Friday, January 13, 2012

ट्वीटरबाट राजनीति: सामाजिक र राजनीतिक आन्दोलनमा लाग्नेहरुलाई केही सुझाव

सोसल मिडिया प्रयोग गर्ने धेरैले यसबाट फाइदा बेफाइदा दुवै भएको बताउँछन् । मित्रता, बिचार आदानप्रदान, प्रत्यक्ष कुराकानी, पुराना साथीहरुसँग पुनर्मिलन, टाढा रहेका आफन्तसित प्रत्यक्ष कुराकानी र नियमित सम्पर्क, फुर्सदको समय उपयोग यसका केही फाइदाहरु हुन् ।
अझ बढेर भन्नुपर्दा यसले राजनीतिक अभियानहरु गर्न र एक हदसम्म आन्दोलन नै अगाडी बढाउन समेत सघाएको छ । जसको पछिल्लो उदाहरण अरब राष्ट्रहरुमा भएका अन्दोलनमा स्पष्ट रुपमा देखिएको छ । ट्युनिशिया र इजिप्टमा भएका आन्दोलनमा ट्वीटरले प्रमुख भूमिका खेलेको भनेर मुल्याङ्कन गरिएको छ । यसका थुप्रै सकारात्मक पक्ष छन् जसको पर्याप्त चर्चा धेरै ठाउँमा भइसकेको छ ।
सामाजिक मिडिया प्रयोगका केही नकारात्मक पक्षहरु पनि छन् । सामाजिक मिडिया प्रयोग गर्दै जाँदा नशा लाग्न सक्ने अवस्था एउटा प्रमुख नकारात्मक पक्ष हो ।
सामाजिक मिडिया पनि मालसामानको बिज्ञापन गराउने माध्यमको रुपमा विकसित हुँदै गैरहेको तथ्यतर्फ पनि सचेत हुन जरुरी छ । फेसबुकले आफ्नो आम्दानीको ठुलो हिस्सा विज्ञापनबाट प्राप्त गर्दछ । विभिन्न गेमहरुको नाममा पनि यसले कुनै न कुनै रुपमा मालसामानको बारेमा विज्ञापन गरिरहेको हुन्छ । वा कुनै वस्तु प्रयोग गरिरहन अभ्यस्त बनाएर बस्तु उत्पादकहरुसित आम्दानी गरिरहेको हुन्छ । ट्वीटरले पनि सर्च गर्ने क्रममा निश्चित कम्पनीहरुका ट्वीट अगाडी राखेर आम्दानी गरिरहेको छ ।
तसर्थ सबै खाले सामाजिक मिडियालाइ सकेसम्म धेरै प्रयोगकर्ताहरु चाहिन्छन् र उनीहरुलाइ आकर्षित गरिरहन नयाँ नयाँ आविष्कारहरु गरिरहेका हुन्छन् । उनीहरुले विभिन्न सुविधाहरु प्रयोगकर्तालाइ दिएको भएता पनि प्रमुख उद्देश्य भने उनीहरुलाई उपभोक्तामा रुपान्तर गरेर उत्पादक कम्पनी र सामाजिक मिडिया दुवैको नाफा बढाउनु हो ।
सामाजिक मिडियाबाट अनियन्त्रित रुपमा सुचना प्रवाह भैरहने हुनाले सुचनाको अनावश्यक बोझ र फलस्वरुप अल्मलिने अवस्था पनि सिर्जना हुनसक्दछ ।
तर यी प्रभावबाट प्रयोगकर्तालाइ बचाउन यिनै सामाजिक मिडियामै केही व्यक्ति र समुह जमेर लागेका छन् जसलाइ विशेष गरी ट्वीटर प्रयोगकर्ताहरुले Follow गर्न म सुझाउँछु । यी अकाउन्टहरुले सोसल मिडिया प्रयोगलगायत समाजमा हुने अनेक विकृत प्रवृत्तिहरुविरुद्ध नियमित रुपमा तपाइलाइ सम्झाइरहन्छन् कि तपाइ सामाजिक मिडियाका नकारात्मक असर पनि हुन सक्दछन् ।
तिनको छोटो जानकारी पनि दिएको छु आफुलाई इच्छा लागेको अकाउन्ट Follow गर्न सक्नुहुन्छ । बाँकी कुरा Follow गरेपछि आफै थाहा पाउनुहुनेछ । Follow गरेपछि ती अकाउन्टका ट्वीटहरु मन पर्यो भने रिट्वीट गर्नुस् जसले गर्दा आफ्ना फलोअरहरुले पनि सोबारे जानकारी पाउन सक्छन् ।
@AntiWarProtests  संसारमा हुने कुनै पनि लडाइको विरोध । यो समुहले लडाइ र हतियारका नाममा हुने अरबौ डलर मानव हितका लागि खर्च गर्न अग्रह गर्दछ ।
wikileaks अमेरिकी विदेश मन्त्रालय र सेवाका लाखौ गोप्य केवलहरु लिक गरेर चर्चामा आएको विकिलिक्सले सरकारहरुलाइ आफ्ना निर्णय र व्यवहारमा पारदर्शी रहन सधै खबरदारी गर्दै आइरहेको छ । यसको ध्यान अन्य देशका सरकारहरुतर्फ पनि खिचिएको छ ।
InjusticeFacts ‍संसारमा भएका असमानताहरुबारे तथ्यहरु नियमित रुपमा बाहिर ल्याएर हामीलाइ झक्झकाइरहन्छ कि यहाँ कति असमानता छन् ।
_TheBankers_ संसारमा बैकहरुले ऋण दिने नाममा कसरी श्रमजीवीहरुलाइ गुलाम र एउटा औजारमा रुपान्तरित गरेका छन् भन्ने बारे आकर्षक प्रस्तुतीहरु यो अकाउन्टले गर्ने गर्दछ ।
NoamChomski आमसञ्चार माध्यमले सधै धनी र कुलीन वर्गको मात्र हीत गर्दछ भनेर आलोचना गर्ने विद्धान चोम्स्कीले नियमित रुपमा यसका नकारात्मक पक्ष र प्रभावबारे नियमित रुपमा सचेत गराइरहन्छन् ।
ActivismTips यदि तपाइ राजनीति वा समाजिक अन्दोलन गर्ने शुरमा हुनुहुन्छ भने यो अकाउन्टले मानिसहरुलाइ कसरी संगठित गर्ने भन्नेबारे टिप्स दिइरहन्छ । The_Activists यो अकाउन्टले भने तपाई कसरी अभियन्ता बनिरहन सक्नुहुन्छ भन्न् टिप्स दिन्छ ।
QuoteRevolution क्रान्तिकारी भनाइहरु ।
The_PoliceState सुरक्षाव्यवस्थाको नाममा कसरी आधुनिक राज्यले परिवर्तनकामी र क्रान्तिकारी आवाजहरुलाइ दमन गर्छ भन्नेबारे नियमित अपडेट ।
taslimanasreen विश्व प्रसिद्ध र अत्यन्त विवादास्पद लेखिका तसलीमा नसरीनको यो अकाउन्ट फलो गर्दा तपाइलाइ लाग्नसक्छ उनी एक हदसम्म अराजक पनि छन् । तर उनले महिला मुक्तिको पक्षमा गर्ने ट्वीट र आवाजहरु हेरेपछि तपाइ आफै थाहा पाउनुहुनेछ कि उनी किन अराजक भइन् । उनका थुप्रै आलोचक पनि छन् तर मलाइ सोध्नुहुन्छ भने महिलाको पक्षमा अवाज उठाउने यस्तो आवाज पनि चाहिन्छ जसले कुनै धाकबिना महिलाले व्यहोर्ने उत्पीडन र उनीहरुका भावनाहरुलाई स्पष्टताका साथ उठाउन सकोस् ।
OverConsumption संसारमा हुने असमानताका कारण धनीले धेरै खाएर बोसो घटाउन योगा वा शारिरिक अभ्यास गर्नुपर्ने अवस्था एकातर्फ छ भने अर्कोतर्फ कैयौ मानिस खान नपाएर भोकभोकै मर्नुपर्ने वा कुपोषित हुनुपर्ने अवस्था पनि छ । यो अकाउन्टले यस्ता असमानताहरुबारे हामीलाइ सतर्क गराइरहन्छ र स्रोतको समान वितरणका लागि झक्झकाइरहन्छ ।
_Capitalism_ पुँजीवाद सिर्जित् असमानता र यसका नकारात्मक पक्षहरुबारे नियमित रुपमा सचेतना जगाइरहन ।
BoycottBoat संसारमा कुनकुन कुराले कस्ता असमानता र विकृतिहरु सिर्जना गर्दैछन् भन्नेबारे जानकारी दिँदै तिनलाइ बहिस्कार गर्न अग्रह ।
tehelkadotcom भारतीय मुलधारका मिडियामा नआएका आलोचनात्मक समाचारहरुका लागि विभिन्न समयमा ठुला भ्रष्टाचार काण्डको समेत पर्दाफास गर्न सफल तहल्का डटकमले ट्वीटरमार्फत समेत आफ्ना समाचार प्रभावकारी रुपमा जनतासमक्ष पुर्याइरहेको छ ।
Occupy Wallstreet: सन् २०११ मा अकुपाइ (कब्जा गरौ) भन्ने शव्द अमेरिकामा ज्यादै चर्चित रह्यो । भाषाशास्त्रीहरुले त २०११ को वर्ष शव्द नै यसलाइ बनाइदिए । अमेरिकामा आर्थिक मन्दीका कारण सिर्जित बेरोजगारी र वर्षौको विभेदद्धारा सिर्जित असमानताका कारण वर्षको मध्य तिरबाट वालस्ट्रिट कब्जा गरौ भन्ने नाराका साथ शुरु भएको यो आन्दोलन अझै पनि जारी छ र अमेरिका र युरोपका अन्य शहरहरुमा समेत फैलिएको छ । उनीहरुले केके गर्दैछन् र राजनीतिक आन्दोलनमा ट्वीटरलाइ कसरी प्रयोग गरिन्छ भनेर जान्न समेत यी केही अकाउन्टहरु फलो गर्दा फाइदा नै हुने देखिन्छ :
This article is also posted in MeroReport. Click here to follow the comments in MeroReport.

2 comments:

  1. तपाईं को बिचार ठीक लाग्यो, तर एउटा कुरा सोधछु है, बिज्ञापन बिन कुनै पनि संचार मध्यम कसरी चल्न सक्छ? केही उपाये छ?

    ReplyDelete
  2. विज्ञापन बिना त कुनै पनि सञ्चार माध्यम टिक्दैन । तर त्यसलाई समाचारको मुल्यसित सट्टा गर्नु भएन भन्ने तर्क हो । जति पनि विज्ञापनबाट आम्दानी गर्छन् त्यसबारे उपभोक्तालाई पनि जानकारी दिनुपर्यो ।

    ReplyDelete