एउटा बसन्तको सुन्दर दिन थियो । मेरा वरिपरि
झण्डै तीन दर्जनको हाराहारीमा मानिस जम्मा भएका थिए । तीमध्ये ४ वा ५ जनासँग
हतियार पनि थिए । म आश्चर्यमा थिएँ कि किन आज मानिसहरु यहाँ जम्मा भएका होलान्? सधैँ हतार हुने यी बिद्रोहीहरु किन आज मेरो वरिपरि सुस्ताउने धैर्य गरेका
छन्? यी प्रश्नको उत्तर खोज्न मैले धेरै बेर कुर्न परेन ।
एकजना मेरो ठ्याक्कै अगाडि आए र छरिएर रहेकाहरुलाई आफु वरिपरि आउन आग्रह गरे । उनी
रहेछन् कमरेड जेनिथ, बिद्रोहीका जिल्ला नेता । उनको भनाईबाट
मैले बुझेँ कि एकजना जिल्ला कमिसार र अर्की लडाकु युवतीबिच बिहे हुँदै रहेछ । ती
जिल्ला कमिसार चाहिँ क्षेत्री रहेछन् र लडाकु युवतीचाहिँ युगौँदेखि माथिल्लो जात
भनिएकाले दलेर दलित नाम पाएको दमाई जातबाट रहिछिन् ।
ती वक्ताले यो कुरालाई जोड दिएर भने, "कमरेड भिक्टर र कमरेड निशाबिचको यो विवाह एउटा प्रगतिशील कदम हो । यसले परम्परागत रुपमा दलित भनेर पछि पारिएका समुदायलाई पनि हाम्रो पाटीमा समान रुपमा हेरिन्छ भन्ने कुरा स्थापित गर्दछ । हाम्रो पाटी र यसमा लागेका सबै कमरेडहरुले सँसारका सबै मानिस समान हुन् र केवल जात छन् भने पुँजिपती र श्रमीक दुईमात्र हुन् भन्ने कुरालाई आत्मैबाट अँगालेका छन् भन्ने प्रमाण पनि हो यो । सँसारको परिवर्तन चाहन्छौ भने आफैँबाट थाल भन्ने कुरालाई अनुसरण गर्दै आज विवाहबन्धनमा बाँधिने उहाँहरु दुवै जनालाई क्रान्तिकारी लाल अभिवादन ।"
उपस्थित अन्य सबै कमरेडहरुले तालीको गडगडाहटले
उनका कुरालाई स्वागत गरे । विवाह गर्ने जोडीले
एकार्कालाई अबीर लगाइदिएर हात मिलाए । सबैले ताली बजाए । शायद विवाह
सम्पन्न भएको थियो । त्यसपछि विवाहित दुवैले छोटो मन्तव्य दिए । उनीहरुको भाषणमा
क्रान्तिप्रतिको प्रतिवद्धता, सधैँ एक रहने प्रण र असमानता
अन्त्यका लागि जीवनपर्यन्त लडिरहने प्रतिज्ञा थिए ।ती वक्ताले यो कुरालाई जोड दिएर भने, "कमरेड भिक्टर र कमरेड निशाबिचको यो विवाह एउटा प्रगतिशील कदम हो । यसले परम्परागत रुपमा दलित भनेर पछि पारिएका समुदायलाई पनि हाम्रो पाटीमा समान रुपमा हेरिन्छ भन्ने कुरा स्थापित गर्दछ । हाम्रो पाटी र यसमा लागेका सबै कमरेडहरुले सँसारका सबै मानिस समान हुन् र केवल जात छन् भने पुँजिपती र श्रमीक दुईमात्र हुन् भन्ने कुरालाई आत्मैबाट अँगालेका छन् भन्ने प्रमाण पनि हो यो । सँसारको परिवर्तन चाहन्छौ भने आफैँबाट थाल भन्ने कुरालाई अनुसरण गर्दै आज विवाहबन्धनमा बाँधिने उहाँहरु दुवै जनालाई क्रान्तिकारी लाल अभिवादन ।"
यो बाटो हुँदै थुप्रैपटक जन्तीहरु हिँडेको देखेको
छु मैले । कोही बाजा बजाएर जान्थे । अक्शर दुलही रोएको पाउँथेँ तर दुलाहा भने
युद्ध जितेर आएजस्तो देखिन्थ्यो । मेरै छेउमा आएर जन्तीहरु गुनासो गर्थे । कहिले
दाइजो कम भएको, कहिले दुलाहाले दुलहीलाई कम गहना वा सस्तो कपडा
ल्याइदिएको , कहिले टीका लगाएर पैसा कम दिएको आदि । खानामा
मासु नभएको वा घीउ कम भएको जस्ता नीच गुनासो पनि गर्थे । तर आजको विवाह भने अद्भुत
थियो । शायद जीवनमा पहिलोपटक मैले यस्तो विवाह देखेको थिएँ । न जातभात, न चिनाचपटी, न सामाजिक ढोँग, न
आर्थिक लेनदेनको झगडा, न दुलही रोएको, न
जन्तीको लर्को नै । मलाई आजैका दिनमा मेरो उपस्थितिले अर्थ पाएजस्तो लाग्यो । यस्तै
राम्रा काममा आफ्नो पनि उपस्थिति रहोस् र छहारी दिइराख्न पाइयोस् भन्ने लोभ पनि
मनमा पलायो । मैले सोचेका मुक्तियोद्धाहरुले अबचाहिँ समाज परिवर्तन गर्छन् भन्ने
पक्का भयो ।
त्यसको लगत्तै देशमा प्रजातन्त्र आएको र
बिद्रोहीहरु शहर पसेको सुनेँ । यस्ता दृश्यको अझै साक्षी बस्ने मेरो अपेक्षा पुरा
हुन पाएन । सोचेँ अब खुल्लमखुला गाउँगाउँमा यस्ता विवाह भइरहेका होलान् । किन
लुकेर मेरो छहारीमा आएर बिहे गर्नुपर्थ्यो र? म सन्तुष्ट थिएँ । तर हिजोको
घटनाले भने मेरो भ्रमका सबै पर्दा च्यातिए ।
***********
रातिको १० बजेको हुँदो हो । एकजना महिला मेरो
छेउमा आइन् । जुनेली रात भएकोले मैले उनी निशा कमरेड नै भएको ठम्याउन सकेँ । यसअघि
गाउँकाले भनेको सुनेको थिएँ कि कमरेड भिक्टर साँसद बनेका छन् रे । काठमाडौँतिरै रहन्छन्
। अनि निशा भने पार्टी कामका लागि गाउँमै छिन् । लडाकुहरु क्याम्प बस्दासमेत उनी
भलाद्मी र मिलनसार भएकोले गाउँमै राजनीति गर्न सहयोगी हुने भन्दै क्याम्पमा
नपठाउने निर्णय गर्यो पार्टीले । पार्टी अनुशासनलाई उनले सहर्ष स्वीकारिन् । भर्खरै
वैवाहिक बन्धनमा बाँधिएको र दाम्पत्य जीवनको शुरुवातमात्र गरेको अवस्थामा आएको
बिछोडलाई पनि उनले पार्टीको लागि स्वीकारिन् । गाउँमै पुर्णकालिन कार्यकर्ताको
रुपमा रहिन् र राजनीतिमै आफुलाई होमिन् ।
देशमा संविधानसभाको चुनाव आयो । गाउँमा उनका
श्रीमान्को भन्दा उनकै बढी स्वीकार्यता हुँदा पनि पार्टीले कमरेड भिक्टरलाई टीकट
दियो । उनले दिनरात परिश्रम गरिन् । आफ्नो दलबाट आफु वा कमरेड भिक्टर वा अरु कमरेड
जो नै भएपनि केही फरक पर्दैन । सबैले जनताका लागि केही न केही गर्नेछन् भन्ने
बिश्वास गाउँलेहरुलाई दिलाईन् र कमरेड भिक्टर नै बिजयी भए । चुनावका क्रममा भएको
श्रीमान् सितको केही समयको सामीप्यता फेरी टुट्यो । श्रीमान् शहर फर्के,
उनी गाउँमै रहिन् ।
समय बित्दैजाँदा पार्टीले पनि बिस्तारै साथ
छोड्दै गयो । होलटाइमर बस्ने क्याम्पहरु हट्दै गए । समाज पनि बदलियो । पार्टीले
केन्द्रतिर जोड दिन थालेपछि गाउँका सँगठन र समर्थकहरु छिन्नभिन्न हुन थाले । उनी
समस्यामा पर्दै गइन् । अनि घर नफर्की भएन । अरु पुर्णकालिन कार्यकर्ता जस्तै उनी
पनि निराश मुहार लिएर घर फर्कने निर्णय गरिन् ।
घर भनेपछि वैवाहिक मान्छेको लागि आफ्ना पतिकै घर
न हुन्छ । उनी पनि चैतको फुङ्ग उडेको दिनको मध्यान्हतिर पतिको घर पुगिन् । त्यहाँ
उनले नसोचेको भयो । सासुससुरा र देवर मिलेर उनलाई घरमा पस्नै दिएनन् । केके भने के
के । छिमेकीहरु आएर पनि केवल रमिते बने । उनले आफ्नो घर दाबी गर्ने सम्भावना घट्दै
गएपछि अन्तिम भरोसा कमरेड भिक्टर थिए । उनले फोन गरिन् । फोनमा आफ्ना पतिसित कुरा
गर्न समेत उनले केही समय कुर्नुपर्यो । किनकि उनी त अहिले साँसद भएका थिए र सोबापत
पाउने सुविधास्वरुप जिल्ला सदस्यको हैसियत राख्ने कमरेड सीमालाई उनले पीए राखेका
रहेछन् । सीमाको दयास्वरुप बल्लबल्ल उनले श्रीमानको बोली सुन्न पाइन् । श्रीमानबाट
त भरोसा होला नि भनेर उनले हिम्मत हारेकी थिइनन् । तर फोनको उतापट्टिबाट भने
त्यस्तो हिम्मतिलो जवाफ पाइनन् । उनले भने, "कमरेड कतै मिलाएर बस्दै
गर्नुस्, केही दिनमा म आउँछु र मिलाउँछु । नआत्तिनुहोला ।" उनको मनमा चिसो पस्यो तर आफ्ना पतिमाथि शंका गर्न मन लागेन । उनी कहिले कुन
कामरेडकहाँ र कहिले कसकोमा गर्दै दिन कटाइन्, कमरेड भिक्टरको
प्रतीक्षामा । आवतजावत गर्दा कहिलेकाहीँ मेरो छहारीमा आएर पनि गुनासो पोख्ने
गर्थिन् । तर उनका साथीहरु पनि आआफ्नो ध्याउन्नमा लागेकाले उनका कुरामा त्यति
ध्यान दिँदैनथे वा फोस्रो आश्वासन दिन्थे कि कमरेड भिक्टर फर्केपछि सबै ठीक हुनेछ
।
केही दिनमा आउँछु भनेका कमरेड भिक्टर ठीक दुई
महिना तीन दिनपछि गाउँमा टुप्लुकिए । उनलाई आशा थियो कमरेड भिक्टर पहिला आफुलाई नै
खोज्दै आउलान् भन्ने । तर त्यसो भएन । उनी सरासर आफ्नो घर गए । उनी पनि
हस्याङफस्याङ गर्दै 'घर' पुगिन् । त्यहाँको
एउटा घटनाले भने उनी छाँगाबाट खसेजस्तो भइन् । त्यहाँ त उनको ठाउँमा अर्कै दुलही
भित्रिँदै थिइन् । मान्छेको ठेल्लमठेल थियो । उनले प्रतिरोध गर्न खोजेजस्तो गर्दै
थिइन् । मान्छेहरुले उनलाई कमरेड भिक्टरको नजिक पुग्नै दिएनन् । बरु उनलाई छेउतिर
धकेले । त्यहाँ थिए कमरेड जेनिथ जसले पहिले उनको बिहे गराइदिएका थिए । बिहे गर्ने
बेलामा जोशिलो भाषण गरेर शुभकामना दिएका थिए । अहिले जिल्ला अध्यक्ष भएका उनी
कमरेड भिक्टरसँगै त्यो गाउँमा आएका थिए । उनलाई समयमै जेनिथ त्यहाँ आएजस्तो लाग्यो
र याचना गर्न थालिन्, रोइकराई गर्न थालिन् । तर कमरेड जेनिथ
त उल्टै उनीसितै पो कराउन थाले, "बिहे
तपाइँले किन तोड्नुभएको?"
उनको कुरा सुनेर निशा आश्चर्यले आँ गरेको गर्यै
भइन् । पीडाले गर्दा पुरा आकाशै आफ्नो थाप्लोमाथि खसेर थिचेजस्तो लाग्यो । जेनिथले
भन्दै गएकि सम्बन्ध बिच्छेदका लागि निशाकै तर्फबाट निवेदन परेको थियो । त्यसपछि
तीन जनाको समिति बनाइएछ जसले छानबिन गरेर कमरेड जेनिथ र निशालाई सम्बन्ध विच्छेदका
लागि अनुमति दिने निर्णय गरेछ । त्यसको लगत्तै कमरेड भिक्टरले आफ्नै निजी सचिव
कमरेड सीमासित विवाह गरेका रहेछन् । निशाले आफुले सम्बन्ध बिच्छेदका लागि निवेदन
नहालेको र सोबारे कसैले आफुसित कुनै सोधखोज नगरेको भनेर आफ्ना कुरा सुनाउन नपाउँदै
कमरेड जेनिथ नवविवाहित दम्पत्तिका लागि शुभकामना दिन हिँडिसकेका थिए ।
त्यसपछि कामरेड निशाले आफु वरिपरि जताततै निशा
अर्थात अँध्यारोमात्र देखिन् । अनि हुत्तिँदै मेरो छेउमा आइपुगेकि रहिछिन् । उनलाई
गम्लँग अँगालो हालेर एकछिन भएपनि सान्त्वना दिन मन लागेको थियो मलाई । तर म परेँ चल्न, बोल्न नसक्ने । आफैँलाई धिक्कार्दै बसिरहेँ । उनी एकछिन मेरै छेउमा बसिन्
। तर उनमा एक प्रकारको अस्थिरता थियो । हेर्दाहेर्दै उनले भने एउटा नाम्लो
निकालिन् । उत्तरतर्फ तेर्सिएर गएको मेरो हाँगामा रसीको पासो थापिन् र मेरै आँखा अगाडि
झुण्डिएर आत्महत्या गर्नपुगिन् । मैले सोच्न नपाउँदै उनी छट्पटाएर यो सँसारबाट
बिदा लिइन् ।
बिचरा निशा! ती
क्रान्तिकारी, बहादुर र सिद्धान्तनिष्ठ योद्धा । राजनीतिक
क्रान्तिमा त सफल थिइन् तर आफ्नै जीवनसित पराजित भइन् । कुनै उपाय नदेखेपछि पाशो
लगाएर मरिन् । त्यो पनि मेरै हाँगामा । देख्नसक्ने जति सबै देखेँ । सहनसक्ने जति
सहेँ । त्यसैले अब त मलाई पनि छिट्टै काल आए हुन्थ्यो, मर्न
पाए हुन्थ्यो जस्तो लागेको छ ।
yo biyogant bho katha, kasai kasaiko jiwanima milan sakchha.. positive liyos sabaile..
ReplyDeleteमन छोयो | धेरै सत्यघटनाको नजिक छ यो कथा | यस्तै परिस्थिति मैले आफैले देखेको छु
ReplyDelete