Tuesday, June 19, 2012

त्यो आशा रहेन अब

त्यो आशा अब बाँकी रहेन । बाँचुन्जेल भेट्ने मौका सार्दैसार्दै लगियो । यो पटकचाहिँ एक महिनापछि उहाँलाई भेट्न जान्छु भन्ने थियो । तर दुःखद कुरा अब उहाँ नै रहनुभएन । मेरो रहर त्यसै रह्यो । त्योभन्दा ठुलो रहर मेरी हजुरआमाको थियो शायद छोरीज्वाईँ र नातिनातिनीलाई अन्तिमपटक भए पनि भेट्ने । तर यो रहर लिएरै उहाँ बित्नुभयो । यति एउटा रहर पनि हामीले पुरा गरिदिन सकेनौँ । मलाई यो कुराले जिन्दगीभर पीडा दिने छ ।

ज्युँदो छन्जेल यति एउटा कुरा त गर्न सकिएन । मरिसकेपछिको जीवनमा उहाँको आत्मालाई शान्ति होस् भन्नुको पनि कुनै अर्थ रहेन । अहिले सबैभन्दा पीडामा मेरी आमा हुनुहुन्छ जसले आफ्नै आमा गुमाउनुभएको छ । तर मैले आमालाई पनि केही भन्न सक्दिनँ किनकि उहाँलाई पनि मैले एकपटक पर्वतको फलेवास पुगेर हजुरआमालाई भेटेर आउनेछु भन्ने बचन दिएर झुक्याएको थिएँ ।
मेरी हजुरआमा । ८० वर्षको उमेरसम्म एउटा पीडाको जीवन बाँच्नुभयो । उस जमानामा छोरा नपाएकोले धेरैले घृणा गरेका थिए । तीन बहिनी छोरी, बिहे भइसकेपछि सबै आआफ्नै घर गए । हजुरआमा एक्लै पर्नुभयो । यो एक्लो अवस्था र छोरा नपाएकोमा समाजबाट हुने असुरक्षा र घृणा सहेरै बस्नुभयो उहाँ । बिहे भएको लामो समयपछि कान्छी छोरी हाम्री आमाले छोटोछोटो अन्तरमा ४ जना छोराछोरी पाउनुभयो । त्यसपछि आमालाई पनि सघाउने उद्देश्यले उहाँ हाम्रोमा केही समय बस्नुभयो । छोराछोरी पाल्ने बाटो गर्न बुवाले एउटा पसल राख्नुभएको थियो र धेरैजसो समय आमा पनि पसलमै व्यस्त रहनुपर्थ्यो । हामी चारै जनालाई उहाँले सम्हाल्नुहुन्थ्यो । हामीले उहाँलाई यति धेरै दुःख दिन्थ्यौँ कि त्यो चुपचाप सहेर उहाँले हाम्रो लालनपालनमा लाग्नुभयो ।

झण्डै १० वर्षजति उहाँको हेरचाहमा हुर्क्यौँ हामी । त्यसपछि उहाँ पनि लौ छोरीको घरमा मर्नुहुन्न भन्छन् म बुढीको के भर छ र भन्दै आफ्नै घर फर्कनुभयो । हामीले चाहेर पनि उहाँ हामीसँग बस्नुभएन । त्यसपछि थोरै खेतबाट आएको सानो आम्दानी र वृद्ध भत्ताको भरमा उहाँ झण्डै १५ वर्ष अरु बाँच्नुभयो तर छोरा नभएकोले नै हुनुपर्छ उहाँमा भविष्यप्रति अनौठो प्रकारको असुरक्षाको भाव थियो ।

जीवनमा भौतिक उद्देश्यका पछि यति धेरै लागियो कि फर्केर एकपटक हजुरआमालाई बोलाउन जान पनि सकिएन । झण्डै ४ वर्षअघि उहाँलाई भेटेको थिएँ । उहाँले वृद्ध भत्ताबाटै बचाएको केही पैसा मेरो हातमा थमाइदिनुभएको थियो । मैला नाईँ भन्दाभन्दै पनि त्यो नलिइ धर पाएको थिइनँ । त्यसपछि फोन गर्न पनि मलाई हतारै भैरह्यो । पछिल्लो पटक कहिले फोन गरेको थिएँ भन्ने पनि मलाई अहिले याद छैन । अब मलाई फुर्सद भएपनि उहाँसँग कुरा गर्न म सक्दिन । चाहेर पनि भेट्न सक्दिन । उहाँ नै नरहेपछि यी शव्द पनि प्रयोजनविहीन छन् तर एउटा श्रद्धाञ्जली लेखेको थिएँ भनेर आफैँसँग भाग्ने प्रयास गर्दैछु शायद ।

No comments:

Post a Comment