यात्रा र जात्रामा के फरक छ ? पक्कै पनि धेरै फरक छ भन्ने लाग्नसक्छ । तर मेरो हजुरआमाले मलाई कखरा पढाउँदा 'य'लाई 'बुढो जे' भनेर पढाउनुहुन्थ्यो । 'य' 'बुढो जे' नै रहिरहेको भए यात्रा र जात्रामा केही फरक हुने थिएन । वास्तवमा मलाई सोध्नुहुन्छ भने अहिले पनि यात्रा र जात्रा एउटै हुन् । किनभने जात्रामा जुन रमाइलो हुन्छ, एकप्रकारको अनिश्चितता र भीड हुन्छ, यात्रा पनि त्यसबाट केही फरक हुँदैन । अझै यात्रा लामो छ वा बाटोमा बन्द हड्ताल परेर अड्किनुपर्यो वा गाडी बिग्रियो भने पुर्णरुपमा जात्रा नै बनिदिन्छ । यस्तै एउटा कथा टिपेर दीपक रौनियारले हाइवे भन्ने फिलिम नै बनाएका छन् । त्यसकारण मलाई पनि यात्रामा जानु जात्रा जस्तै लाग्छ र जात्रामा कम यात्रामा बढी निस्कने गर्छु ।
यसपटक पनि एउटा यस्तै त्रीदेशीय यात्रामा जानुपर्ने भयो काठमाडौँबाट ढाकासम्म बसमा । ढाका विश्वविद्यालयको दीक्षान्त समारोहमा स्नातकोत्तर दीक्षित हुन म जाने भएपछि श्रीमती शारदा पनि साथ लागेकी थिइन् । काठमाडौँबाट काकरभिट्टाको लागि बसमा चढेपछि नेपालतर्फको यात्रामा कुनै रमाइलो र उल्लेख्य केही हुँदैन । तर दुइवटा कुराचाहिँ छुटाउन मिल्दैन कि जस्तो लाग्छ । पहिलो काठमाडौं पुर्वतर्फको यात्रामा प्रतिस्पर्धाको कारणले बसहरु आरामदायी छन् र भाडा पनि प्रतिस्पर्धात्मक नै छ । र दोस्रो हो हाईवेको खाना । फिल्म हाइवेमा दीपक रौनियारले हाइवेको खानाबारे उतारेका छन् कि छैनन् तर मचाहिँ उल्लेख नगरिरहन सक्दिन ।
हाईवेको खाना
हामी चढेको 'डिलक्स' गाडीले पनि नारायणगढबाट १२किमि यतै जुगेडीमा एउटा चौथो दर्जाको होटलमा लगेर घ्याच्च रोकेपछि 'डिलक्स' गाडीले त राम्रो ठाउँमा खाना खुवाउँछ होला नि भन्ने मेरो झिनो आशा समाप्त भयो । शारदा र म खाना नखाने कि भनेर पनि सोच्दै थियौँ तर गाडीले हल्लाएर हलाक बनाएको ज्यानमा भोक लागेकोले खाना खाने नै निधो भयो । अब त्यहाँको खानाको त के कुरा गरौँ र त्यही पनि साग र गाजर पर्याप्त रुपमा राखेको रहेछ । हाइकिङ्का गुरु उमेश श्रेष्ठले दिएको एकभाग भात, एकभाग तरकारी र एकभाग सलाद भन्ने मन्त्र अनुसरण गर्दै पेटका मुसालाई थामथुम पारियो । शायद प्रधानमन्त्री बाबुराम भट्टराईको अनुगमन थोकमा असफल बनेको यो पनि एउटा दृश्टान्त हुनसक्छ ।
हाईवेको खाना
हामी चढेको 'डिलक्स' गाडीले पनि नारायणगढबाट १२किमि यतै जुगेडीमा एउटा चौथो दर्जाको होटलमा लगेर घ्याच्च रोकेपछि 'डिलक्स' गाडीले त राम्रो ठाउँमा खाना खुवाउँछ होला नि भन्ने मेरो झिनो आशा समाप्त भयो । शारदा र म खाना नखाने कि भनेर पनि सोच्दै थियौँ तर गाडीले हल्लाएर हलाक बनाएको ज्यानमा भोक लागेकोले खाना खाने नै निधो भयो । अब त्यहाँको खानाको त के कुरा गरौँ र त्यही पनि साग र गाजर पर्याप्त रुपमा राखेको रहेछ । हाइकिङ्का गुरु उमेश श्रेष्ठले दिएको एकभाग भात, एकभाग तरकारी र एकभाग सलाद भन्ने मन्त्र अनुसरण गर्दै पेटका मुसालाई थामथुम पारियो । शायद प्रधानमन्त्री बाबुराम भट्टराईको अनुगमन थोकमा असफल बनेको यो पनि एउटा दृश्टान्त हुनसक्छ ।
गाडी जतिसुकै आरामदायी भएपनि वा भाडा जति नै लिएपनि खाना खाने ठाउँ भने उस्तै हो । हाम्रा गाडीवाला साहुहरुले ड्राइभर र अन्य कर्मचारीलाई सही तलब दिन सक्दैनन् कि क्या हो ? त्यसैले चौथो दर्जाको होटलमा गाडी रोकेर यात्रुलाई पाँचौँ दर्जाको खाना खुवाएर सोबापतको कमिशन नकुम्ल्याइ पुग्दैन । अहिलेको अवस्थामा यात्रुहरुले टीकटको पैसा मात्रै तिर्दैनन् ड्राइभरले रोकेको ठाउँमा खाना खाएर उसको कमिशनको लागि पनि अतिरिक्त पैसा तिरिरहेका हुन्छन् । तसर्थ सबै सरोकारवालालाई मेरो बिनम्र अनुरोध छ बरु त्यो कमिशनको पैसा पनि टीकटमै बढाएर लेउ तर यात्रुहरुले उपयुक्त मुल्यमा सफा र ताजा खाना पाइने ठाउँमा लगेर गाडी रोक्ने गर ।
सडकको दुवैतर्फ चियाबगान हुँदै अगाडि बढ्दाको छुट्टै मजा
साँझ साढे चारबजे काठमाडौंबाट शुरु भएको हाम्रो बसयात्रा भोलिपल्ट बिहान आठ बजे काकरभिट्टा पुगेर बिश्राम लियो । केही समय एउटा होटेलमा आराम गरेर खाना खाइवरी फेरी यात्राको लागि तयार भयौँ । त्यो दिन भारतीय भुमीमा झण्डै तीन ३ घण्टा यात्रा गर्नु बाँकी नै थियो । काकरभिट्टा पुग्दा एउटा उल्लेख्य कुरा के थाहा भयो भने भारतीय मुद्रा जबर्जस्ती महँगो भएको रहेछ । राष्ट्र बैँकले १०० भारतीय रुपियाँको मोल १६० तोकेर के गर्नु सीमानामा १६६ भैसकेछ । हामीलाई भारतबाट आएजस्तो ठानेर खुल्लमखुला उक्त सटहीदर अफर गर्दैथिए दलालहरु । हामीलाई भारतीय मुद्रा चाहिएको भए त्यति नै तिर्नुपर्ने रहेछ । त्यहीँ सहयात्री तुलसी नेपाल छोरी आकृतिका साथ आइपुग्नुभयो । धन्य उहाँले पर्याप्त भारतीय मुद्रा लगेकोले महँगो तिरेर किन्नुपरेन ।
एउटा फिस्टे मारुती भ्यान जसलाई केही अघि नेपालका पहाडको यात्रामा हामीले साबुनको बाक्सा भन्ने नाम दिएका थियौँ चढेर भारतीय भुमीमा हाम्रो यात्रा शुरु भयो । पानीटंकी पार गरेपछि नक्सलबाडी आउँछ जुन स्थानबाट १९७०को दशकमा शुरु भएको सामन्तवादविरोधी संघर्ष नक्शलवादी आन्दोलनको रुपमा चिनिन गयो र अहिले पनि भारतीय माओवादीहरुले उक्त आन्दोलनलाई नमुनाका रुपमा गर्वका साथ सम्झन्छन् । उक्त आन्दोलनका छिटा नेपालमा पनि देखिएका थिए जुन २०२८ सालमा झापा काण्डको रुपमा परिचित छ । माओवादी आन्दोलनको केन्द्र सीमावर्ती उत्तर बंगालबाट भारतको बिचतिरका राज्यहरुतिर सर्दै जानु तीन दशकदेखि पश्चिम बंगालमा शासन चलाउँदै आइरहेको भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीले नक्शलवादी आन्दोलनको मियो धान्न नसक्नु र फलस्वरुप गत चुनावमा उ पश्चिम बंगालबाट बढारिनुले नक्शलवाडी पनि अहिले उजाडउजाड देखिन्छ । बाटो पनि नेपालका सडकहरुलाइ बिर्साउनेगरी बिग्रेको रहेछ । शायद गत चुनावबाट सत्तामा बिराजमान ममता बेनर्जीले माओवादी आन्दोलनको यो उद्गमस्थलसित बदला लिने शुर गर्दैछिन् ।
त्यहीँ पुगेपछि झापामै हुर्केका र शान्ति निर्माणमा विशेषज्ञता हासिल गरेका सहयात्री तुलसी नेपालले एउटा कहानी सुनाउनु भयो । नक्शलवादी आन्दोलनका प्रमुख चारु मजुमदार नेपालमा पनि यस्तै आन्दोलनका लागि प्रशिक्षित गर्न आएछन् । यस्तो आन्दोलनका लागि तयार हुँदै गरेका नेपालका नवप्रवेशी कम्युनिष्ट कार्यकर्ताहरुले आन्दोलन कसरी जारी राख्ने भन्ने प्रश्न गरेछन् । मजुमदारले भनेछन् कत्ल कर्ते जाओ । अनि शुरु भएको रे नेपालमा पनि कत्ल गर्ने झापा आन्दोलन । थाहा छैन यो कति सत्य हो तर जनतामा चेतना जगाउनेतर्फ कुनै प्रयास नै नगरी व्यक्तिहत्या शुरु गरिएको झापा आन्दोलनको पृष्ठभुमी हेर्दा होइन भन्न सकिन्न कि!
यो बाटोमा हिँड्दा धेरै कुराले मलाई आकर्षित गर्दछ । दार्जिलिङ जाने रेलको लिक पार गरेर जानुपर्छ र यो लिक लामो दुरीसम्म सडक साथसाथै रहेको छ । दोस्रो सडकको दुवैतर्फ देखिने चियाबगानले पनि मनै लोभ्याउँछन् । तेस्रो र सबैभन्दा महत्वपुर्ण भनेको टिस्टा नदी हो । ठ्याक्कै भन्न सकिँदैन तर पानीटंकीबाट ५० किमिजति पुर्वदक्षिणतर्फ हानिएपछि टिस्टा नदी देखिन्छ । त्यहाँ पुगेपछि स्कुलमा पढेको एउटा राष्ट्रिय गीत 'गाउँछ गीत नेपाली'को एउटा लहर 'पुर्वमा टिस्टा पुगेथ्यौँ, पश्चिम किल्ला काँगडा' नसम्झिरहन सक्दिन । सहयात्री तुलसी नेपाल र मैले कुरा पनि गर्यौं कि नेपालको पुर्वी सिमाना वास्तवमै यति वरसम्म थियो होला र? जे भएपनि यहाँ पुगेपछि एउटा अनौठो राष्ट्रवादी भाव मनमा आउँछ ।
टिस्टा नदीमाथि रेलवेको लागि बनेको पुल
टिस्टाको पुल तरेर जलपाईगुडी हुँदै अर्को डेढ घण्टा यात्रा गरेपछि भारत र बंगलादेशको सिमानामा पुगिन्छ जसलाई भारततर्फ च्याङ्ग्राबान्दा र बंगलादेशतर्फ बुरीमारी भनिन्छ । यी दुवै सीमाचौकीमा अनौठो प्रकारको प्रचलन कायम छ । दुवैतर्फ अध्यागमनका लागि पासपोर्ट बुझाउँदा अनिवार्य रुपमा घुसबापत केही मुद्रा पनि बुझाउनुपर्छ र यो टेबुलमुनीबाट नभएर खुल्लमखुल्ला र हाक्काहाक्की हुन्छ । कसैले किन वा बिल चाहिन्छ भनेर कुरा उठायो भने अध्यागमनको लागि फर्म भरेबापत भनेर कारण दिइन्छ । यसर्थ तपाइँले जतिसुकै पढेको भएपनि त्यहाँको अध्यागमन फर्म भर्न सकिन्न । हामीले सोच्यौँ किचकिच गर्नुभन्दा दिएकै ठीकै छ । त्यसैले प्रतिव्यक्ति २० भारु चढाएर अध्यागमनबाट पास भयौँ । अर्को घुस अड्डा आयो भन्सार जहाँ हाम्रो पछि लागिरहेको दलालले भन्दै थियो प्रति पासपोर्ट ६० भारु भारततर्फको भन्सारमा बुझाउनुपर्दछ त्यो पनि घुस नै । त्यो त ठुलो रकम पनि हो । अनि फेरी हामीले त्यस्तो केही चिज लगेका छैनौँ जसलाई छिराउनको लागि घुस दिनु परोस् । मैले त्यहाँ बिरोध गरेँ र आफैं पासपोर्ट लिएर भन्सारमा पुगेँ । झोलाहरु चेकजाँच गरिसकेपछि खुल्लाखुल्ला ४/५०० रुपियाँ दिनुस् न भन्दै पो छ त । मैले भनेँ केही त छैन हामीले ल्याएको किन दिने? उसले त डलर ल्याए नल्याएको पासपोर्टमा हेरेर डलरमै घुस खाने सोच पनि गर्दै थियो । मेरो विरोधपछि उ पछि हच्कियो र भन्सार अधिकृतले पनि भारी मनले हाम्रो पासपोर्टमा छाप हानिदिएपछि भारततर्फको भन्सारबाट हामी पास भयौँ । पछि सहयात्री तुलसी नेपाल र म जोक गर्दैथियौँ कि ४ जनाको हिसाब गर्दा त ५०० नेपाली रुपिया कमाइ गरेछौँ !
अब रह्यो बंगलादेशतर्फको पालो । त्यहाँ भने भन्सार र अध्यागमनले एकिकृत रुपमा घुस लिने गर्दछन् । त्यो पनि दलालहरुमार्फत । दलाललाई केही रकम दिएपछि न भन्सारमा झोला खोल्नुपर्यो, न अध्यागमनको फर्म भर्नुपर्यो, नत लाइन नै बस्नुपर्यो । घुसको दरबारे थाहा नभएकोले हामी दलाललाई पासपोर्ट जिम्मा लगाएर हिँड्यौँ । सबै काम सकेर पासपोर्ट लिएर आएपछि दलालले हामीसँग प्रतिव्यक्ति ५० टाका माग्दै थियो । त्यहाँ पनि कडा बार्गेनिङ गरेर जम्मा १४० बुझाएपछि हामी फेरी एकपटक हाँस्यौँ कि अर्को साठी टाका पनि कमाइयो । अर्को एक हप्ता बंगलादेश बस्दा यसरी कति बचाइयो कति । आउने बेलामा हामी जोक गर्दै थियौँ कतै खर्च गरेको भन्दा कमाएको हिसाब बढी आउने त होइन!
बंगलादेशमा यात्रा
गरीवी र बाढीको देश भनेर बंगलादेशलाई धेरै नेपालीले चिन्छन् शायद । तर केही क्षेत्रहरुमा उल्लेख्य प्रगति हासील गरेको छ यो देशले । यीनै केही क्षेत्रमध्ये यातायात सेवा पनि एक हो । बंगलादेशमा यात्रा गर्दा मनपर्ने एक चिज भनेको त्यहाँको यातायात व्यवस्था हो । अँग्रेजकालीन रेलवेहरु बिस्तार भएर मुल शहरहरुलाई जोड्छन् । ठुला नदीहरुमा जलयातायात पनि उल्लेख्य छ र सडक सञ्जाल पनि व्यापक छन् । नेपालमा सार्वजनिक यातायात प्रयोग गर्ने नेपालीहरुले थाहा पाइहाल्ने भनेको त्यहाँको बस यातायात हो । बस यातायातमा वास्तवमा भारतले भन्दा पनि ठुलो प्रगति गरेको छ बंगलादेशले । जापान, जर्मनी वा स्वीडेनमा बनेका इसुजु, हिनो, मर्सिडिज बेन्ज वा भोल्भो ब्राण्डका आरामदायी बसहरुमा यात्रा गर्नुको मजा नै छुट्टै हुन्छ । धेरैजसो सिएनजी भनिने ग्याँसबाट चल्ने यी बसहरुले टिकट काट्ने ठाउँमा ट्वाइलेट र बाथरुमा मात्रै होइन आरामको लागि कुर्ची र कहीँ त बिस्तारा पनि उपलब्ध गराएका हुन्छन् । सीटभन्दा बढी यात्रु नराख्नु अनावश्यक ठाउँमा नरोक्नु यसका विशेषता हुन् । यस्तो यात्रा नेपालको भन्दा झण्डै आधा मुल्यमा हुन्छ । अझ महत्वपुर्ण कुरा राजमार्गमा पाइने खाना हो । स्टार होटल भन्न सुहाउने रेस्टुरेन्टमा मेनु हेर्दै अर्डर गरेर खान पाउनु त्यो पनि सामान्य मुल्यमा । यहाँ पुगेपछि भने नेपालका गाडीवाला र होटेलवाला सबैलाई एकैचोटि सराप्न मन लाग्छ ।
बुडीमारीबाट साँझ साढे ६ बजे शुरु भएको हाम्रो यात्रा १२ घण्टामा ढाका पुगेर विश्राम लियो । उज्यालो भएपनि ढाकाबासीहरुलाई बिहान भने ८ वा ९ बजेपछि मात्र हुन्छ । त्यसैले ७ बजेतिर होटल पुग्दा लिफ्ट नखुल्नुमा आश्चर्य नै भएन । तसर्थ दशौँ तलामा रहेको होटलमा भर्याङ चढेर पुग्दा मर्निङ वाक पनि भयो भनेर हामी जिस्किँदै थियौँ । होटलका कर्मचारीलाई उठाएरै हामी आफ्नो कोठामा पुग्यौँ । फ्रेश भइसकेपछि सबैजना लाग्यौँ ढाका विश्वविद्यालयतर्फ जहाँबाट मैले २०१०मा रिजनल मास्टर्स इन जर्नालिज्म मिडिया एण्ड कम्युनिकेशन डिग्री उत्तीर्ण गरेको थिएँ । दुई वर्ष बसेको अन्तर्राष्ट्रिय होस्टेल नपुग्दै पछाडिपट्टि रहेको सुर्यसेन हलको क्यान्टिन पुगियो जहाँ ३ टाकामा पराठा र ३ टाकामा नै सब्जी पाइन्छ । अण्डा पनि खाएमा २५ टाका नभए १२ टाकामै तृप्त हुनेगरी खान पाइने ठाउँ नेपालमा के कल्पना गर्न सकिएला र? त्यहाँ पुगेपछि मलाई अर्को प्रश्नले पनि अत्याइरहन्छ किन नेपालमा खाने कुरा यति धेरै महँगो छ? चिया भने अलिकता महँगो भएछ । ३ टाकामा पाइने चिया अहिले बढेर ५ पुगेछ ।
राष्ट्रपतिबाट डिग्री लिँदाको क्षण
आज दीक्षान्त समारोहको अघिल्लो दिन । सयौँ एकड जमिनमा फैलिएको ढाका विश्वविद्यालय दीक्षान्तका लागि कालैकालो पोशाक लगाएका विद्यार्थीहरुले भरिएको छ । ग्रयाजुएट भएर केही समय अघि नै विश्वविद्यालय छाडेका विद्यार्थीहरुको दीक्षान्तको अवसरमा पुनर्मीलन भएको छ । उनीहरु माया र खुशी साटासाट गर्दैछन् र बर्सेका छन् फोटोका लागि अनगिन्ती स्न्यापहरु । मैले पनि अपराजेय बाङ्लाको अगाडि एउटा राम्रो तस्विर खिच्ने अपेक्षा गरेको थिएँ । तर भीडले गर्दा सम्भव भएन । आफु दुई वर्ष बसेको अन्तर्राष्ट्रिय होस्टेल पनि पुगेँ । अचम्म लाग्यो दुइ वर्षपछि पनि केही बदलिएको छैन । धेरै साथीहरु अझै अत्ध्ययन सिध्याउने धुनमा कम्मर कसेर लागेका छन् । मुल कुरा होस्टेलको गार्डदेखि अफिसरसम्म कसैले बिर्सेको छैन । एक हिसाबले खुशी नै लाग्यो । विश्वविद्यालय घुम्दा र साथीहरुसितको पुनर्मिलनमै त्यो दिन सकियो ।
दीक्षान्तमा जानुअघि ढाका विश्वविद्यालयकै प्राङ्गणमा रहेको शहिद स्मारक (मिनार)मा फोटो खिचाउँदै ।
अप्रिल ३१, दीक्षान्तको दिन । ढाका विश्वविद्यालयका कुलपति बंगलादेशी राष्ट्रपति जिल्लुर रहमानले हामीलाई दीक्षित गर्दै थिए । त्यसैले सुरक्षा व्यवस्था अत्यन्तै कडा गरिएको थियो र ११ बजे शुरु हुने कार्यक्रमको लागि साढे १० अघि नै कार्यक्रमस्थल पुग्न हामीलाई भनिएको थियो । १० बजेतिर नै कार्यक्रमस्थल पुग्दा म त चकितै भएँ - कति धेरै विद्यार्थी! त्यो गर्मीमा झण्डै बीस हजार मानिस टेन्टमुनि भेला भएका थिए । बस्ने व्यवस्था भने राम्रै थियो । सबैका लागि पुग्ने गरी कुर्ची राखिएका थिए र पर्याप्त फ्यान पनि थिए । क्रमैसित कुरान, गीता, त्रिपिटक र बाइबलका श्लोक तत्तत् विभागका प्रमुखहरुले उच्चारण गरेर दीक्षान्त कार्यक्रम शुरु भयो जुन मलाई त्यति मन परेन । किनकि विद्यार्थीले त्यति दुःख गरेर पाएको डिग्रीको जस अल्लाह वा सरस्वती वा जिशसलाई दिनु म उचित ठान्दिनँ ।
दीक्षान्तको अर्को उल्लेख्य पक्ष भनेको प्रमुख वक्ता पनि हुन् । विश्व व्यापार संगठन (डब्लुटीओ)का महासचिव पास्कल ल्यामी दीक्षान्त वक्ताको रुपमा उपस्थित थिए जसलाई ढाका विश्वविद्यालयले मानार्थ विद्यावारिधी (पीएचडी) पनि सोही कार्यक्रममा प्रदान गरेको थियो । व्यापार उदारीकरणको पक्षधर डब्लुटीओका प्रमुख भएकोले उनले आफ्नो भाषणमा उदारीकरणपछि बंगलादेशले प्राप्त गरेको प्रगतिको प्रशंसा गर्दै अझै धेरै गर्न सकिने बताए । तर उनको केही वामपक्षीय विद्यार्थी सगठनहरुले बिरोध गर्दै पुत्ला दहन पनि गरेका थिए । वामबिचारधारसँग नजिक मानिने अँग्रेजी दैनिक न्यु एजले त ल्यामीलाई विद्यावारिधी दिइने दिन ढाका विश्वविद्यालयको इतिहासमै कालो दिन भन्दै सम्पादकीय समेत लेखेको थियो ।
दीक्षान्तमा सहभागी हुनका लागि लामवद्ध विद्यार्थीहरु
कार्यक्रमस्थलभित्र झण्डै ५०/६० जनाले उनको भाषण बहिस्कार गरेर बाहिर निस्कनुबाहेक अन्य अप्रिय घटना भएन । राष्ट्रपतिले स्नातकदेखि पीएचडीसम्म डिग्री प्राप्त गर्ने सबैलाई सामुहिक रुपमा डिग्री प्रदान गरे । १७ हजार विद्यार्थीका बिच दक्षिण एशियाको पुरानो, ठुलो र प्रतिष्ठित मानिने ढाका विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री लिन पाउँदा मन खुशी नहुने कुरै भएन । त्यसमाथि पनि देशको सर्वोच्च संस्था राष्ट्रपतिले डिग्री दिँदै थिए । वास्तवमा ठुला सरकारी विश्वविद्यालयहरुका कुलपति राष्ट्राध्यक्षलाई नै बनाउन उचित हुन्छ भन्ने मलाई लाग्यो । जे भएपनि राष्ट्रपति भनेको सर्वोच्च सस्था हो र उनीबाट डिग्री लिँदा विद्यार्थीहरुमा छुट्टै किसिमको गर्व र आफुले प्राप्त गरेको डिग्रीप्रति दायित्व महशुस हुन्छ । नेपालमा केही समयअघि तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालबाट पुर्वाञ्चल विश्वविद्यालयको डिग्री लिँदा किन हो किन मलाई उक्त डिग्रीको महत्व झन् स्खलित भएको महशुस भएको थियो ।
आज भने ममा अनौठो गर्व महशुस भयो । राष्ट्रपति जिल्लुर रहमान बंगलादेशका राष्ट्रपिता मानिने शेख मुजिबुर रहमानसित १९७१को स्वतन्त्रता आन्दोलनमा सँगै लडेका स्वतन्त्रता सेनानी हुन् । सन् १९७५मा परिवारका अन्य दर्जन सदस्यसहित शेखको हत्या भएपछि आवामी लीग पार्टी हुर्काउने र बढाउने काममा वास्तवमा अहिलेकी शक्तिशाली प्रधानमन्त्री शेख हसिनाको भन्दा पनि ठुलो भुमीका जिल्लुरको रहेको छ । आफु अस्वस्थ हुँदाहुँदै र रुटिन चेकअपको लागि सोही दिन सिङ्गापुर उड्ने तयारी गरिरहेका भएपनि उनी दीक्षान्त समारोहमा सहभागी हुन आएका थिए । उनको छोटो भाषणपछि डेढ घण्टामै कार्यक्रम समापन भयो ।
धेरै बार्गेनिङ हुने हुनाले म ढाकामा शपिङ गर्न त्यति सारो रुचाउन्नँ । प्रख्यात बंगुबजारमा मिलाएर किन्न जान्यो भने तीन गुणा सस्तोमा किन्न सकिन्छ । तर यदी राम्रोसँग बगाली बोल्न नजान्ने हो वा व्यापारीले ग्राहक विदेशी भएको थाहा पायो भने तीन गुणा नै ठग्न पनि सक्छ । ढाकामा पढ्ने बेलामा हामीबिच एउटा जोक पनि चल्तीमा थियो कि यदि कसैलाई राम्रोसँग ठग्न पायो भने सामान फर्काउन आउँछन् कि भन्ने डरले बंगुबजारका व्यापारीहरु दिनभरी पसल नै बन्द गरिदिन पनि सक्छन् ! त्यसैले त्यसदिन म बाठो भएर केही साथीहरुको साथ लगाएर शारदालाई शपिङ पठाएको थिएँ । अपरान्ह केही फोटोशुट गरियो र साँझपख गएर सर्टिफिकेट बुझियो अनि दीक्षान्तको काम लगभग सबै सकियो ।
भोलिपल्ट छिटफुट शपिङ गरेर साँझ टेकनाफतर्फको यात्राको लागि तयार भइयो । समुद्रमा पानीजहाजमा तीन घण्टाजति यात्रा गरेर समुद्र बिचको एउटा टापुमा पुग्ने कल्पनाले मेरो मन त्यसैत्यसै आतुर भइरहेको थियो । मेरा सहयात्रीहरु पनि उत्तिकै व्यग्र थिए ।
सामुद्रिक यात्राको उत्सुकता
साँझ साढे ७ बजेतिर धानमण्डी भन्ने ठाउँबाट गाडी चढेका हामीलाई ढाकाबाट बाहिर निस्कने नाका जात्रावाडी पुग्नै झण्डै ३ घण्टा लाग्यो । यो यात्रामा ढाकामा बसेर पढ्दै गरेकी तुलसी नेपालकी ठुली छोरी रोहिणी पनि जोडिन आइपुगेकी थिइन् । त्यसपछि भने गाडी १०० किमि प्रतिघण्टाको दरले कुद्न थाल्यो । मलाई भने भोली बिहानै समुद्रमा जहाज चढ्न पाइने र टापुमा पुगिने कल्पनाले कुत्कुत्याइरहेको थियो ।
रातभरि केही नदेखिए पनि बिहान उज्यालो भएपछि गाडीबाटै देखियो ठुल्ठुला समथर फाँटहरुलाई सानासाना झण्डै ५ मीटर लम्बाइ र त्यति नै चौडाइका टुक्रामा बाँडिएको छ । अझ नजिक पुग्दा देखियो भुइँमा प्लास्टिक पनि ओछ्याइएको छ । अलिक पर पुगेपछि खेतको बिचबिचमा सेतासेता थुप्रा पनि देखिए । के होला भन्दै शारदा र म घोरिइरहँदा देशदेशावर घुमेर देश खाइ शेष परेका अनुभवी सहयात्री तुलसी नेपालले भन्नुभयो यो त नुन संकलन हो । हो रैछ त । हामीले खाने नुन पनि यसरी नै त संकलन हुन्छ होला । यो थाहा पाएपछि शारदा र म पनि चुकचुकाउन थाल्यौँ । किनकि नुन संकलनमा रहेको अँग्रेजहरुको एकाधिकार हटाउन गान्धीले गरेको संघर्षबारे बनेको एउटा वृत्तचित्र साल्ट स्टोरिजमा केही समय अघि यस्तै दृश्य देखेका त थियौँ ।
नुन सकलन गर्न बनाइएका सानासाना गराहरु र बिचबिचमा नुनका थुप्राहरु
त्यसको केही समयपछि हामीले माथि भारत र म्यानमार तथा तलपट्टि बंगलादेश र म्यानमारको सीमा छुट्याउने यमानको नाफ नदी पनि देखियो । नदी पारीपट्टी नै म्यानमार हो भन्ने अनुभवले कताकता धेरै लामो यात्रा गरेको अनुभव भयो । केही क्षणमा नै हामी टेकनाफ पुग्यौँ जहाँबाट हाम्रो सामुद्रिक यात्रा शुरु हुनेवाला थियो । पुग्ने बेलामा नदी किनारमा एंकर गरिराखिएका यमानका पानीजहाज अरुले भन्दा पहिले देखेकोमा शारदाले गर्व गर्दै थिइन् ।
यो उच्च पर्यटकीय मौसम होइन । त्यसैले सेन्ट मार्टिन टापुतर्फ जाने जहाजहरु ७ बाट दुइमा झरेका छन् । हामी पनि फ्रेश भइवरी उही पराठा र सब्जीको खाजा खाएर तयार भयौँ सामुद्रिक यात्राका लागि । दुईतर्फी टिकट काटेर एलसीटी कुतुब्दिया नामको तीनतले जहाजको सबैभन्दा माथिल्लो तलामा बस्यौँ हामी । हेर्दा टाइटानिक वा स्पिड २ चलचित्रको क्रुज जहाज जस्ता ठुला र सुविधासम्पन्न नभएपनि सानोतिनो क्रुजशिप भन्ने गरि नै सिंगारिएको थियो । त्यसैले क्रुजकै झझल्को बोकेर हामी यात्राका लागि तयार भयौँ । हाम्रो जहाजमा झण्डै दुइ सयको हाराहारीमा यात्रु थिए तर विदेशी भने शायद हामी ५ जनामात्रै थियौँ । जहाज चढेर जानुको रमाइलो अरु सबैले गर्दै थिए । धेरै जसो फोटो खिच्नमा व्यस्त थिए । अन्ततः ठीक साढे नौ बजे जहाजले सिट्ठी बजाएर हिँड्ने सुरसार गर्यो । सामुद्रिक यात्रा गर्ने मेरो लामो समयदेखिको इच्छा पुरा भयो । आफुले नभोगेका कुराको अनुमान अरुले भनेसुनेका आधारमा वा टिभी फिल्म हेरेका भरमा एउटा चित्र बनाइन्छ । सामुद्रिक यात्राका बारेमा मेरा पनि यस्तै केही चित्र थिए । उत्साहित हुँदाहुँदै पनि कतै मनको कुनामा चिसो पनि थियो कि कतै टाइटानिकजस्तै दुर्घटनामा परियो भने?
आफ्नै पितापुर्खा र इतिहासको सम्झना
साढे दुई घण्टाको यात्रा रमाइलै भयो तर पनि के चाहिँ लाग्यो भने हप्तौँ लगाएर यस्तो यात्रा गर्दा त पट्यार पनि लाग्छ होला । नाफ नदीको पश्चिमतिरको भंगालो हुँदै हामी अगाडी बढ्यौँ । पारिपट्टि म्यानमार थियो । त्यहाँ पुग्दा कताकता आफ्नै पितापुर्खा र पारिवारिक इतिहासबारे पनि सम्झिन पुगेँ । भारतभन्दा पनि पहिला वैदेशिक रोजगारीको स्रोत म्यानमार थियो । त्यसैको लागि मेरा हजुरबा पनि म्यानमार पुगेका थिए । मेरी हजुरआमा पनि रोजगारीका लागि त्यहीँ पुगेका बेला दुइजनाबिच प्रेम भएपछि विवाह गरेका थिए र दुवैजना बिसं १९९० तिर घर फर्केका थिए । मेरी क्षेत्रीनी हजुरआमाले २२ तोला सुन ल्याएर आएको तर उक्त सम्पत्ति मेरा चतुर बाहुन हजुरबुवाले पाखो बारीमा हाल्न लगाएको भन्ने कहानी सानोमा हामीले सुनेका थियौँ । अहिलेसम्म पनि के कुराले मलाई रोमाञ्चक बनाउँछ भने वैदेशिक रोजगारीका लागि त्यति टाढा जानु, त्यो पनि महिला अनि अन्तरजातीय प्रेममा परेर विवाह गर्नु र फर्केपछि समाजमा स्वीकार हुनु । तर अहिले हजुरबुवाको व्यवहार सम्झिँदा अचम्म पनि लाग्छ किनकि विवाह गरेर आधा दर्जन छोराछोरी पाएपछि पनि हजुरआमाले पकाएको खाना हजुरबुवाले जीवनपर्यन्त खाएनन् ।
जहाज अघि बढिरहँदा त्यसले बनाएको बाटो हेर्दै
अर्को कुरा यसरी नै वैदेशिक रोजगारीका क्रममा म्यानमार गएका एकजना गाउँले हजुरबुवा हराएका थिए । साठी वर्षसम्म पनि उनी आउँछन् कि भन्ने आशामा प्रतिक्षारत हजुरआमा केही वर्षअघि बल्ल मृत्युवरण गरेकि थिइन् । नौ वर्षमा विवाह गरेर पति विदेश हिँडेपछि ती हजुरआमाले सारा जीवन उनकै प्रतीक्षामा बिताएकी थिइन् । अर्कोतर्फ पहिलो र दोस्रो विश्वयुद्धमा हजारौँ लाखौँ गोर्खालीहरुले बेलायतको पक्षबाट जापानसित लड्दै बर्माकै जंगलमा ज्यान आहुती गरेका थिए । यसरी नेपालको पनि पश्चिमी भागसित पुर्वी एशियाको म्यानमारसम्म एउटा नाता गाँसिन पुगेको थियो । अहिले यिनै सम्बन्ध मेरो मनमा आइरहेका थिए । नाफ नदीमा जहाजमा यात्रा गरिरहँदा लाग्यो शायद ७०/८० वर्षअघि मेरा पुर्खाहरु बाग्लुङबाट झण्डै महिना दिन हिँडेर यही नदी पार गरेर म्यानमार पुग्थे होलान् । सोच्दै थिएँ आप्रवासन धेरै पहिले शुरु भएको थियो र वास्तविक भुमण्डलीकरण पनि धेरै पहिले नै शुरु भएको थियो ।
सेन्ट मार्टिन टापु: चारैतिर पानी!
आइपुग्यो सेन्ट मार्टिन टापु
नाफ नदीमा जहाजमा अघि बढिरहँदा बंगलादेशतर्फको भुमी एक घण्टामै सकिएर हामी समुद्रमा प्रवेश गर्यौँ । तर म्यान्मारतर्फको नदी किनार भने अर्को आधि घण्टासम्म पनि देखिएको थियो । त्यसपछि बल्ल हामीलाई पुरै समुद्रमा पुगेको महशुस भयो । अर्को एक घण्टामा ठ्याक्कै मध्यान्हका बेला सेन्ट मार्टिन टापुमा पुगेर जहाज रोकियो । हिन्द महासागरमा रहेको यो टापुमा पुग्नु अघि टापु र सामुद्रिक तट (बिच)बारे आआफ्नै कल्पनाहरु थिए । मेरो दिमागमा भने स्पिड २ चलचित्रको अन्तिम द्धन्द्ध शुटिङ गरिएको टापुको चित्र दिमागमा थियो । वास्तवमा टाढाबाटै नरिवलको बगैँचा र समुद्र किनारमा बनाइएका अस्थायी छाप्राहरु हेर्दा साँच्चिकै हो कि जस्तो पनि लाग्यो । आठ बर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो सानो टापु साँच्चिकै सुन्दर थियो । उच्च छालको समयमा भने यो टापु पानीले पुरिएर ५ बर्गकिलोमिटरमा मात्र समेटिने भएकोले तटदेखि टाढा मात्रै स्थायी संरचना बनाइएका थिए भने नजिकचाहिँ अस्थायी छाप्राहरु मात्र । समुद्रबाट सबैभन्दा नजिकको होटलमै बस्ने हाम्रो निधो भयो । बंगलादेशमा के कुरा ढुक्क हुन सकिन्छ भने जस्तोसुकै पर्यटकीय ठाउँमा पनि खाना र कोठाभाडामा ठगिइँदैन । यहाँ पनि ढाकाको भन्दा सस्तोमा कोठा पाएका थियौँ र उही मुल्यमा खाना पाउँदा अचम्मित भयौँ । भुमध्यरेखा नजिक पर्ने यो टापुमा आर्द्रता (ह्युमिडिटी) बढी भएकोले गर्मी नै थियो तर समुद्र किनारतर्फ आउँदा भने सार्है शित्तल हावा बहिरहेको थियो ।
साँझपख हामी बिचतर्फ निस्क्यौँ । बिच भने अपेक्षित सुन्दर वा चलचित्रमा देखाउनेजस्तो नीलो पानीयुक्त थिएन । उच्च छालको मौसम शुरु भइसकेकोले छेउछाउसम्म बालुवा देखिन्थ्यो । यद्यपी बिच भनेको बिच नै हो । समुद्रको नुनीलो पानी मुखमा पर्दा र छालले किनारतर्फ हुत्याउँदा भिन्नै मजा आउँछ ।
साँझपख उही बंगाली खाना नै खानुपर्यो । सब्जी कम, माछामासु धेरै, चिल्लो र पिरो धेरै बंगाली खानाका विशेषता हुन् । म त बानी परेको थिएँ । तर सहयात्रीहरुलाई भने पचाउन गार्है परिरहेको मैले महशुस गरेँ ।
बिचमा पुगेपछि नरिवलको पानी नखाई के फर्किइन्थ्यो?
भोलिपल्ट टापुको एउटा भागबाट हिँडेर अर्को भाग पुग्यौँ । यहाँको बिच बढी सुन्दर रहेछ र छालहरु पनि ठुला थिए । केहीबेर खेलेर सामुद्रिक ढुङ्गाहरु खोजेपछि हामी फर्क्यौँ । आज भने नेपालकै जस्तो सब्जी नखाइ नछोड्ने अड्डीमा थिए शारदा र तुलसी । भने जस्तै भयो रेस्टुरेन्टको छेउमै करेला र भिण्डि बेचिरहेको भेटेपछि के चाहियो र । एकएक पाउ किनेर होटलवालालाई फ्राई गर्न दिएपछि साँच्चिकै मीठो बनाएर भुटिदिएछ । अरु दिनभन्दा बेसी नै भात खाइयो त्यो दिन । तुलसीजिको ओरिया र बंगाली मिसाएर कुराकानी गर्ने शैलीले होटलवालालाई रमाइलो बनाएरहेको थियो । खाइसक्ने बेलासम्म त उहाँहरु लामो समयदेखिका साथिजस्तो बन्नुभयो र नेपाल आउनका लागि निम्ता र शायद भिजिटिङ कार्ड पनि दिनुभयो । मानिसहरुसँग घुलमिल गर्ने अनौठो खुवी उहाँमा छ । अर्को हजामसँग पनि एकछिनमै गज्जबको मित्रता बनाउनुभएको थियो उहाँले ।
बिचमा रमाउँदै
छिटफुट शपिङ सकेर अपरान्ह ३ बजे हामी टेकनाफतर्फ फिर्ती यात्रा शुरु गर्यौँ । अर्को तीन घण्टे सामुद्रिक यात्रा र रातभरको बसयात्रापछि भोली बिहान ढाका पुगिसक्नु थियो हामीलाई । यसरी झण्डै एक हप्ते हाम्रो यात्रा समाप्त भयो, केही सन्तुष्टी र खुशी तथा केही असन्तुष्टी सहित ।
फर्किँदा डुब्न लागेको घामले सामुद्रिक यात्रा कम मोहक थिएन ।
र अन्तमा, मैले यो तीन भागमा बाँडिएको नियात्राको पहिलो भागको शीर्षक राखेको थिएँ 'यात्राको जात्रा' । वास्तवमा बाङ्ला भाषामा अहिले पनि 'य' लाई 'जे' नै भनिन्छ । फलस्वरुप 'यात्रा', 'जात्रा' बन्दछ र 'यात्री', 'जात्री' । लामो यात्राको गाडी लाग्ने ठाउँलाई जात्राबाडी भनिन्छ जुन् ढाकाको पुर्व दक्षिणमा पर्दछ र त्यहाँबाट कुमिल्ला, चट्गाउँ लगायत पुर्वदक्षिणतर्फ जाने बसहरु लाग्ने गर्दछन् ।
No comments:
Post a Comment