जिन्दगीमा सजिलो र सीधा
बाटो हिँड्नै जानिएन कि जस्तो लाग्छ अचेल । यसलाई बल दिएको छ मेरा पछिल्ला तीन
पदयात्राले । यी तीनवटै यात्रामा अरु प्रायः नहिंड्ने बाटो हिंडेर असाध्यै दुःख
पाइएको छ र कतिपय अवस्थामा त धन्न बाँचियो भन्ने पनि परेको छ । अलिकति Man Vs Wild का उपाय अपनाएर पनि
ज्यान बचाउनुपरेको छ। तर एकपटकको दुःखबाट पाठ नसिकेको पाउँदा म आफैंलाई विश्मय
लाग्छ।
जंगलमा बास
तीन वर्षअगाडि खप्तड
जाँदाखेरि अरु हिंडेको दीपायल, झिग्राना हुँदै नगएर अछामको चौखुट्टेबाट यात्रा शुरु
गर्यौँ । छोटो बाटो भनेर त्यो रोजेका थियौँ। डडेलधुराबासीले चौखुट्टेबाट ४,५ घण्टामा पुगिन्छ भनेको आधारमा हामी ३ बजेतिर चौखुट्टेबाट
हिँडे पनि भ्याइन्छ भनेर सोझिएका थियौँ । स्थानीयले भने ८,९ घण्टा लाग्छ भनेपछि
हामीलाई हेपेर यिनीहरुले त्यसो भने होलान् भन्ने ठान्यौँ अनि त्यही दिन नै हिंड्ने
निर्णय गर्यौँ। गाइड खोजेर चौखुट्टेबाट हिँड्दा नै अपरान्हको ४ बजेको थियो, राती १ बजेसम्म हिंड्दा
पनि गन्तव्य नपुगेपछि रातभर एउटा पाटीमा आगो बालेर बस्नुपरेको थियो। राष्ट्रिय
निकुञ्जको बाटोमा रातभर हिंड्दा झण्डै वन्यजन्तुको आक्रमणमा परिएन। यो यात्राबारे लेखिएको सँस्मरण यहाँ पढ्न सकिन्छ ।
१२ दिने पदयात्रा ६ दिनमा
अर्कोपटक उपल्लो मुस्ताङ
जाने योजना गरेर निस्क्यौँ । मुक्तिनाथ पुगेपछि माथि हाँसिरहेको दामोदर हिमाल
छोएरै आउने यति तीव्र उत्कण्ठा भयो कि उपल्लो मुस्ताङ जाने योजनालाई गोली मारेर
थोराङतिर हानियौँ। छ जना हिंडेकोमा तीनजना मात्र उकालो लाग्न सक्ने देखियो तर पनि
हिम्मत हारिएन। बिहान ५ बजे हिंडेका हामी दिउँसो ४ बजेमात्र थोराङ पुग्यौँ। लगभग
शतप्रतिशत पर्यटकले नै मनाङबाट मुस्ताङतर्फ यात्रा गर्ने गर्दछन् । उनीहरु ४९०० मिटरमा
रहेको हाइक्याम्प वा ४७०० मिटरमा रहेको बेसक्याम्पमा बसेर ५४१९ मिटरको थोराङ
भञ्ज्याङ पार गरेर ३८०० मिटरको मुक्तिनाथमा पुगि विश्राम गर्छन् । हामी भने उल्टो
बाटो हिंडेका थियौँ। ३८०० मिटरको मुक्तिनाथबाट यात्रा शुरु गरेर एकै दिनमा ५४१९
मिटर पुगेका थियौँ र झरेर ४९०० मिटरको हाइक्याम्पमा बास बस्न पुगेका थियौँ। दुई
रातको बसाइ ११०० मिटरको फरकमा । यो पनि जोखिमपुर्ण नै थियो तर जेनतेन बाँचेर आइयो।
यही यात्रामा तिलिचोसमेत पुग्न भ्याइयो । पर्यटकहरुले औसतमा १२ दिन लगाउने
पदमार्ग हामीले ६ दिनमा छिचोलेका थियौँ ।
अर्को उल्टो यात्रा
यसपटक फेरि त्यस्तै उल्टो
यात्राको संयोग पर्यो । ताप्लेजुङ पुगेपछि धेरैको चाहना हुन्छ एकपटक पाथिभरा पुगेर
