Monday, September 10, 2012

ब्रसेल्स भ्रमणका सम्झनाहरु

रेलस्टेशनबाट बाहिर निस्कँदासाथ देखिने सुन्दर बगैँचा र
पृष्ठभुमीमा ह्वाइट चर्च

सेप्टेम्बर १, २०१२, शनिवारको दिन। ब्रसेल्सको केन्द्रीय रेल स्टेशनमा झर्दा बिहानको एघार बजेको थियो । ठुल्ठुला पार्क, संग्रहालय, दरवार र चर्चहरुको शहर ब्रसेल्समा संसारभरबाट पर्यटकहरुको लर्को लाग्दछ । मेरो मनमा भने युरोपियन युनियनको मुख्यालय पुग्नु प्रमुख उद्देश्य थियो ।
स्टेशनबाट बाहिर निस्कँदासाथ एक जना मानिस हातमा टिकट बोकेर आइपुग्यो । डबल डेकर बसहरु शहरका प्रमुख पर्यटकीय स्थान पुग्दा रहेछन्। २० युरोको टिकट काटेपछि दिनभर जुन बस चढेर जता घुमे पनि हुँदो रहेछ।
पैदलै शहर परिक्रमा
शुरुमा त यो प्याकेज मलाई आकर्षक नै लागेको थियो तर झ्याप्प नेपाली रुपियाँमा हिसाब गरेको त दिनभर हिँडेको झण्डै २२०० पर्दो रहेछ । अरु साथीहरु पनि एकछिन हिँडेरै हेरौँ भन्नेमा आएपछि पैदल नै शुरु भयो भ्रमण । पैदलै हिँड्नका लागि आकर्षण गर्ने अर्को कारण पनि थियो स्टेशन बाहिरैदेखि पर्यटकीय स्थलहरु शुरु हुन्छन् ।
रेलवे स्टेशनबाट बाहिर निस्कँदा बित्तिकै सुन्दर बगैँचा ठुलो स्मारक र दुईपट्टि ठुला पुराना चर्चहरु आउँछन् । हामी स्मारक पार गरेर एउटा चर्चतिर पुग्यौँ (माथिको तस्वीर) । चर्चनजिकै प्रसिद्ध पार्क रहेछ त्यसकै पारीपट्टि दरबार सँग्रहालय र बेल्जियमका राजाको दरबार पनि रहेछ । यी ठाउँहरु घुमेर तस्विर खिचाएपछि हामी नजिकैको पार्कतर्फ गयौँ ।
दरबार सँग्रहालय
इयु मुख्यालय खोज्दै
सँग्रहालय पार्क र दरबारको सुन्दरताबाट मोहित भएपनि मेरो अन्तिम लक्ष्य इयु मुख्यालय नै पुग्नु थियो । हातमा एउटा नक्शा थियो । जिन्दगीमा पहिलोपटक नक्शा हेरेर हिँड्ने बाटो पत्ता लगाउँदै थिएँ । साथमा रहेका अरु पाँच देशका साथीहरु भने दिशा र बाटो पत्ता लगाउनका लागि ममाथि नै भर गरेका  थिए । मैले पनि जानेजस्तै गरी उनीहरुलाई निर्देशित गर्दै गएँ ।
पार्कबाहिर नै इयु र बेल्जियमको झण्डा राखेको एउटा भव्य भवन देखियो । यसो हेरेको पार्लियामेन्ट लेखेको छ । उनीहरुको भाषामा लेखेको बुझ्न गार्हो हुने भएकोले इयु पार्लियामेन्ट यही नै हुनुपर्दछ भन्ने अर्थ मैले लगाएँ । तर अलिक ध्यान दिएर हेरेको बेल्जियमकै राष्ट्रिय सँसद भवन रहेछ । अनि आफुले जानेको कुरा साथीहरुलाई गफ लगाइहालेँ लै हेर साथी हो ११ महिनासम्म सरकार बनाउन नसक्ने बेल्जियमको सँसद यही हो ।
बेल्जियमको सँसद भवन
