उक्त समयमा हाइप्रोफाइल समाचारबाचकहरु थिए नेपाल टेलिभिजनमा: रमा सिंह, बसन्त साप्कोटा, नारायणी थापा, समिता राणा, कोमल ओली आदि । त्यसैले समाचार पढ्नुभन्दा कम्तीमा १ घण्टा अघि आइपुग्नुपर्ने नियम भएपनि कोही त १५ मिनेट अगाडि मात्रै आएर भए पनि कपडा फेर्न हतारहतार गर्थे ।
उक्त समयमा प्रविन दाइको स्वरको महिमा जताततै हुने नै भयो । उहाँले रेडियो नेपालमा पनि समाचार पढ्नुहुन्थ्यो । त्यसैले हतार त उहाँलाई पनि हुन्थ्यो नै । तर उहाँ कहिल्यै पनि एकसरो समाचार नपढी स्टुडियो छिर्नुहुन्नथ्यो । उहाँले स्टुडियो भित्र छिर्नु अघि समाचार पढेर भाषा नमिलेको ठाउँमा सच्याउन लगाउनुहुन्थ्यो । उहाँको भाषामा ज्यादै दक्खल थियो भन्ने अनुमान म लगाउँथेँ ।
उहाँ समाचार पढ्नु अघि धेरै कुरा गर्नुहुन्नथ्यो तर निस्केपछि भने डेस्कमा रहेका धेरै मानिसहरुलाई के छ भनेर सोध्नुहुन्थ्यो । त्यो क्षण मेरा लागि पुरस्कार जस्तो लाग्थ्यो । यस्तो कालजयी स्वर भएको व्यक्तिले मलाई सन्चो बिसन्चो सोध्दै छ । जति नै अनुभव र आत्मविश्वास भएपनि हरेक बुलेटिनलाई गम्भीरतापुर्वक लिनुपर्छ भन्ने उहाँको भनाइ रहन्थ्यो ।
लोकतन्त्र आएपछि नेपाल टेलिभिजनमा समाचारबाचक पनि पुर्णकालीन हुनुपर्ने नियम आयो । उहाँ र म बाहिरिने समय सँगसँगैजस्तो भयो । त्यसपछि एकपटक एभिन्युज टेलिभिजनमा गएर उहाँलाई भेटेको थिएँ । उहाँलाई भेट्नुमा भेटमा गरिने कुराकानी भन्दा पनि उहाँको बोली सुन्नु मेरा लागि बढि महत्वपुर्ण हुन्थे । नेपाल टेलिभिजनबाट छुटिएपछि उहाँलाई पर्दामा भने एभिन्युज टेलिभिजनमा देखेको थिएँ । नेपालको पहिलै २४ घण्टे समाचार च्यानलको रुपमा आएको एभिन्युजको पहिलो बुलेटिन उहाँले नै पढ्नुभएको थियो । तर त्यसपछि उहाँको आवाज र व्यक्तित्व दुवैसित परिचित हुने मौका मिलेन र उहाँ अब हामीबिच रहनुभएन ।
मलाई लाग्छ संसारका एकदमै कमै मान्छेसित मात्रै यति दमदार र ओजपुर्ण बोली हुन्छ । उहाँको बोलीलाई कम्तीमा हाम्रो पुस्तासम्मले भुल्नेछैन र कतै न कतै टेलीभिजन वा रेडियोमा स्वरको मापकको कुरा हुँदा उहाँलाई नसम्झी सुखै हुनेछैन ।
No comments:
Post a Comment