Thursday, September 27, 2012

आम्स्टर्डम डायरीः जंगली जनावरका लागि आकाशे पुल


पुलमाथि जँगल
इको ब्रिज! इको कोरिडोर, इको फ्रेण्डली आदि शव्द त सुनेकै थिएँ तर यहाँ आयो इको ब्रिज । के रहेछ यो भन्ने कौतुहलता त आउने नै भयो । तर हामीले सोध्नुभन्दा अगाडि नै हाम्रो तालिम सँयोजक टोनी यसबारे बताउन तम्सिए ।
खासमा कुरो के रहेछ भने नेदरल्याण्ड्स युरोपको सबैभन्दा बढी जनघनत्व भएको देश रहेछ । हामीकहाँ भन्दा धेरै खुला स्थानहरु राजधानी आम्स्टर्डममै मैले देखेको थिएँ । तर डचहरु भने पर्यावरणीय सँरक्षण हुँदैन कि भनेर चिन्तित रहेछन् । समस्याको अध्ययन गर्दा थाहा भएछ कि चौडा बाटाहरुले जंगली जनावरहरुको आवतजावतमा समस्या खडा गरिदिएका छन् । त्यसैले पर्यावरण खतरामा छ ।
समस्या पत्ता लागेपछि समाधान पनि खोजिने नै भयो । समाधान निस्केछ इको ब्रिज बनाउने । अनि बन्यो राजमार्ग माथिबाटै झण्डै ५० मिटर चौडा पुल, दुई तिरको जंगललाई जोड्न ।
त्यो मानवनिर्मित पुललाई धराप पो मान्छन् कि जनावरले? त्यसको पनि समाधान निस्कियो पुलमै रुख रोप्ने । हो यस्ता पुल अहिले हरियालीमय बनेका छन् (हेर्नुस् माथिको तस्विर) ।
पुलको छेउमा म
के साँच्चै जंगली जनावरले यो पुल प्रयोग गर्छन् त? यो प्रश्नको जवाफमा हामीलाई तालिम दिने डच महिला मराइकाले भनिन् "बानी परिहाल्छ नि । पहिला मैले यो क्षेत्रमा कहिल्यै मृगहरु देखेकि थिइनँ । अहिले बाटो हिँड्दा पनि कहिलेकाहीँ ठोकिन आइपुग्छन् ।"
तर म उनका कुरा सजिलै पत्याउने वाला थिइनँ । उनको दाबी परीक्षण गर्नुपर्यो भनेर एकदिन आरएनटिसीको तालिम कक्षबाट बाहिर हेर्दै थिएँ मान्छेहरु साइकलमा ओहोरदोहोर गर्दैछन् त्यहीँ जँगलमा साँच्चिकै एउटा मृग चरिरहेको पो देख्छु! अनि बल्ल लाग्यो लाखौँ युरो खन्याएर जँगली जनावरका लागि पुल फगतमा बनाएका रहेनछन् ।
 आम्स्टर्डम भ्रमणका अघिल्ला सँस्मरणहरुः
ब्रसेल्स भ्रमणका सम्झनाहरुआम्स्टर्डम डायरीः महँगो तस्वीर

1 comment: