Showing posts with label Entrepreneurship. Show all posts
Showing posts with label Entrepreneurship. Show all posts

Monday, March 24, 2014

टुक्राटाक्रीः नेपाल नबन्नुका केही कारण

नेपाल किन बनेन भन्नेबारेको विभिन्न कोणबाट बहस भइरहेका छन् । जसरी देश बनाउनु गार्हो छ त्यत्तिकै गार्हो छ देश किन बनेन भनेर कारण पत्ता लगाउन । यो मौकामा आफुलाई पनि लागेका केही कुरा नलेखिरहन सकिन । सैद्धान्तिक तहमा थुप्रै बहस भइसकेकोले यो लेखमा आफुले देखेको आधारमा नेपाल नबन्नुका केही व्यावहारिक कारणबारे आफ्ना बिचार राख्न खोजेको छु ।

चौकिदारको छोरो चौकिदार नै हुँदा मख्ख
लेख शुरु गर्न चाहन्छु पश्चिम नेपालको दुर्गम पहाडी गाउँमा बाल्यकाल बिताउँदा आफुले देखेको एक आम प्रवृत्तिको दृश्टान्तबाट । केही मगर र गुरुङ जातिका युवाहरुका लागि बेलायती सेना वा सिङ्गापुर, मलेशियन प्रहरीमा भर्ती हुने अवसर भए पनि क्षेत्रीहरुका लागि अन्तिम लक्ष्य भारतीय सेनामा भर्ती हुनु थियो भने बाहुन जातीका युवाका लागि भारतमै चौकिदारी लगायतका कामका अवसर हुन्थे। त्यस्ता गैरसैनिक (सिभिल) अवसर दुईथरि हुन्थेः अस्थायी र स्थायी (पार्मेन्टी वा पार्मेट) । अस्थायीबाट शुरु गर्दै स्थायी भएर पेन्शनमा निस्कन पाउनु जीवनको लक्ष्य हुन्थ्यो। सबैभन्दा भाग्यमानी त्यो हुन्थ्यो जो आफु पेन्शन निस्केपछि छोराका लागि पनि त्यही जागीरमा भर्ती गराउने ग्यारेन्टी हुन्थ्यो । अर्थात बाउले चौकिदार भएर ३० वर्ष वा बढी एक परिवारलाई सेवा गरेपछि फेरी छोरो चौकिदारकै रुपमा भर्ती हुन्थ्यो। यसरी तीन पुस्ताले काम गरिरहेको र चौथो पुस्ता पनि त्यही जागिरको लागि तयार हुँदै गरेको देखेको छु। यो दृश्टान्तबाट सामान्यीकरण गर्न खोजिएको निश्कर्ष के हो भने हामीमा यति सम्म जागीरे प्रवृत्ति छ कि चौकिदारको छोरो चौकिदार हुँदा नै हामी मख्ख हुन्छौँ । यो व्यवस्थाले एकातर्फ अर्को पुस्तासम्मको लागि रोजगारी त सुनिश्चित गर्छ तर नकारात्मक पक्ष झन् व्यापक छ किनकि चौकिदारको छोरो चौकिदार नै रहन्छ। उ सानैदेखि यो व्यवस्थाबारे जानकार रहन्छ, उसलाई त्यसै गरि नै हुर्काइन्छ र उसको मनोविज्ञान तथा शिक्षादिक्षा यस्तो बन्छ कि अन्त्यमा गएर चौकिदारको जागीर नै उसको लागि सबैभन्दा आकर्षक बन्न जान्छ । यो पश्चिम पहाडको आम प्रवृत्ति हो र दास प्रथाको परिवर्तित रुप पनि हो। किनकि यो व्यवस्थाले चौकिदारको छोरा चौकिदार नै वा ड्राइभरको छोरा ड्राइभर नै हुने अवस्था सिर्जना गर्छ।
 
जागीरे र कामचोर प्रवृत्ति
नेपालका अधिकाँश गाउँ (शहरमा त जम्मा १७%  जनसँख्या बस्छ) का मानिसमा रोजगारीका लागि जागीरै गर्नुपर्ने प्रवृत्ति छ । स्वरोजगार बन्ने वा उद्यम गर्ने चेत छैन । त्यसैले त थुप्रै पुर्वाधार खडा भइसक्दा, आन्तरिक बजारमा माग हुँदा र सरकारी प्रयासका बाबजुद पनि हामीहरुले सामान्य उत्पादनहरु पनि गर्न सकेका छैनौँ । यहाँको श्रमशक्ति बाहिरिनुपर्ने र विदेशी सामग्री उपभोग गर्नपर्ने बाध्यताबाट हामीहरु गुज्रिरहेका छौँ । जागीर गरेर कोही धनी बन्यो भने पौरख ठान्ने तर उद्यम गरेर कोही मानिसले प्रगति गर्यो भने ठगेको ठान्ने प्रवृत्ति छ । अपरिचित दलाललाई बिल भर्पाइ विना नै लाखौँ रुपियाँ बुझाएर विदेश जान, विदेशी सेनामा भर्ती हुन हामी लालयित हुनछौँ तर त्यही लगानीबाट उद्यम गर्न सक्दैनौँ । उद्यम गर्नेहरुमा पनि काम गरे आम्दानी र नाफा हुन्छ भन्ने स्पष्ट हुँदाहुँदै पनि अनुशासित भएर काम नगर्ने र हप्तामै २,३ दिन उद्यम बन्द गर्ने वा निश्चित समय काम नगर्ने प्रवृत्ति देखेको छु । जबकि त्यही मान्छे जागीरमा गयो भने अरुले तोकेको समयमा निश्चित घण्टा अनुशासित भएर काम गर्छ।

Tuesday, August 20, 2013

परिश्रमी सोमबहादुर तामाङ र कृषिले ल्याएको परिवर्तन

राम्चे पुग्नको लागि पहिरो पार गर्दै यात्रुहरु
रसुवा जिल्ला । काठमाडौँबाट त्यति टाढा नभएपनि वर्षको कम्तीमा ३ महिना यो सडक सम्पर्कबाट बिच्छेद हुन्छ । यमानका पहिराले हरेक वर्ष कम्तीमा राम्चे र मुलखर्क गरी २ ठाउँमा सडकलाई क्षतविक्षत बनाइदिन्छन् र सदरमुकाम धुन्चे सडक सम्पर्कबाट बिच्छेद हुन्छ । यता राम्चेका बासिन्दा भने दुईतिरको पहिरोको कारणले टापुजस्तो अवस्थामा पुग्छन् । यस्तो अवस्थामा धेरैलाई लाग्नसक्छ त्यहाँ त झण्डै भोकमरीको अवस्था पो सिर्जना हुन्छ कि । तर त्यसो होइन ।

पानी पर्दा पहिरो चलिहाल्छ । माथिबाट ठुल्ठुला ढुँगा गड्याङगुडुङ आवाजसहित खस्छन्, तल बनिरहेको बाटोको डोरेटो पनि भत्काईदन्छ । तर कर्मठ उद्यमी र परिश्रमी रसुवाबासीलाई पहिरोले रोकेको छैन । पानी रोकिइसक्दा स्थानीयबासी जुट्छन्, पहिरो पन्छाउँछन् र अर्को डोरेटो बनाइहाल्छन् । उनीहरु आफु भोकमरीमा पर्ने कुरा त परै छाडौँ बरु काठमाडौँलाई समेत तरकारी खुवाइरहेका छन् ।