Monday, August 6, 2012

ट्याब्लोइड पत्रकारिता र सौर्य दैनिकको गाइजात्रा प्रकरण

देशमा गाइजात्रा चलिरहेको छ । प्रज्ञा भवनमा कलाकारहरुको । सिंहदरबार र त्यसको वरिपरि नेताहरुको । एउटा दलसम्वद्ध युवाहरु पनि ४ दिनसम्म बाटो बन्द गर्ने घोषणा गरेर गाइजात्रा देखाउन कस्सिएका छन् । यस्तो बेलामा पत्रकारितामा पनि गाइजात्रा हुने नै भयो । यस्तै एउटा महान प्रहसन केही समय अगाडिदेखि प्रकाशनमा आएको सौर्य दैनिकले पनि देखायो रेखा थापाको नाममा केही भद्दा र अश्लील चुट्किलाहरु छापेर । 
'रेखा थापाको मिनिस्कर्ट रहस्य' शीर्षकमा छापिएका चुट्किलाहरुले रेखा थापा र उनका पुर्व पती छवी ओझाको वैयक्तिक सम्मान र सार्वजनिक मर्यादालाई त ठुलो चुनौती दिएका छन् नै । आकारमा ट्याब्लोइड देखिने यो पत्रिकाले गर्ने पत्रकारिताको प्रकारबारे पनि केही बहस अवश्य उब्जिएका छन् ।
पत्रिका छापिने कागजको आकारहरु भिन्नभिन्न भएपनि संसाभरि नै मुलतः दैनिक पत्रिकाका आकारहरु दुइथरी हुन्छन्: ब्रोडशिट र ट्याब्लोइड । परम्परागत रुपमा साढे उनन्तीस इन्च लम्बाइ र साढे तेइस इन्च चौडाइ आकारमा छापिने पत्रिकालाई ब्रोडशिट पत्रिका भनिन्छ । बेलायतमा सन् १७१२ को पोष्टल एक्ट (हुलाक कानुन) ले पत्रिका वा पुस्तकहरुको पनि पृष्ठसंख्याको आधारमा कर लाग्ने व्यवस्था गर्यो । त्यसपछि करबाट बच्नको लागि पनि यो ठुलो आकारको कागजमा पत्रिकाहरु छाप्न शुरु भएको मानिन्छ । त्यस अघिसम्म भने यस्तो आकारको कागजमा शाही आदेश र राजपत्रहरु मात्र छापिन्थे । कालान्तरमा ब्रोडशिट पत्रिकाले त्यही विराशत धान्ने प्रयास गर्यो र मुलतः बौद्धिक र राजनीतिक विमर्श तथा गम्भीर खाले समाचारका लागि नै प्रख्यात हुन पुगे । ब्रोडशिट केवल आकार मात्र नभएर निश्चित प्रकारको पत्रकारिताको समानार्थी पनि बन्न पुग्यो ।
तर सन् १८३० को दशकमा अमेरिकामा शुरु भएको पेनी प्रेस अभियानले पत्रकारिताका केही मापकहरु नै परिवर्तन गर्न सफल भयो । पश्चिम युरोपका धेरै देश र अमेरिकामा चलेको औद्योगिक क्रान्तिले ठुलो संख्यामा औद्योगिक मजदुरहरुको विकास भयो । सँगसँगै तीव्र रुपमा बढीरहेको साक्षर मानिसहरुको संख्याले पनि ठुलो संख्यामा पत्रिकाका सम्भावित पाठकहरु सिर्जना गरेको थियो । तर यस्ता औद्योगिक मजदुरहरु गम्भीर राजनीतिक विमर्शका लागि भन्दा पनि केवल थकान मेटाउन र मनोरञ्जनको साधनको रुपमा पत्रिकाहरुको उपभोग गर्न चाहन्थे । यी पाठकहरुलाई आकर्षित गर्न युरोप र अमेरिकामा सम्पादकहरुले आआफ्नै किसिमले प्रयोगहरु शुरु गरे र ब्रोडशिट भन्दा भिन्न प्रकारको पत्रकारिताको शुरुवात भयो जसलाई पेनी प्रेस भनियो ।
यो आन्दोलनले पत्रिकाको मुल्य स्वाट्टै घटाएर ती मजदुरहरुको पनि क्रयक्षमता भित्र आउने बनाइदियो । पेनी प्रेसले पत्रिकाको आम्दानीको आधार नै परिवर्तन गरी वितरण राजस्वबाट भन्दा बढी विज्ञापनबाट आउने अवस्था भयो । तर त्योभन्दा पनि महत्वपुर्ण समाचारका विषयवस्तुहरुलाई नै पुनर्परिभाषित गर्नुका साथै समाचार संकलनका बिधी र प्रस्तुतीको ढाँचामा समेत परिवर्तन ल्यायो ।
यही पेनी प्रेस उन्नाइसौँ शताब्दीको अन्तिम र बीसौँ शताब्दीको पहिलो दशकमा पीत पत्रकारिताको रुपमा देखियो भने बीसौँ शताब्दीको अन्तिम दशकमा मिडिया उद्योगका सम्राट मानिने रुपर्ट मर्डकले बेलायतमा त्यसको व्यापारिक रुपमा निकै सफल प्रयोग गरे र संसारभरिकै ब्रोडशिट दैनिकहरुलाई ट्याब्लोइड पत्रकारिता गर्न प्रेरणा दिए । फलस्वरुप संसारका धेरै पत्रिकाहरुले आफैँलाई ट्याबलोइड आकार (१७ इन्च लम्बाइ र १२ इन्च चौडाइ)मा ढाले भने केहीले ब्रोडशिटमै छापिएर पनि ट्याब्लोइड पत्रकारिता गर्न थाले । तसर्थ हालसम्म आइपुग्दा ट्याब्लोइड केवल आकारमात्र नभएर पत्रकारिताको प्रकार पनि बुझाउँछ (यसै सम्बन्धमा हेर्नुस् मेरो अर्को लेख)
नेपालमा सौर्य दैनिकसित जोडिएको काण्डलाई पनि यही आलोकमा नहेरेसम्म सही नतीजामा पुग्न सकिन्न । नेपालमा साँच्चिकै ट्याब्लोइड पत्रकारिता अझैसम्म पनि शुरु हुन नसकेको भन्ने धारणाहरु पनि पाइने गरेका छन् तर त्यो गलत हो । नेपालमा पञ्चायतकालसम्म पनि कागज र छाप्ने प्रेसको अभावमा पत्रपत्रिकाहरु मुलतः ट्याब्लोइड वा सोभन्दा पनि सानो आकारमा छापिने गरेको पाइन्छ । त्यतिखेर खास व्यावसायिक पत्रकारिता शुरु भइनसकेकोले ब्रोडशिट र ट्याब्लोइड भन्ने विभाजन थिएन । बरु मिशन पत्रकारिताकै अभ्यास भइरहेकोले पञ्चायत पक्षीय र विपक्षी रुपमा विभाजित गर्न सकिन्थ्यो ।
तर पञ्चायतको अन्त्य, २०४७ सालको संविधानमा प्रेस स्वतन्त्रता संरक्षणका लागि स्पष्ट प्रावधान र त्यसपछिका सरकारहरुका उदारवादी नीतिले गर्दा नेपालको मिडियाक्षेत्र विशेष गरी पत्रिकामा ठुलो लगानी आउनसक्ने अवस्था सिर्जना भयो । र ठुलो लगानीसहितका सञ्चारगृहहरु ब्रोडशिट पत्रिकामार्फत मिडिया उद्योगमा प्रवेश गरे । २०४९ देखि २०६३ सम्मको कालखण्ड नेपालको पत्रकारिता इतिहासमा ब्रोडशिट दैनिकका लागि स्वर्णिम युग हो । यो अवधिमा ब्रोडशिट दैनिकहरुले आकारमात्र होइन कि प्रकारमै पनि ब्रोडशिट पत्रकारिता गरेका थिए ।
२०६३ को जनआन्दोलनसँगै परिस्थिति परिवर्तित भयो । त्यसअघि पनि रेडियोहरु राम्रैसँग गाउँशहरमा सुनिन थालेका थिए तर रेडियोले पत्रिकालाई खासै चुनौती दिएका थिएनन् । तर २०६३ पछि ब्रोडशिट पत्रिकाको एकछत्र राजलाई चुनौती दिँदै धेरै प्रविधी र माध्यम आइपुगेः दर्जनौँ टिभी च्यानल, उक्त समयको सबैभन्दा ठुलो र लोकप्रिय पत्रिकाहरुको प्रकाशक कान्तिपुरमा फुट, सयौँ रेडियो र पत्रिकामै पनि थप लगानी आदि ।
सोही समयमा नयाँपत्रिकाले ट्याब्लोइड आकारमा प्रकाशन शुरु गर्यो । यसको आकारमात्रै ट्याब्लोइड थिएन समाचारको प्रस्तुती, समाचार संकलनका बिधी र साजसज्जा समेत मुलतः बेलायतमा रुपर्ट मर्डकका ट्याब्लोइड पत्रिकाकै जस्तो थियो । २०५७/५८ सालतिर नै किशोर नेपालले नयाँसडकमार्फत यस्तो पत्रकारिता शुरु गर्न खोजे पनि त्यो दिर्घकालीन हुन सकेन । तसर्थ वास्तविक ट्याब्लोइड पत्रकारिता नयाँपत्रिका दैनिकबाट शुरु भयो भन्ने मेरो ठहर छ । तर नयाँपत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटाले मसँगको एउटा अन्तर्वार्तामा नेपाली समाजका केही सीमिततका कारण अझै आफुले चाहेजसरी ट्याब्लोइड पत्रकारिता गर्न नसकेको बताएका थिए ।
