Monday, September 3, 2012

आम्स्टर्डम डायरीः महँगो तस्वीर


आम्स्टर्डमको केन्द्रमा रहेको रेल स्टेशन आम्स्टर्डम सेन्ट्रलबाट त्यहाँकी रानीको दरबार हेर्न जाँदै थियौँ (रानीको निवास हेगमा भएपनि उनको कार्यकक्ष मानिने उस्तै अर्को दरबार आम्स्टर्डममा पनि छ । पहिलो तस्वीर)  रेलस्टेशन र दरबारबीचको दुरी जम्मा ४ सय मीटर जति छ ।
दरबार नजिकै पुग्ने बेलामा फुटपाथको बिचैतिर एउटा डमी देखियो । कुन कुराले हो थाहा छैन तर मेरो मनले थाहा पाइहाल्यो कि यो डमी पसलमा विभिन्न कपडाहरु लगाइदिएर प्रदर्शनमा राखिने भन्दा भिन्न छ । मनमा डमीसँगै उभिएर एउटा तस्वीर खिच्ने अभिलाषा जाग्यो । साथमा रहेका साथीहरुलाई आग्रह गर्दै क्यामेरा दिएर पोज दिनका लागि डमीलाई अँगालो हाल्न पुगेँ ।
केही सेकेण्डभित्र थाहा भयो कि डमिलाई अँगालो हाल्दा हात परेको ठाउँमा अनौठो प्रकारको न्यानोपन छ । केही सोचेभन्दा भिन्न थियो । ममा एकप्रकारको भय उत्पन्न भयो र त्यो भय शायद मेरो मुहारमा पनि देखियो । धेरैले थाहा पाएनन् तर नजिकैबाट हेरिरहेको एउटा साथीले भने भन्दै थियो कि म डराएको थिएँ ।
आफुमा डरको अनुभुती भएपछि यसो भुइँतिर आँखा पुगेछन् । देख्छु एउटा कचौरामा १० २० ५० युरोसेन्टका सिक्काहरु राखिएका छन् । अनि बल्ल महशुस भयो यो आकृति केवल डमी नभएर साक्षात मानव रहेछ । अनि आफुलाई स्वाभाविक स्थितिमा राख्दै ५० युरोसेन्ट दिएर अगाडि बढेँ ।
अघि बढ्दै जाँदा थाहा भयो यस्ता डमीहरु पर्यटक धेरै आउने दरबार क्षेत्रमा अरु पनि हुँदा रहेछन् । यसरी नेपालको भाउमा एउटा तस्वीर खिच्नकै लागि मैले ५५ रुपियाँ दिएँ जुन तस्वीर यहाँ छ ।
आम्स्टर्डम भ्रमणका स्मरणीय कुराहरु यसरी नै राख्दै जानेछु । आम्स्टर्डम डायरी हेर्दै जानुहोला ।

1 comment: