्य तुल्याउने अर्को कारण पनि छ । जातीय नारा र मुद्दाहरु चर्किँदै गर्दा मेरो बुवालाई कुनचाहिँ छट्टु बाहुनले तपाईँ पनि बाहुनै त हो नि भनेपछि बुवा अहिले बाहुन बन्नु भएको छ । तर मलाई भने यो अलिक अप्ठ्यारो लागेको छ । जिन्दगीभर उनीहरुले नै हामीलाई तिमीहरु तल्लो जातको भनेर हेपीरहे र अहिले भने सम्भवतः आन्दोलनको लागि ठुलो संख्या चाहिने अड्कल गरेर होला मेरो बुवाको जात बढुवा गरेर लगेका छन् ।
अब फर्केर आउँ क्षत्रीको कुरामा । मैले अघि नै भनिसकें म क्षत्री पनि होइन । म त खसेको हुँ, बाहुनबाट घटुवा भएको हुँ र खस्दै गर्दा कहाँ पुगेको छु पनि थाहा छैन । अन्यको नजरमा यो देशका क्षत्रीहरु शासक हुन्, फलस्वरुप पीडक हुन् । उनीहरुले राज्यसत्तामा वर्षौंसम्म राज गरे र अरुलाई त्यसको एकछेउ पनि पर्न दिएनन् । तर म आफुलाई त्यो संरचनामा कतै पाउन्न किनकि म क्षत्री पनि होइन ।
तसर्थ, हाललाई मेरो कुनै जातीय पहिचान पनि छैन र मलाई कसैप्रति गुनासो पनि छैन । नामै परिवर्तन गरेर पुछारमा झुण्डिएको क्षत्री पनि झिकेर फालिदिउँ जस्तो लागि रहेको छ । हालका लागि मेरो कुनै परिचय छैन । म एक परिचयविहीन व्यक्ति हुँ ।
धेरै धन्यवाद देशबन्धुजी ।
ReplyDeleteहो इन्द्रध्वज सर, समाजमा जकडिएर रहेको जातिगत संस्कार निकै जब्बर छ, जसलाई एक पुस्ता वा एक समयमै हटाउन सायदै कसैले सक्ला । तर, यस्ताखाले भ्रम र अन्धविश्वासबाट मुक्त गर्न सबैले आफ्नो ठाउँबाट केही न केही त गर्नैपर्छ । तपाईले आफ्नो भोगाइबाट सम्पूर्ण ‘खस्ने’हरुको आवाज लेख्नुभयो ।
ReplyDeleteएक्लो मान्छेको परिचय फगत ‘मान्छे’ मात्रै हो । जब मान्छेहरुको भीडमा पुगिन्छ त्यतिबेला परिचय आवश्यक मात्र हैन अनिवार्य समेत हुन्छ । हिजोको नेपाली समाजको गलत संस्कारकै कारण जात–भातको सीमारेखा कोरिएको हो । हाम्रा धर्मशास्त्रले कर्म अनुसार जात विभाजन गरेका थिए । सायद यो जातीय नभई वर्गीय विभाजन थियो । विद्यादान गर्नेहरु ब्राम्हण, राज्यको सुरक्षामा खटिने (क्षेत्रपाल) हरु क्षेत्री, व्यापार व्यवशायमा लाग्नेहरु वैश्य र सेवाकाममा लाग्नेहरुलाई शुद्र भनिन्थ्यो । पेशा जव जातिगत पहिचानको आधार बन्यो तव विस्तारै उँच–नीच र विभाजनका लक्ष्मण रेखा कोरिए । सुकिलो मुकिलो अर्थात पढाउने कामामा लाग्ने सवैभन्दा उच्च भनिए र सेवामा जुटनेहरु निच भनिए । पिडित र पीडकको अर्को वर्ग जन्मियो । यो समाज विकासक्रममा देखा परेको ऐजेरु अहिले पनि हाम्रो समाजमा कुनै न कुनै रुपमा विद्यमान छ । खुशीको कुरा अहिलेको पुस्ता यो विभेदको उन्मूलन तर्फ उन्मुख छ । विश्वास गरौं कालान्तरमा यो मेटिन्छ पनि । तसर्थ सामाजिक कुरितिको विरासतस्वरुप प्राप्त परिचयका कारण जतिसुकै पिडित हुनु परे पनि त्यो टुटिलो बोकेरै टुटिलो विरुद्ध चेतना वृद्धिको अभियानमा शालिन ढंगले लाग्नु अहिलेका वौद्धिक युवाको दायित्व हो । यद्यपि कर्मको दृष्टिले सरलाई म बाहुन भन्न मन पराउँछु । क्षेत्री त हाम्रै समाजले कुटेर उठाइदिएको जातीय टुटिलो न हो । सर,परिचय सहित यो टुटिलो विरुद्ध कलम चलाउन आग्रह गर्छु । सरलाई शुभकामना ।
ReplyDeleteदेशबन्धु अधिकारी
Khaseka kshetriharuko bastabikata ho yo..........bTW this is perfect, mero man 6oyo...:)
ReplyDelete'परिचयविहीन व्यक्ति' भित्र लोकेको परिचयले नबिर्स्ने गरी मनभित्र परिचयको जरो गाड्यो हैं !
ReplyDelete