Thursday, October 18, 2012

फेसबुकमा फोटो ट्यागको आतंक

दशैँले झ्याम्मै जताततै छोपेको छ । फेसबुकमा झनै । अहिले फेसबुकको टाइमलाइनमा सबैभन्दा धेरै देखिने भनेको शुभकामनाका शव्द र तस्वीर हुन् । एउटा ग्राफिक्स तस्वीर बनायो भकाभक ५०,६० जनालाई ट्याग गर्यो । तर यसरी अनावश्यक ट्याग गर्दा फेसबुकमा रहेका आफ्ना साथीहरुलाई समेत अप्ठ्यारो पर्छ  भन्नेबारे कमैमात्र जानकार भएको पाएँ । त्यसैले यो ब्लगपोष्ट लेख्दैछु ।

तपाइँले सजिलैसँग फेसबुकमा साथीको नाम ट्याग गरिदिनुहुन्छ तर यसले को साथीलाई मार पर्छ भन्ने तपाइँलाई आँकलन पनि हुँदैन । अहिले फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको सुरक्षालाई लिएर केही नयाँ पाइला चालेको छ । यदि तपाइँले फेसबुकलाई अहिले प्रयोग गरिरहेको भन्दा भिन्न ठाउँबाट वा विदेशबाट चलाउन थाल्नुभयो भने सुरक्षा जाँच गर्छ । त्यसका लागि दुईवटा व्यवस्था छन्ः यदि तपाइँले अकाउन्ट साइन अप गर्दा सुरक्षा प्रश्न छानेर त्यसको उत्तर दिनुभएको थियो भने सुरक्षा प्रश्नको उत्तर दिएर पनि अकाउन्ट साइन इन गर्न सक्नुहुन्छ । तर ऐच्छिक भएकोले हामी धेरैले सुरक्षा प्रश्न  छान्न र त्यसको उत्तर दिन ध्यान नदिएका हुनसक्छौँ ।

त्यस्तो अवस्थामा अर्को उपाय भनेको आफ्ना साथीहरुको तस्वीर चिन्ने हो । तपाइँको फेसबुकमा भएका साथीहरुमध्येबाट ५ जना साथीका तस्वीरहरु फेसबुकले छानेर देखाउँछ । अनि तपाइँले ती ५ जनालाई नै चिनेपछि बल्ल साइन इन गर्न सक्नुहुन्छ ।

तर सोच्नुस् त तपाइँको कुनै साथीलाई उसको साथीले बाग्मतीको फोहोरमा खिचिएको तस्वीरमा ट्याग गरेको छ वा उसको छोरोको तस्वीरमा ट्याग गरेको छ वा दशैँको शुभकामनामा ट्याग गरेको छ । अनि तपाइँले साथीलाई कसरी चिन्नुहुन्छ? यसमा तपाइँ र तपाइँको साथी दुवैको गल्ती नभएर ट्याग गर्ने अर्को साथीको गल्ती पनि हुनसक्छ । तसर्थ जसको अनुहार देखिएको छैन त्यस्ता तस्वीरमा कुनै साथीलाई ट्याग गर्न आजैदेखि बन्द गरौँ । यदि कसैले अनावश्यक तस्वीरमा आफुलाई ट्याग गरेको छ भने पनि हटाउँ ।

उपाय के?
दशैँको बेला छ । हामी सबैले आफ्ना साथीहरुलाई फेसबुकमा शुभकामना दिन चाहन्छौँ वा आफुले च्याट्ट पारेर डिजाइन गरेको शुभकामना कार्ड अरुले पनि देखुन् भन्ने चाहना स्वाभाविक हो । त्यस्तोमा पनि उपाय छ। त्यस्तो अवस्थामा तस्वीरमा ट्याग नगरेर जहाँ तस्वीरबारे लेख्ने ठाउँ हुन्छ त्यहाँ cc लेखेर @ अनि ट्याग गर्न चाहेको साथिको नामको पहिलो दुई अक्षर टाइप गरेपछि लिष्ट दिन्छ त्यहीँबाट चाहेको साथिको नाम छान्ने (तस्वीरमा देखाएजस्तै)। यसो गर्दा तपाइँले ट्याग गरेको नोटिफिकेशन साथीकोमा पनि जान्छ । र अनावश्यक ट्यागले निम्त्याउने अप्ठ्यारोबाट पनि तपाइँ बच्नुहुन्छ ।

अनावश्यक ट्यागबाट कसरी बच्ने भन्नेबारे यो पोष्ट Unnecessary tags create nuisance to your friends पनि पढ्नुस् ।

2 comments: