सुन्दर नैनीताल |
यो सत्य हेर्न एकपटक भारतको ग्रामीण र पहाडी क्षेत्र घुम्न जाने इच्छा थियो । संयोगवश केही महिनाअघि पश्चिम भारतको उत्तराखण्डका केही गाउँहरु घुम्ने अवसर मिल्यो । त्यहाँ घुमिरहँदा भने मेरो मानस पटलमा भारतको ग्रामीण समुदायको जुन चित्र बनेको थियो, त्योभन्दा बिल्कुल भिन्न अनुभव हुन पुग्यो ।
महाकाली सन्धिका छिटा
महेन्द्रनगरबाट विवादास्पद महाकालीको एकतर्फी पुल तरेर बनबासा बजार पुग्दासाथ चित्र अर्कै देखिन थाल्दछ । सीमा नदी मानिएको महाकाली नदीको पानीको वितरण देखेर कुनै पनि नेपालीको मन किन खिन्न नहोला र ! नेपालतर्फ सिंचाईको लागि एउटा सानो नहरबाट पानी ल्याइएको छ भने भारततर्फ एउटा ठुलो नदी जत्रै नहरमा नेपालतर्फ भन्दा ५,६ गुना बढी पानी लगिएको छ । त्यो देखेपछि वास्तवमा महाकाली सन्धिताका नेपाल ठगिएको छ भन्ने अनुमान सामान्य नेपालीले पनि लगाउन सक्दछ । त्यही कारण नै हुनुपर्दछ, नदीको वाँडफाँडको आधारबारे सोधखोज नै नगरी महाकाली सन्धि राष्ट्रघाती नै थियो भन्ने आमधारणा नेपालमा बनेको छ ।
त्यो पानीको असमान वितरणको प्रभाव भारतीय भूमीतर्फ अगाडी बढ्दै जाँदा स्पष्ट हुन्छ । नेपालतर्फ कञ्चनपुरको जमीन धेरैजसो उजाड देखेर अगाडि बढेपछि भारततर्फ सिंचाइ प्राप्त भएकोले ठुल्ठुला समथर फाँटहरु हराभरा र सिञ्चित देखिन्छन् । वास्तवमा भारतको आर्थिक वृद्धि त्यहाँको ग्रामीण क्षेत्र वा कृषि क्षेत्रको विकास नभई सम्भव भएको हैन भन्न करै लाग्दछ ।
त्यहाँ कृषिको यस्तो आधुनिकीकरण गरिएको छ कि ठुल्ठुला फाँटहरुमा भर्खरै गहुँ भित्र्याउने तयारी भइरहेको छ, गहुँ काट्नको लागि पनि मेशिनकै प्रयोग भएको छ र भित्र्याउनको लागि थ्रेशरको प्रयोग भएको छ । गहुँका ठुटामा डढेलो लगाएर फेरी अर्को बाली – वर्षे धान लगाउने तयारी भैरहेको छ । यो सबैका लागि खेती प्रणालीको आधुनिकीकरणका साथै उपलब्ध सिंचाइको कारणले पनि सम्भव भएको हो ।
त्यहाँको खेतहरु हेर्दै अगाडी बढ्दा अर्को रमाइलो पक्ष के देखिन्छ भने फाँटहरुको बिचमा गहुँसँगै सिसौका रुखहरु पनि लगाइएको छ । सम्भवतः ट्रयाक्टर लगाउन कठीन नहोस् भनेर ठाडो र तेस्रो दुवै तर्फबाट बराबर फरकमा लगाइएका रुखहरुले अनौठो दृश्य सिर्जना गर्दछन् । सम्भवतः सिसौले आवश्यक पानी पनि भण्डारण गरिराख्ने र त्यसका पतिङ्गरले मल पनि बनाइराख्ने कारणले यसो गरिएको हुनुपर्दछ । यो दृश्य मेरा लागि बिल्कुलै नौलो थियो ।
बिकासको गति
चौडा र सुन्दर सडकमा तीव्र रफ्तारमा अगाडी बढ्दै जाँदा भारतको तीव्र आर्थिक वृद्धिको गति पनि थाहा पाउन सकिन्छ । पश्चिम देहरादुनतर्फ अगाडी बढ्दै जाँदा भारतले गरेका थप चमत्कारहरु देखिन्छन् – औद्योगीकरण । कृषिमा आधारित मैदा मिल, खाद्य उद्योग, कागज उद्योग आदि सडकको दायाँबायाँ देखिन्छन् । केही उद्योगहरु बनिरहेका छन् । वास्तवमा भारतको आर्थिक वृद्धिको कारण बैंगलोर, मुम्बई वा दिल्लीमात्र हो भन्नु भ्रममात्र हो । औद्योगिकीकरणले कृषिमा आधारित जनताको जीवनस्तर छुन नसके त्यो दिगो हुँदैन । भारत त्यसप्रति सचेत देखिन्छ ।
बिकासका अन्य पुर्वाधारका रुपमा रेल्वे बिस्तारको क्रममा छ । शहरहरु बिस्तार भइरहेका छन् । इन्जिनियरिङ र मेडिकल डिग्री पढाउने कलेजहरु क्षणक्षणमै देखिन्छन् । सरकारी अस्पताल, रेल स्टेशन आदि सँगसँगै सिंचाइका अन्य योजनाहरु पनि देखिन्छन् । बाटोको किनारै किनार अर्थात समानान्तर रुपमा ठुल्ठुला नहरहरु पनि सँगसँगै अगाडि बढ्दछन् । नानकमत्ता भन्ने ठाउँमा एउटा ठुलो नदीलाई थुनेर कैयौं बर्गकिलोमिटर चौडा रिजर्भोयर बनाइएको छ । यसले एउटा ठुलो ताल नै बनाएको छ । केही हेक्टर जमीन डुबाएर अर्को हजारौं हेक्टर जमीनमा सिंचाइ हुन सक्दोरहेछ र केवल खाँचो दुरदृश्टिको छ भन्ने यसले देखाउँछ ।
अर्को इष्र्या लाग्ने पक्ष भनेको उत्तराखण्डको सार्वजनिक यातायात हो । त्यहाँ सरकारी बस वा रेल उपलब्ध नभएको अवस्थामा मात्र दोस्रो विकल्पको रुपमा निजी सवारी रहेका छन् । लोकल बस नै चढे पनि परिचालकले सीटमै आएर नम्रपुर्वक टिकट दिन्छ र पैसा लिन्छ । एक पैसा पनि ठग्दैन । बस चढ्ने यात्रुहरु पनि नेपालका सीमावर्ती भारतीय राज्यहरु बिहार र उत्तर प्रदेशका भन्दा धेरै अनुशासित छन् । ठगीचोरीको समस्या पनि कम छ ।
अत्यन्त कौतुहल लागेर बसका चालक र परिचालकको तलब सुविधाबारे सोध्न पुग्दा म विश्मित हुन पुगें । सञ्चयकोष, मेडिकल र इन्स्योरेन्स सुविधाबाहेक चालकको मासिक तलब ३० हजार र परिचालकको १२ हजार भारु हुँदो रहेछ । तसर्थ नेपालमा अल्लारे केटाहरुको कब्जामा रहेका सार्वजनिक बसका स्टेयरिङमा त्यहाँ भने पाका र अनुभवी व्यक्तिहरु देखिन्छन् । फलस्वरुप दुर्घटना पनि कम हुन्छन् ।
त्यहाँका सरकारी बस चढेर अगाडी बढ्दै जाँदा नेपालको मृत साझा यातायात सम्झन बाध्य भइन्छ । १० वर्ष अघिसम्म पनि साझा यातायात नेपालको सबैभन्दा भरपर्दो सार्वजनिक यातायात थियो । नाफामा गइरहेको बस सेवा एकाएक घाटामा गयो । केही मन्त्रीहरु, अथवा उनीहरुका कार्यकर्ताहरुले यातायातमा लगानी गर्र्दै थिए । त्यसको पहिलो पुर्वाधार साझा यातायातलाई डुबाउनु थियो र राज्यका महत्वपुर्ण निकायमा रहेर उनीहरुले अत्यन्त सचेतताका साथ साझा यातायातलाई टाट बनाए र आफ्नो दुनो सोझ्याए ।
अहिले साझा यातायात इतिहास जस्तै बनेको छ । साझा यातायातका कर्मचारीहरुले पनि त्यसलाई मौन स्वीकृतिमात्र दिएनन्, त्यसका मतियार पनि बने । अहिले उनीहरु घर जलिसकेपछि खरानीको भागवण्डा गरिरहेका होलान् ।
कल्याणकारी व्यवस्था
भारतले गरिरहेको आर्थिक वृद्धि र त्यसले अवलम्वन गरिरहेको उदार आर्थिक व्यवस्थालाई प्रशंसा गरेर नथाक्ने बुद्धिजिवी र अर्थशास्त्रीहरुको जमातले भारतले अवलम्वन गरिरहेका केही कल्याणकारी उपायहरुबारे भने चटक्कै बिर्सने गरेका छन् । यी कल्याणकारी योजनाहरु सबै राज्यमा समान छैनन् तर हरेक राज्यमा कुनै न कुनै यस्ता योजनाहरु लागु भएका छन् । त्यहाँ सरकारी संस्थान भारतीय आयल कर्पोरेशनको आधिपत्य रहेको छ भने नेपालमा नेपाल आयल निगमलाई निजीकरण नगरी भएकै छैन ।
एअर इण्डिया त्यहाँको सबैभन्दा ठुलो बायुसेवा हो (त्यहाँ पनि केही निजी कम्पनीहरुको प्रभावमा एअर इण्डियालाई टाट बनाउने प्रयास भइरहेका छन्), हाम्रोमा नेपाल वायुसेवा निगमलाई निजीकरण नगरी हाम्रा अर्थशास्त्रीहरुलाई भएकै छैन । भारत सरकार स्वामित्वको बिएसएनएल त्यहाँको सबैभन्दा ठुलो टेलिफोन सेवा प्रदायक हो, हामीकहाँको नाफामा गइरहेको नेपाल टेलिकमलाई त निजीकरणका लागि विदेशी साझेदार खोज्ने प्रयास पनि अगाडि बढिसक्यो ।
उदारवादी अर्थव्यवस्थामा बिश्वास गर्नेहरुले समाजवादका राम्रा पक्षहरुबारे उच्चारण नै गर्न नरुचाउने कारणले बास्तवमा नेपालको बिकास हुन नसकेको हो, नपत्याए टाढा जानु पर्दैन, भारतकै केही गाउँ डुले पुग्छ । हामी भारतको आलोचना गर्दागर्दै उ धेरै अगाडी निक्लिसक्यो । कम्तीमा हामीले निकृष्ट पद्धति मानेर घृणा गर्ने गरेको बिहार समेत प्रगतिको बाटोमा यति अगाडी बढ्यो कि केही वर्षमा बिहारीहरुले हामीसँग तुलना गर्दा त्यस्तै घृणा गर्नेछन्, शायद । बिरोध गर्नमात्र जान्ने नेपाली राजनीतिज्ञहरुले भारतले गरेका राम्रा कुराहरुबाट कहिले सिक्न थाल्ने?
No comments:
Post a Comment