नयाँपत्रिकाले वास्तवमै नयाँ स्वाद पस्केको थियो । त्यसैले यो छिट्टै पाठकसामु लोकप्रिय पनि भयो । यसको सफलताले ब्रोडशिट दैनिकलाई समेत प्रभावित गर्यो । त्यसपछि ब्रोडशिट दैनिकले पनि ट्याब्लोइड पत्रकारिताका केही विशेषताहरु अवलम्वन गर्न पुगे जसमा ठुलो संख्या र आकारमा तस्वीर, ग्राफिक र सेतो भाग (ह्वाइट स्पेश) को प्रयोग, राजनीतिभन्दा परका वा मानवीय चाखका समाचारलाई बढी प्राथमिकता, मनोरञ्जन समाचार र गोसिपमा जोड, शीर्षक र प्रस्तुतीमा सनसनीपुर्णता र तथ्यभन्दा तात्कालिकतामा जोड दिने समाचार संकलनको शैली प्रमुख छन् । भलै नयाँपत्रिकाले एक वर्षदेखि ब्रोडशिटमा प्रकाशन शुरु गरेपनि आकारमात्र ब्रोडशिट हो, त्यसको शैली र विषयबस्तु ट्याब्लोइड नै रहेका छन् ।
नेपालको ट्याब्लोइड पत्रकारिता मुलतः बेलायत वा रुपर्ट मर्डकका ट्याब्लोइडको शैलीसित तुलना गर्दा के भिन्नता पाइन्छ भने उनका पत्रिकाहरु कट्टरपन्थी पक्षधरताका लागि आलोचित छन् तर नेपालमा भने कम्युनिष्ट नजिक भनिएका पत्रिकाहरुले नै ट्याब्लोइड पत्रकारिता गरिरहेका छन् । नयाँपत्रिका माओवादी अध्यक्ष प्रचण्ड नजिक मानिन्छ भने अहिले चर्चामा रहेको सौर्य दैनिक एमाले अध्यक्ष झलनाथ खनाल नजिक मानिन्छ । र अर्को फरक भनेको नेपाली समाजको सीमितताकै कारणले होला पुरै नग्न तस्वीरचाहिँ नेपालका ट्याब्लोइडले अझैसम्म छाप्न सकेका छैनन् । तर यही रफ्तारमा ट्याब्लोइड प्रभाव बढ्दै जाँदा त्यसो नहोला भन्न सकिन्न ।
जे भने पनि ट्याब्लोइड पत्रकारिता व्यापारिक रुपमा सफल प्रयोग हो भन्न हिच्किचाउनुपर्दैन । त्यसैले नेपालमा पनि यसको नक्कल शुरु भएको हो । सौर्य दैनिकको पछिल्लो प्रकरण हेर्दा धेरैजसो आलोचनाहरु चाहिँ यो पत्रिकालाई पनि ब्रोडशिटकै मापक बनाएर आएका छन् । पक्कै पनि ब्रोडशिट दैनिकले पत्रकारिताका सम्पुर्ण स्थापित मान्यताहरु पालना गर्दै गम्भीर प्रकारको पत्रकारिता गरोस् भन्ने अपेक्षा गलत होइन । तर जुन पत्रिका ट्याब्लोइड पत्रकारिता नै गर्छु भनेर घोषणा गरेर आएको छ र हामीले लामो समयदेखि यस्तो पत्रकारितालाई पचाइसकेका छौँ भने त्यसका लागि मापक पनि छुट्टै नै रहन्छ र हुनुपर्छ । यदि ब्रोडशिटकै मापक बनाएर हेर्ने हो भने त सौर्य दैनिकले हरेक दिन प्रकाशन गर्ने समाचार वा विषयवस्तुमै प्रश्न उठाउन सकिन्छ र उठ्छन् ।
तर यो प्रकरणले अर्को ठुलो प्रश्न भने खडा गरिदिएको छः के ट्याब्लोइड पत्रकारिता नेपालको लागि साँच्चै असुहाउँदो त छैन ? ट्याब्लोइड पत्रकारिता ट्याब्लोइड आकारमा छापिने पत्रिकाहरुमा मात्र सीमित छैन बरु यो त ब्रोडशिटमा समेत सरेको छ र टिभीमा समेत ट्याब्लोइड शैली र विषयवस्तुले प्रवेश पाएका छन् । यो सन्दर्भमा एउटै घटनाका आधारमा निश्कर्षमा पुग्नु भन्दा पनि त्यो कोणबाट ट्याब्लोइड पत्रकारिताका समग्र राम्रा र नराम्रा पक्ष तथा नेपालमा यसको आवश्यकता अथवा उपयुक्तताबारे बहस गर्न जरुरी छ ।

1 comment: