Monday, March 18, 2013

अख्तियार प्रमुखमा लोकमान सिँहः चोरलाई चौतारी साधुलाई शुली

कार्टुन सौजन्य बरुण पोखरेल
एकिकृत नेकपा माओवादीको जोडमा पुर्व मुख्यसचिव लोकमान सिँह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिश भएका छन् । यी तिनै व्यक्ति हुन् जसलाई जनआन्दोलन दबाउन भूमिका खेलेको, मुख्यसचिव पदको दुरुपयोग गर्दै राजाको अप्रजातान्त्रिक कदमका लागि पुरै निजामती सेवालाई नै परिचालन गरेको लगायतका आरोप छन् । जनआन्दोलनको सफलतापछि जनआन्दोलनको क्रममा भएका ज्यादतीबारे अनुसन्धान गर्न गठन भएको कृष्णजंग रायमाझी नेतृत्वको आयोगले समेत उनलाई प्रमुख पात्रको रुपमा कारवाहीका लागि सिफारिश गरेको थियो । फलस्वरुप आन्दोनलपछि आन्दोलनकारीहरुकै सरकारले उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुनेगरी बर्खास्त गरेको थियो । उनी आफैँ अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचारका अभियुक्त हुन् ।

दुरुपयोगी नै दुरुपयोग अनुसन्धानकर्ता!
यदि खिलराज रेग्मी नेतृत्वको सरकारले यी कुरालाई ख्याल नगरी कार्कीलाई अख्तियारमा नियुक्त गर्यो भने दुरुपयोगी नै दुरुपयोग अनुसन्धानकर्ता र समग्र सँयन्त्रको नेता बन्ने पक्का छ । नेपालीमा एउटा उखान छ "चोरलाई चौतारी साधुलाई शुली" । जिन्दगीभर अख्तियारको दुरुपयोग गरेका सफलता वा लाभको पद लिनका लागि सधैँ छोटो बाटो (शर्टकट) प्रयोग गरेका चरम अवसरवादी र जनविरोधी व्यक्ति नै अब अख्तियार अनुसन्धान आयोगको प्रमुख हुने भएपछि कस्तो सुशासन र भ्रष्टाचार निवारण होला देशमा? के एमाओवादीले खोजेको सुशासन यस्तै हो?

रेग्मी सरकारको परीक्षाः
यदि उनको नियुक्ति भयो भने रेग्मी सरकारमाथि चार दलीय प्रभावको निकृष्ट उदाहरण पनि स्पष्ट हुनेछ । खिलराजले निर्वाचन सम्पन्न गराउने स्वतन्त्र सरकारको नेतृत्व लिएको दाबी गरेपनि चारदलको खेलौनामात्र भएको स्पष्ट हुनेछ । केही राजनीतिक दलहरुले अहिलेको समग्र राजनीतिक प्रक्रियामा आफुलाई पाखा पारिएको भनेर आन्दोलनसमेत घोषणा गरेको अवस्थामा यो निर्णयले रेग्मी सरकारले थप बैधता गुमाउनेछ । र सडकमा रहेका राजनीतिक दलहरुलाई आफ्ना मुद्दा स्थापित गराउन सघाउ पुर्याउनेछ ।

तसर्थ हाललाई के अपेक्षा गर्न सकिन्छ भने रेग्मी सरकारले आफु चारदलीय खेलौनामात्र नभइ समग्र निर्वाचन प्रक्रिया सम्पन्न गराउन आएको र सबै दलको सरकार भएको प्रत्याभुति दिन पनि कमसेकम लोकमानसिँह कार्कीको नियुक्तिलाई अस्वीकार गरेर माओवादीलाई नै अर्को व्यक्ति सिफारिश गर्न आग्रह गर्नेछ । साथै चारदल बाहिर रहेका अन्य शक्तिलाई पनि समेट्नको लागि संवैधानिक नियुक्तिको अन्तिम अधिकार राख्ने संवैधानिक परिषद्ले अन्य दललाई पनि यो प्रक्रियामा सामेल गराउनुपर्छ । रेग्मी सरकारको प्रतिवद्धता, स्वतन्त्रता र बैधताको पहिलो परीक्षा यही नै हो ।

कार्की किन बने माओवादीका प्रियपात्र?
एनेकपा माओवादी शान्तिप्रक्रियामा आउँदा सबैभन्दा ठुला खलपात्रमध्येमा पर्थे लोकमानसिँह कार्की । तर यिनै खलपात्रप्रति एमाओवादीको किन मोह बढ्यो?  तत्कालीन खलपात्र यति छिट्टै कसरी एनेकपा माओवादीका प्रियपात्र बने? यी प्रश्न जताततै उठेका छन् तर माओवादीले तीनको उत्तर दिन सकेको छैन । जनताप्रति उत्तरदायित्व नभएपनि आफ्नै कार्यकर्ताका लागि पनि एमाओवादीले उत्तर दिनैपर्छ कि हिजोका ठुला शत्रु यति छिट्टै कसरी प्रियपात्र बने? सयौँ हण्डर पीडा र त्याग गरेका कार्यकर्ताले थाहा पाउनुपर्यो कि उनको के योगदान छ?
जबसम्म माओवादीले उत्तर दिन्न जनता अनुमान गर्न स्वतन्त्र छन् र केही अनुमान यस्ता छन्:
  • लोकमान सिँह कार्की र माओवादीबिच एकार्काका काला कर्तुत नखोतल्ने सहमती भएको छ ।
  • प्रचण्डले जम्मा पारेको भनिएको अकुत सम्पत्तिबारे छानबिन नगर्न लोकमान सिँह प्रतिवद्ध छन् ।
  • साथै अख्तियारमा गएर पनि एमाओवादीलाई आर्थिक स्रोत जुटाउन सहयोग गर्ने लोकमान सिँहको प्रतिवद्धता जनाएका छन् ।
  • लोकमानसिँहले एमाओवादीमात्र होइन नेकपा एमाले र काँग्रेस तथा मधेशी मोर्चासम्बद्ध नेताहरुले गरेका भ्रष्टाचारबारे पनि छानबिन नगर्न प्रतिबद्धता जनाएका छन् ।

यो प्रक्रियाका साक्षीको रुपमा रहेका तथा भागबण्डामा सहभागी नेपाली काँग्रेस र एमालेले पनि यस्ता प्रश्नको जवाफ दिन जरुरी छ । यस्ता विवादित व्यक्तिबारे स्पष्ट जानकारी नआएसम्म यस्तै अनुमानहरु लगाउन जनता बाध्य नै हुनेछन्।

2 comments:

  1. लोक-निन्दालाई एमाओबादीले शिरानी हालेर चैनको स्वास फेर्न चाहेको मात्र हो । कैयौं यस्ता दृष्टान्त घाम जस्तै छर्लङ्ग छन्, जसलाई एमाओबादीले ढाकछोप तथा बलात संरक्षणको माध्यमद्वारा अपराधीको मनोबल बढाउने कार्य गरेको छ ।

    ReplyDelete
  2. अंग्रजीमा एउटा भनाइ छ: you scratch my back, I scratch yours. यहि हुन गइरहेको छ ।

    ReplyDelete