आउँ । यसको अर्को कारण के पनि होला भने हिमाली जिल्ला भएर पनि सदरमुकाम मेङलुङ
मात्र पुगेर फर्कने हो भने कुम्भकर्ण, कञ्चनजंघा लगायतका हिमाल नजिकबाट महसुस त के कुरा देख्न
पनि नपाइ फर्कनुपर्ने हुन्छ । त्यसैले यसपटक ताप्लेजुङ पुग्दा जुन मेरो लागि पहिलो
यात्रा थियो, पाथिभरा पुग्ने रहरले कुतकुतायो । अरु काम पनि लिएर गएकोले तमोरको छेउछाउ
सिंह्वा पुगिएको थियो । त्यहाँबाट पाथिभरातिर हेर्दा लाग्यो बाग्लुङ राङखानीको
रुम्टाबाट हाँडीकोटको डाँडो हेर्दैछु। बस, के चाहियो । लु भाई अब यहीँबाट पाथिभरा हुँदै
मेङलुङ झरिन्छ भन्ने ठानियो । पहिलो दिन अलिकति माथि १७०० मिटरको उचाइमा रहेको
लिङखिम गाउँ पुगेर बसियो । स्थानीयले त भन्दै थिए लिङखिमबाट ६,७ घण्टा लाग्छ । यति नाथे त
हिँडिहालिन्छ नि भनेर आँटियो । तर १७०० बाट ३८०० मिटरको उचाइमा चानचुने कुरा होइन
भन्ने मलाई थाहा थियो तर टोलीका साथीहरुलाई भने निरन्तर अल्टिमिटर हेर्दै यति माथि
आइयो भनेर हौस्याइरहेँ।

छोटो बाटो भनेर सातुसामल
केही बोकिएको थिएन । अलिअलि मकै र जम्म तीन लिटर पानीको भरमा हामी यात्रा गर्दै
थियौँ जुन लगभग आधा बाटो पनि नकाट्दै सकिइहाल्यो। अनि हप्याक भइयो । त्यसपछि फेरि Man Vs Wild कै उपाय शुरु गरियो
। शुरुमा पानीको बोतलमा राखी हिउँ पगालेर पिउने आइडिया लगाइयो। पग्लिँदा पानी
सँग्लो देखिएन । त्यसैले त्यो उपाय त्यागियो । तर तीर्खा कसरी तृप्त गर्ने? हिन्दीको कहावत मर्ता क्या
नहीँ कर्ता भने झैँ यसपटक सीधै हिउँ खाएर घाँटी भिजाउने उपाय लगाइयो ।
पानी त पुग्यो तर शरीरलाई
शक्ति पनि चाहियो। खोतलखातल गर्दा एकपटकमा बुद्ध एयरको चकलेट भेटाए एकजना साथीले ।
अर्कोपटक भने केही भेटिएन शिवाय एक पुरिया जीवनजल। त्यही जीवनजललाई हिउँमा छर्कँदै
खाइयो । पानी पनि पुग्ने, शक्ति पनि आउने ।

रिसाएको कञ्चनजंघा
२ दिन अगाडि पानी परेर मौसम
खुलेको थियो । २००० मिटर माथि लागेदेखि नै हिउँ शुरु भएको थियो, मन्दिरमा पुग्दा त आधा फुटभन्दा
बढी जति जमेको थियो होला। ३८०० मिटरमा पुगेर कञ्चनजंघादेखि सगरमाथा सम्मको
पानोरामा हेरौँला भन्ने सपना भने सपनामात्रै रह्यो । कुहिरो लागेर बाटो नै भूतको फिल्मको
दृश्यजस्तो भएको थियो । शिखरमा पुग्दा भिजिबिलिटि ५० मिटर पनि थिएन होला।
त्यतिमात्र होइन, नौ दिनको इलाम, पाँचथर र ताप्लेजुङको यात्राभर पनि कञ्चनजंघाको दर्शन गर्न
पाइएन। शायद कञ्चनजंघा मसँग रिसाएको छ, अर्कोपटक मन्स्याउन फेरी जानुपर्ला ।
No comments:
Post a Comment