Wednesday, October 10, 2012

यसरी खोजियो नेपालको पहिलो फेसबुक प्रयोगकर्ता

स्वान्तिनासित अन्तर्वार्ता लिँदै म
ट्वीटरमा एकजनाले राखेको सामान्य प्रश्नले असामान्य खोजतर्फ हामीलाई डोर्यायो ।  प्रश्न थियो नेपालको पहिलो फेसबुक प्रयोगकर्ता को हो?

शुरुमा प्रश्न त्यति महत्वपुर्ण लागेन । तर ट्वीटरमा केही साथीहरुबिच थप बहश हुँदा यो खोज आफैँमा रोचक हुने ठानेपछि अनुसन्धान गर्ने निर्णयमा पुग्यौँ । खासमा हामीले नेपालमै रहेर फेसबुक अकाउन्ट खोलेको व्यक्ति खोजेका थियौँ र यो गार्हो थियो । तर अनुसन्धान विधीमा स्नोबल विधीबाट पनि नमुना छनौट गरी अनुसन्धान गर्न सकिन्छ भन्ने कुरा क्लिक गर्यो । अनि मैले यो विधी अपनाएर कोशिस गर्ने निर्णय गरेँ ।
 मैले आफ्नो टाइमलाइन हेरेर सबैभन्दा पहिला कोसँग म साथी बनेछु भनेर हेरेँ । अनि मभन्दा पुराना साथिहरुको पनि टाइमलाइन हेरेँ । तर धेरै अघि जान सकिएन । सबै साथीहरु मभन्दा २,४ महिना अगाडि मात्र फेसबुक चलाउन थालेका थिए र उनीहरुले पनि विदेशीहरुलाई साथी बनाएका थिए।  
 त्यसपछि मैले यो कुरा अफिसमा सहकर्मीहरुसित भनेँ । उनिहरुमध्ये अलिक टेक फ्रिक श्रुतीले यसमा ठुलो सहयोग गर्नुभयो । उहाँ आफैँ पनि मभन्दा डेढ महिना अघिदेखी फेसबुक चलाइरहनुभएको रहेछ । उहाँको टाइमलाइनमा मित्रताको इतिहास हेर्दै जाँदा पत्ता लाग्यो कि स्वन्तिना शाक्यले अक्टोबर २६, २००६ मा फेसबुक अकाउन्ट खोल्नुभएको रहेछ । त्यसपछि मैले फेसबुकको टाइमलाइन हेरेँ । सेप्टेम्बर २६, २००६ मा बल्ल सर्वसाधारणका लागि खुला गरिएको रहेछ । त्यसको १ महिनामै स्वान्तिनाले नेपालमा अकाउन्ट खोल्नुभएको रहेछ ।

उहाँभन्दा अघि अकाउन्ट खोलेका नेपालीहरु पनि थिए तर तिनीहरुले नेपाल बाहिरबाटै फेसबुक जोइन गरेको थाहा भयो । अनि हामीले स्वान्तिनासँग यो कुराको पुष्टि गर्न खोज्यौँ । उहाँले भन्नुभयो कि त्यतिखेर काठमाडौँमै साइबरमा गएर अकाउन्ट खोल्नुभएको थियो र अहिलेसम्म निरन्तर चलाउँदै आउनुभएको छ ।
त्यसपछि पनि हामीले फेसबुक र ट्वीटरमार्फत धेरै साथीहरुलाई सोध्यौँ । तर उहाँभन्दा अगाडि खोलेको दाबी नआएपछि उहाँलाई नै नेपालको पहिलो फेसबुक प्रयोगकर्ता मान्ने निर्णय गरी मे्रोरिपोर्टमार्फत सार्वजनिक गर्यौँ ।
मेरोरिपोर्टमा स्वन्तिनालाई पहिलो फेसबुक प्रयोगकर्ता दाबी गरेपछि बल्ल धेरै मानिसहरुलाई कौतुहलता बढ्यो र थुप्रै दाबीहरु आए । सन् २००५ मा नै फेसबुक शुरु गर्ने नेपालीहरु पनि भेटिए तर तीमध्ये धेरै वा सबै अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा फेसबुक शुरु गरेका थिए । फेसबुक सेप्टेम्बर २६, २००६ मा मात्र सर्वसाधारणका लागि खुला गरिएको थियो । तसर्थ त्यसभन्दा अगाडि नै फेसबुक शुरु गर्नेहरुलाई सर्वसाधारण प्रयोगकर्ता मान्न सकिएन ।
मानिसहरुमा कौतुहलता, दाबी र खोजी बढ्दै जाँदा स्वन्तिनाभन्दा अगाडि नेपालबाटै फेसबुक प्रयोग गर्ने तीन जनाको दाबीलाई हामीले पुष्टि गर्न सकेका छौँ । 
कृपा शाक्य र शशांक शर्माले अक्टोबर १८, २००६ मा र रेजर महर्जनले अक्टोबर १३, २००६ मा शुरु गर्नु भएको रहेछ । तसर्थ अहिलेसम्म नेपालमै बसेर फेसबुक प्रयोग शुरु गर्नेमा रेजर महर्जन नै पहिलो व्यक्ति हुनुहुन्छ । यद्यपी हामीले माथि नै भने झैँ यदि त्यसभन्दा अघि नै नेपालबाटै फेसबुक प्रयोग गर्ने अर्को व्यक्तिबारे जानकारी आएमा हाम्रो यो दाबी परिवर्तन हुनेछ ।

No comments:

Post a Comment