राम्चे पुग्नको लागि पहिरो पार गर्दै यात्रुहरु |
पानी पर्दा पहिरो चलिहाल्छ । माथिबाट ठुल्ठुला ढुँगा गड्याङगुडुङ आवाजसहित खस्छन्, तल बनिरहेको बाटोको डोरेटो पनि भत्काईदन्छ । तर कर्मठ उद्यमी र परिश्रमी रसुवाबासीलाई पहिरोले रोकेको छैन । पानी रोकिइसक्दा स्थानीयबासी जुट्छन्, पहिरो पन्छाउँछन् र अर्को डोरेटो बनाइहाल्छन् । उनीहरु आफु भोकमरीमा पर्ने कुरा त परै छाडौँ बरु काठमाडौँलाई समेत तरकारी खुवाइरहेका छन् ।
२०७० श्रावण १५ गते । यस्तै पहिरो पार गरेर राम्चे पुग्दा बिहानको ८ बजेको थियो । पहिरोकै मुख काटिनसक्दै देखियो मानिसहरुको भीडभाड । कोही बन्दा, कोही मुला, कोही आलु र कोही काउली बोकेर आइरहेका थिए। टिनले छाएको एउटा घरमा मानिसहरु आआफ्नो सामान जोखाउन तँछाडमछाड गर्दै थिए । यो राम्चेबजार कृषि बहुउद्देश्यीय सहकारी सँस्थाको कार्यालय साथै तरकारी सँकलन केन्द्र पनि हो । बुझ्दा थाहा भयो यहाँ जोखेपछि फेरी डोकोमा हालेर बोकेर पहिरो कटाएपछि पारिपट्टीबाट बस वा ट्रकमा राखेर यो तरकारी सीधै काठमाडौँ ल्याइन्छ । यसरी पहिरो कटाएबापत भरियाले प्रति केजी एक रुपियाँ पाउँछन् ।
तरकारी सँकलनको लगबुक |
मलाई जिज्ञासा लाग्यो यो
लेकमा यसरी तरकारी खेती गरेर मानिसहरुले कति बेचबिखन गर्दा हुन्, कति आम्दानी गर्दा हुन् । मैले दर्ता किताब हेरेँ । मेरो आँखा एक ठाउँमा
टक्क अडिए जहाँ लेखिएको थियोः
२०७० श्रावण १५ गतेको
तरकारी सँकलन विवरण
सोमबहादुर तामाङ मुला २००
केजी, बन्दा ८०० केजी ।
एकै दिनमा एक मेट्रिक टन
तरकारी बेच्नु सामान्य कुरा होइन । यस्तो भीरालो बस्तीमा एक जनाले ५० केजी नै बोकेर
आएको भएपनि कम्तीमा २० खेप ल्याएपछि मात्र १ टन हुन्थ्यो । बिहान ८ बजे नै २० खेप
तरकारी ल्याइपुर्याउने व्यक्तिलाई भेट्ने उत्सुकता मनमा आयो ।
श्रीमती हिमबिरी र जेठो छोरा रामबहादुरका साथ सोमबहादुर तामाङ |
खोज्दै जाँदा छेउमै
सुस्ताउँदै गरेका भेटिए सोमबहादुर तामाङ । वर्ष ५५ । उनको साथमा थिइन् श्रीमती
हिमबिरी, जेठो छोरा राम बहादुर र माहिलो
छोरा सुकराम । उनीहरु मिलेर नै
बिहानै १ टन तरकारी झण्डै १ किलोमिटर माथि रहेको बारीबाट अप्ठ्यारो भीरालो बाटो
हुँदै सँकलन केन्द्रसम्म झारेका थिए । सबैका खुट्टा जुकाले खाएर रगत झरिरहेको थियो
। तर उनीहरुले खासै त्यसको मतलब गरेका थिएनन् ।
सोमबहादुर आफुले त पढ्न
पाएनन् नै दुर्गमताको कारणले उनका छोराहरुमध्ये पनि जेठो र माहिलोले क्रमशः २ र ४
कक्षामा पढ्दापढ्दै छाड्नु पर्यो । छोरीहरुले पनि पढ्न पाएनन् । कान्छो छोरा कुमार
तामाङले भने पढ्न पाएपनि त्यति जाँगर देखाएनन् ।
बारी त थियो ७ रोपनी तर खोरियाजस्तो मात्र । वर्षभरिमा दुई बाली (मकै र कोदो) लगाइन्थ्यो तर त्यसबाट आएको उत्पादनले श्रम पनि हिसाब गर्ने हो भने लगानी उठाउन पनि मुश्किल पर्थ्यो - मुश्किलले ५ हजार रुपियाँ बराबर पनि आम्दानी हुन्नथ्यो। सोमबहादुर भन्छन् "त्यतिखेर त हाम्रो लगानी मात्रै खेर जान्थ्यो । वर्षमा झण्डै तीन महिनाजस्तो हिउँ पर्ने यस ठाउँमा मकै पाक्न ८ महिना लाग्थ्यो । कोदोलाई पनि झण्डै ५ महिना । कहिलेकाहीँ त लगाएको बीउजति मात्रै उठाउन पनि मुश्किल पर्थ्यो ।"
बारी त थियो ७ रोपनी तर खोरियाजस्तो मात्र । वर्षभरिमा दुई बाली (मकै र कोदो) लगाइन्थ्यो तर त्यसबाट आएको उत्पादनले श्रम पनि हिसाब गर्ने हो भने लगानी उठाउन पनि मुश्किल पर्थ्यो - मुश्किलले ५ हजार रुपियाँ बराबर पनि आम्दानी हुन्नथ्यो। सोमबहादुर भन्छन् "त्यतिखेर त हाम्रो लगानी मात्रै खेर जान्थ्यो । वर्षमा झण्डै तीन महिनाजस्तो हिउँ पर्ने यस ठाउँमा मकै पाक्न ८ महिना लाग्थ्यो । कोदोलाई पनि झण्डै ५ महिना । कहिलेकाहीँ त लगाएको बीउजति मात्रै उठाउन पनि मुश्किल पर्थ्यो ।"
सँकलन केन्द्रमा तरकारी जोख्दै सोमबहादुर |
तर अहिले त्यही बारीबाट
सोमबहादुरले वार्षिक झण्डै २ लाख रुपियाँबराबरको आम्दानी गर्छन् । खर्च कटाउँदा पनि १ लाखभन्दा
बढी आम्दानी बच्छ । हामी पुग्दा बन्दा २० र मुला १५ रुपैयाँ प्रतिकेजी मुल्यमा
बिक्री भइरहेको थियो । यसरी हिसाब गर्दा सोमबहादुरको उक्त दिनको मात्र आम्दानी १९
हजार हुन्थ्यो । ६,७ वर्षअघिसम्म त धुन्चेसम्मै पनि काठमाडौँबाट ल्याएको
तरकारी ल्याइन्थ्यो । अहिले भने रसुवाको तरकारी उल्लेख्य परिणाममा काठमाडौँमा आउँछ । ‘पहिले त हामी पनि उतैबाट ल्याएर खान्थ्यो ।
अहिले त धेरै नै पठाउँछौँ काठमाडौँतिर', यसो भन्दा सोमबहादुरको मुहारमा आत्मसम्मान र आत्मबिश्वास
झल्केको देखिन्थ्यो ।
आखिर कसरी भयो त यो परिवर्तन?
आखिर कसरी भयो त यो परिवर्तन?
एक सामान्य आइडिया
एउटा सामान्य आइडियाले
सोमबहादुरजस्तै राम्चेका ३०० भन्दा बढी किसानहरुको जीवनस्तर परिवर्तन गर्न सफल
भएको छ । वर्षैभरी तरकारीको अथाह माग भइरहने काठमाडौँबाट राम्चे धेरै टाढा छैन । काठमाडौँमा आउने तरकारीको मुल स्रोत तराइ हो । र त्यहाँका अधिकाँश खेतमा
वर्षा याममा रोपाइँ हुन्छ । गर्मी र वर्षाद्का कारण त्यहाँ बेमौसमी तरकारी खेती
गर्ने नै हो भने पनि धेरै कीटनाशक औषधी प्रयोग गर्नुपर्ने हुन्छ । जसले गर्दा अस्वस्थ
तरकारी उत्पादन हुने र लगानी पनि बढ्ने अवस्था सिर्जना हुन्छ ।
बिक्रिका लागि सँकलन केन्द्रसम्म तरकारी ल्याउँदै किसानहरु |
तर, हिउँदमा तराइमा हुने
तापक्रम मध्य र उच्च पहाडी भेगमा वर्षा याममा हुन्छ । यदि मध्य र उच्च पहाडी भागमा
पनि तरकारी खेती बिस्तार गर्ने हो भने बेमौसममा पनि ताजा तरकारी उत्पादन भइरहने, त्यसमा कम लागत लाग्ने र
कीटनाशक विषादी पनि कम प्रयोग हुने हुनाले
स्वस्थ तरकारी उत्पादन हुन्छ । यही सम्भावनालाई मध्यनजर गरेर नेपाल सरकारको उद्योग
मन्त्रालय र सँयुक्त राष्ट्रसँघीय बिकास कार्यक्रमद्धारा सँयुक्त रुपमा लागु
भइरहेको लघुउद्यम बिकास कार्यक्रम (मेडेप)ले यी क्षेत्रहरुमा तरकारी खेतीका लागि पहल गरेको हो ।
मेडेपले बिगत छ वर्षदेखि त्यहाँका किसानलाई व्यावसायिक तरकारी खेती गर्नका लागि आवश्यक सीप, उन्नत बिउबिजनसम्मको पहुँच, घरायसी कम्पोष्ट मल बनाउने तरिका, बजारसम्मको पहुँच र नियमित आवश्यक प्राविधिक सहयोग प्रदान गरिरहेको छ । यसरी राम्चेमा मात्रै दुई समुहमा सँगठित भएर झण्डै ३०० किसानले व्यावसायिक तरकारी खेती गरिरहेका छन् । यसले गर्दा काठमाडौँका जनताले तुलनात्मक रुपमा ताजा र स्वस्थ तरकारी खान पाएका छन् भने राम्चेका जनताको जीवनस्तरमा उल्लेख्य परिवर्तन ल्याएको छ ।
त्यहाँका किसानमा यस्तो
आत्मबिश्वास देखियो कि सोमबहादुरको जेठो छोरा रामबहादुर ४ वर्ष साउदी अरब बसेर
फर्केपछि यहीँ किसानीमै लाग्ने बिचारमा छन् । २४ वर्षका उनले अलिक तल धैवुङमा १५ रोपनी जग्गा लिजमा लिएका
छन् जहाँ यही वर्षदेखि तरकारी खेती गर्ने लक्ष्यमा छन् । राम्चेको पहिरोको अवरोध सहनु नपर्ने हुनाले उनले धैवुङमा जग्गा लिएको बताए । कुवेतमा रहेकी श्रीमतीलाई
समेत उनले देशमै काम गर्ने भनेर फिर्ता बोलाएका छन् ।
सँकलन केन्द्रमा आफ्नो तरकारी जोख्ने पालो कुर्दै किसानहरु |
बिकास र सशक्तिकरणः
बिकासले उनीहरुलाई सशक्तिकरण पनि गरेको छ । तुलनात्मक रुपमा पिछडिएको मानिने तामाङ समुदायका भएपनि राम्चेका बासिन्दा सँगठित बनेका छन् । उनीहरुले सहकारी सँस्था गठन गरेका छन् जसले बजारसम्मको पहुँच र बचत तथा ऋणका लागि समन्वय गर्छ । मेडेपलगायत अरु सँघसँस्थाको सहयोगमा बनेको साझा सुविधा केन्द्रको भवनमा सहकारीको पनि कार्यालय छ र यही ठाउँलाई तरकारी सँकलनका लागि पनि उनीहरुले प्रयोग गरेका छन् । सहकारीले काठमाडौँका तरकारी बजारसित सीधा समन्वय गर्छ । फलस्वरुप भाउमा ठगिने वा बिचौलियाले धेरै नाफा गरेर उनीहरुलाई कम मुल्य दिने सम्भावना पनि टरेर गएको छ । धेरै किसानमा खेती लगाएपछि फसल राम्रो नउठ्ने हो कि भन्ने चिन्ता भइरहन्छ । तर राम्चेका किसान भने ढुक्क देखिए कि उनीहरु अब सहयोग होइन बाली लगाउने बेला सहजरुपमा ऋण पाएमात्रै पनि हुने बताउन थालेका छन् ।
त्यहाँका किसानहरुसित छलफल
गरेपछि मलाई के लाग्यो भने राज्यले सामान्य सहजीकरणमात्र गरिदिने हो भने नेपालमा
रहेका अथाह सम्भावनालाई प्रयोग गरी नेपाली जनताको जीवनस्तर उकास्न गार्हो छैन ।
ठुला योजना निर्माण नै बिकास हो भन्ने सँकथनबाट बाहिर आएर जनताको जीवनस्तर उकास्न
उनीहरुलाई प्रत्यक्ष लाभ पुग्ने सानासाना योजना र कार्यक्रम लागु गरेर बरु छीटो
देश बिकसित हुन्छ जस्तो लाग्यो ।
सोमनाथ जस्तो हरेक नेपालीले सोच्ने हो भने नेपालमै रोजगार प्राप्त हुने र अरूलार्इ पनि रोजगार दिन सकिदो रैछ.........किन कोरिया जानु पर्यो यहि कोरिया रैछ...हैन र यूवाहरू।
ReplyDelete