नेपालमा माधवकुमार नेपालको कामचलाउ सरकार अनिश्चित लम्बिरहँदा केही राजनीतिज्ञहरुले बेल्जियममा पनि त्यहाँको सँसदले एघार महिनासम्म सरकार दिन नसकेको उदाहरण दिइरहन्थे । मेरो दिमागमा क्लिक गरिहाल्यो । गफ दिइहालेँ ।
त्यसपछि फेरी नक्शा हेरेर अगाडि बढ्यौँ । मेरो मनमा चिसो थियो तर सही दिशा परेछ । लगातार इयुका भवनहरु देखिन थाले । फलानो मन्त्रालय, तिलानो मन्त्रालय, फलानो डाइरेक्टरको अफिस आदि देखिन थाले । नभन्दै झण्डै आधा घण्टा हिँडेपछि इयुको मुख्यालय पुगियो । बिदाको दिन भएकोले चहलपहल थिएन तर ठुलो र भव्य भवन साथमै मेट्रो र अण्डरग्राउण्ड रेल स्टेशन । म त चकितै भएँ इयु त्यसै इयु भएको होइन । आफ्नो सर्वोच्चता कायम गर्न पनि यसले पुर्वाधार देखाउनैपर्थ्यो देखाउकै रहेछ ।
युरोपियन युनियनको मुख्यालय 
युरो चिन्ह पछ्याउँदै
भ्रमणको मेरो उद्देश्य लगभग पुरा भएको थियो । तर बिजनेश रिपोर्टिङको पृष्ठभुमीबाट आएको केन्याको साथीलाई भने युरोको चिन्ह खोज्नुथियो । त्यसैले फेरी हामी यसको खोजीमा हिँड्यौँ । झण्डै एकघण्टा हिँडेपछि हामी युरोपियन पार्लियामेन्टको भवन (तल तस्वीर) अगाडि पुग्यौँ । यसको अगाडि सबै सदस्य देशका झण्डाहरु फहराइरहेका थिए । एकसरो तस्वीर खिचिसकेपछि बल्ल एउटा कुनामा देखियो एउटी महिलाले उचालेको युरो मुद्राको चिन्ह । फेरी एकल र समुह तस्वीर खिचेर हामी अगाडि बढ्यौँ ।
इयु सम्वद्ध कार्यालयहरु अझै सकिएका थिएनन् । लाग्यो बेल्जियमको आधा शहर इयुको कब्जामा छ । युरो मुद्रामा विवाद हुँदा इयु नै बिघटन हुने अवस्थामा पुगेका समाचारहरु पनि आइरहेको सन्दर्भमा लाग्यो बेल्जियमकै लागि मात्र भएपनि इयु बाँच्नुपर्छ । नत्र यो मुलुकको राजधानी शहरले नराम्रो अवस्था भोग्नेछ ।
अनवरत यात्रा र शपिङ
त्यसपछि पनि हाम्रो पैदल यात्रा रोकिएन । बाटोमा पर्ने अन्य प्रमुख पर्यटकीय स्थल र ब्रसेल्सको जीवनशैली हेर्दै हामी अगाडि बढ्दै नै गयौँ । झण्डै पाँच घण्टा अनवरत हिँडेपछि ब्रसेल्सको झण्डै आधा भाग गरेर हामी केन्द्रतिरै फर्केछौँ ।
दिनभरिको थकाइले लोत भएपनि फेरी शपिङ शुरु भो । आम्स्टर्डममा भन्दा केही सस्तो भएकोले पनि सबै साथीहरु यहीँ शपिङका लागि लालयित थिए । फेरी शपिङको पनि थकाइ थपिँदा त जीउ पिना परेको थियो ।
झण्डै १० घण्टाको अनवरत यात्रा र शपिङको थकाइपछि राती नै बजे रेल चढेर ब्रसेल्सबाट हामी फेरी आम्स्टर्डमतिर लाग्यौँ । तीन घण्टाको रेलयात्रामा सबै साथीहरु निदाइरहेका थिए । तर झर्ने स्टेशन छुटेर अगाडि गइन्छ कि भन्ने डरले मैले भने आँखा खोल्न परिश्रम गरिरहेको थिएँ ।
आम्स्टर्डम भ्रमणका केही रमाइला क्षणहरु पढ्न:

आम्स्टर्डम डायरीः महँगो तस्वीर

1 comment: