Tuesday, September 2, 2025

Stopping By Woods on a Snowy Evening and The Road Not Taken by Robert Frost

#TheIDKPodcast को छैटौं अंकमा प्रस्तुत छ अँग्रेजी कवि रोबर्ट फ्रस्टका दुई कविताहरुको नेपाली अनुवाद । यी कविताहरुलाई युट्युबमा यहाँ हेर्न सक्नुहुन्छ, अनुदित पाठ तल दिइएको छ ।

हिउँ परेको साँझमा झाडीमा रोकिँदा (Stopping By Woods on a Snowy Evening)                  

                                                            रोबर्ट फ्रस्ट

                                                            अनुवादः इन्द्रध्वज क्षेत्री


यी झाडी कसका हुन्, मलाई लाग्छ, म चिन्छु,

उसको घर छ शायद उता गाउँमा

उसले देख्ने छैन म रोकिएको यहाँ,

उसका यी झाडीहरुमा हिउँले भरिएको हेर्न ।

 

मेरो सानो घोडालाई लागेको हुनुपर्छ अनौठो,

नजिकै कुनै गोठघर नहुँदा पनि रोकिनु;

जङ्गल र जमेको तालको बीचमा,

वर्षकै सबैभन्दा अँध्यारो साँझमा।

 

उसले घाँटीको घन्टी हलाउँछ,

भुल भयो कि कतै भनेर सोध्न  ।

अर्को आवाज त केवल सुस्त बतासको,

र नरम हिउँका कणको सरसराहटको।

 

यी झाडी सुन्दर छन्, गाढा र अँध्यारो,

तर मैले थाम्नु छ वचन आफ्नो

सुत्नुअघि नै जानु छ कैयौं कोश,

सुत्नुअघि नै जानु छ कैयौं कोश।


नहिँडेको बाटो (The Road Not Taken)

रोबर्ट फ्रस्ट

अनुवादः इन्द्रध्वज क्षेत्री

पतझड जंगलको बिचमा बाटो फाटेर दुई भए,

र, मलाई दुःख छ, म दुवै बाटो हिंड्न सक्दिनँ

र, एक यात्रीको रूपमा, म धेरैबेरसम्म उभिएँ

र, एउटा बाटोलाई हेरेँ जहाँसम्म मेरो नजरले भ्याउँछ

जहाँसम्म त्यो झाडीमा मोडिएर बिलाउँछ;

 

त्यसपछि मैले अर्को बाटो हेरें, जुन पनि उतिकै राम्रो थियो,

र सायद अझ राम्रो यसको दाबी थियो,

किनकि त्यो घाँसे थियो र माडिन चाहेको थियो;

यद्यपि पदचापले माडिने सवालमा, दुइटै करिब उस्तै थिए,

र त्यो बिहान दुइटै बाटो, उसरी नै पसारिएका थिए

पातहरूमा थिएन कुनै पदचापको कालो दाग

 

ओहो, मैले पहिलो बाटो अर्को दिनको लागि राखेँ!

मलाई थाहा थियो कसरी एउटा बाटोले अर्कोमा डोर्‍याउँछ,

मलाई शंका थियो कि म कहिल्यै फर्केर आउनेछु।

म यो कुरा एक दिन खुशीसाथ भन्नेछु कतै युगौँयुग पछि:

जंगलको बिचमा दुई बाटोहरू अलग भए, र म—

मैले त्यो बाटो लिएँ जसमा कम हिँडिएको थियो,

र त्यसैले नै हो यो सबै फरक पारेको ।

Wednesday, July 30, 2025

Mr. Know-All अर्थात अजासु महाशय

#TheIDKPodcast को चौथो अंकमा प्रस्तुत छ अँग्रेजी कथाकार, उपन्यासकार, नाटककार विलियम समरसेट मउमको कथा Mr Know-All को नेपाली अनुवाद ।
कथाको अनुवा प्रस्तुत गरेको छु । यो कथालाई युट्युबमा यहाँ हेर्न सक्नुहुन्छः

म म्याक्स केलडालाई चिन्नु अघि नै उसलाई मन नपराउन तयार थिएँ । युद्ध भर्खरै सकिएको थियो र समुद्री यात्रामा जान जहाजहरूमा यात्रुहरूको भारी भीड थियो । आवासीय सिट पाउन धेरै गाह्रो थियो । र, दलालहरूले जे प्रस्ताव गरे पनि तपाईंले सहनुपर्ने थियो । तपाईं आफ्नो लागि मात्रै एउटा क्याबिनको आशा गर्न सक्नुहुन्नथ्यो । र, म एउटा यस्तो क्याबिन पाएकोमा आभारी थिएँ जसमा दुईवटा मात्र सिट थिए । तर जब मलाई मेरो साथीको नाम बताइयो मेरो मुटु झण्डै रोकियो । यसले जहाजका ढोकाहरु बन्द गर्न र रातको हावालाई बलियो गरी छेक्न सुझाव दियो । म सान फ्रान्सिस्कोबाट योकोहामा जाँदै थिएँ । कसैसँग चौध दिनसम्म क्याबिनमा सँगै बस्नु नै पर्याप्त खराब थियो । यद्यपि मेरो सहयात्रीको नाम स्मिथ वा ब्राउन भएको भए म त्यसलाई कम निराशाले हेर्ने थिएँ  ।

जब म जहाजमा चढें, मैले केलडाको सामान पहिले नै भुइँमा राखिएको पाएँ । मलाई यसको रूप मन परेन; सुटकेसहरूमा धेरै चिन्हहरू थिए, र कपडा राख्ने बाकस पनि ठूलो थियो । उसले आफ्नो सरसफाइका सामानहरू खोलेको थियो । मैले लुगा धुने स्ट्यान्डमा अत्तर, स्याम्पु र कपालमा लगाउने सुगन्धित जेल देखेँ  । उ त मोंस कोटीका सौन्दर्य सामग्रीको ठुलो संरक्षक रहेछ ।

सुनौलो मोनोग्राम खोपिएका केलाडाका गाढा रंगका ब्रसहरु भुइँ घोट्नका लागि अझ उत्तम हुने थिए । मलाई केलडा पटक्कै मन परेन । त्यसैले म धूम्रपान गर्ने कोठामा गएँ । तासको गड्डी मगाएँ र धैर्य गर्न थालें ।

मैले सुरु गरेको पनि थिइनँ, एक जना मान्छे मेरो नजिक आएर सोध्यो कि उसले मेरो नाम फलानो हो भनेर सोच्नु सही हो?

"म केलाडा," उसले चम्किरहेका दाँत देखिने गरि मुस्काउँदै बस्यो ।

"अहो, हो नि, मलाई लाग्छ हामी एउटै क्याबिन सेयर गर्दैछौं ।"

"म त भन्छु यो मेरो सौभाग्य हो । कोसँग राखिनेछ भनेर आफुलाई कहिल्यै थाहै हुँदैन । तपाइँ अंग्रेज भएको सुन्दा म धेरै प्रसन्न भएँ । मलाई त विदेशमा हुँदा हामी सबै अँग्रेजहरु सँगै हुनुपर्छ भन्ने लाग्छ । तपाइँले बुझ्नु भयो नि मेरो मतलब । "

मैले आँखा झिम्क्याएँ ।

"के तिमी अङ्ग्रेज हौ?" मैले सोधें, सायद चलाखीपूर्वक ।

"हो नि । म अमेरिकी जस्तो  त देखिन्न नि? कि तपाइँलाई त्यस्तो लाग्छ र? म त पुरै ब्रिटिश हुँ नि ।"

यसलाई प्रमाणित गर्न केलाडाले आफ्नो खल्तीबाट राहदानी निकाल्यो र मेरो नाकै मुनि फर्फरायो ।

महाराज जर्जका पनि  अनौठा प्रजाहरू छन् । केलाडा होचो र बलिष्ठ थियो, सफाचट दारी फालेको, श्याम वर्णको । उसको नाक मासु थुप्रिएको र बाङ्गो थियो । आँखा ठूला चमकदार र चञ्चल थिए । उसको कपाल लामो र घुम्रे थियो । उ धाराप्रवाह बोल्थ्यो जसमा ब्रिटिश केही थिएन र उसका हाउभाउ चञ्चल थिए । मलाई पक्का थियो कि त्यो ब्रिटिश राहदानीलाई गहिरोसित नियाल्ने हो भने केलाडा इङ्गल्याण्डमा सामान्यतया देखिने भन्दा नीलो आकाशमुनि जन्मेका थिए भन्ने तथ्य प्रष्ट हुने थियो ।

"तपाइँले के लिनुहुन्छ?" उसले मलाई सोध्यो ।

मैले उसलाई शंकास्पद नजरले हेरेँ । त्यो समय पानीजहाजमा बाहिर निस्कन बन्देज लगाइएको थियो । र, जे देखिइरहेको छ, त्यो पुरै सुख्खा थियो । जब म तिर्खाएको हुँदिनँ, मलाई के मन पर्छ भन्ने नै थाहा पाउँदिन । जस्तै, अदुवाको रक्सी वा कागतीको जुस । तर केलाडाले मलाई हेरेर कुटील मुस्कान छोड्यो ।

"व्हिस्की र सोडा वा ड्राइ मार्टिनी, तपाईंले केवल भन्नु मात्रै पर्छ ।"

उसले आफ्नो कम्मरको प्रत्येक खल्तीबाट एउटा फ्लास्क निकालेर मेरो अगाडि टेबलमा राख्यो । मैले मार्टिनी रोजें, र उसले परिचारकलाई बोलाएर एक तुम्लेट बरफ र दुईवटा गिलास मगायो ।

"धेरै राम्रो ककटेल," मैले भने।

"हेर्नुस्, मसँग अझै धेरै छन् । यदि जहाजमा तपाईंका अरु कुनै साथी छन् भने उनीहरूलाई भन्नुस् कि तपाईंको एउटा साथी छ जोसँग संसारको सबैखाले रक्सी छ ।"

केलाडा खुब गफाडी थियो । उसले न्युयोर्क र सान फ्रान्सिस्कोको बारेमा कुरा गर्थ्यो । उसले नाटक, चित्रहरु र राजनीतिको बारेमा कुरा गर्थ्यो । उ देशभक्त थियो । ब्रिटिश झण्डा एक प्रभावशाली ध्वजा हो, तर जब यसको अलेक्जान्ड्रिया वा बेरुतका कुनै सज्जनले प्रशंसा गर्छन्, म यसको गरिमा केही हदसम्म गुम्छ भन्ने महसुस नगरी रहन सक्दिनँ । केलाडा यसबारे परिचित थियो । म यसलाई सार्वजनिक गर्न चाहन्नँ, तर जब उसले मलाई मेरो नामको अगाडि महाशय राखेर सम्बोधन गर्छ, म एकदमै अनौठो महसुस नगरीरहन सक्दिनँ । निस्सन्देह केलाडाले मलाई सहज बनाउन त्यस्तो औपचारिकता प्रयोग गरेन ।

तर पनि मलाई केलाडा मन परेन । उ बस्दा मैले तास छेउमा राखेको थिएँ ।  तर अब, पहिलो पटकको लागि हाम्रो कुराकानी पर्याप्त लामो समयसम्म चलेको ठानेर  म आफ्नो खेलमा लागें ।

"तीनमाथि चार राख्नुस्," केलाडाले भन्यो ।

सोलिटेयर खेलिरहेको बेला आफूले खोज्ने मौका पाउनु अघि नै उठाएको कार्ड कहाँ राख्ने भनेर भनिनु भन्दा बढी रिस उठाउने कुरा अरू केही हुँदैन ।

"आउँदैछ, आउँदैछ, दहलमाथि गुलाम !" उसले करायो ।

मनमा क्रोध र घृणाबिच मैले यो हातको खेल सकाएँ ।

त्यसपछि उसले त्यो तासको गड्डी कब्जा गर्यो ।

"के तपाईंलाई तासको जादु मन पर्छ?"

"अँ हँ, मलाई मन पर्दैन," मैले जवाफ दिएँ।

"ठीक छ, म तपाइँलाई एउटा चाहिँ देखाउँछु ।"

उसले मलाई तीनवटा देखायो । त्यसपछि मैले भनें कि म तल भोजन कक्षमा जान्छु र टेबलमा मेरो सिट ओगट्छु ।

"ओहो, त्यो त ठीक छ," उसले भन्यो, "मैले तपाइँको लागि पहिले नै सिट लिइसकेको छु । मैले सोचेँ कि हामी एउटै स्टेटरूममा भएकाले एउटै टेबुलमा बस्नु राम्रो हुन्छ ।"

मलाई केलाडा मन परेन ।

मैले उसँग एउटै क्याबिनमा मात्रै बसिनँ, एउटै टेबलमा दिनको तीन पटक खाना खाएँ । तर उ साथ नलाइ म डेक वरिपरि हिंड्न समेत सक्दिनथें । उसलाई बेवास्ता गर्न असम्भव थियो । उसलाई मैले चाहन्नँ भन्ने उसलाई कहिल्यै लागेन । मलाई देखेर उ जति खुशी छ, उसलाई देखेर म पनि त्यति नै खुसी छु भन्नेमा उ ढुक्क थियो । तिमीले आफ्नो घरमा उसलाई लात हानेर बाहिर निकालेर ढोका लगाए पनि उसले आफु अनिच्छित पाहुना हो भन्ने किञ्चित महसुस गर्ने थिएन । ऊ एकदमै घुलमिल हुने प्रकृतिको  थियो, र तीन दिनमा जहाजमा भएका सबैलाई चिन्थ्यो । उसले सबै कुरा चलायो । उसले सरसफाई व्यवस्थापन गर्‍यो, लिलामी सञ्चालन गर्‍यो, खेलकुदमा पुरस्कारको लागि पैसा सङ्कलन गर्‍यो, रिङ हान्ने र गल्फ खेलहरू खेल्ने व्यवस्था गर्यो, कन्सर्ट आयोजना गर्‍यो र फेन्सी-ड्रेस बलको व्यवस्था गर्‍यो। ऊ जताततै र सधैं थियो। ऊ जहाजमा पक्कै पनि उत्कृष्ट घृणित मानिस थियो । हामीले उसलाई अजासु अर्थात अति जान्ने सुन्ने भन्न थाल्यौं, उसकै अगाडि पनि । उसले त यसलाई प्रशंसाको रूपमा लियो । तर खाना खाने समयमा ऊ सबैभन्दा असह्य हुन्थ्यो । शुरुको एक घण्टा जति त हामी उसलाई सहन्थ्यौं । उ हार्दिक, हँसिलो, बोल्ने र तर्क गर्ने स्वभावको थियो । जे कुरा पनि अरुले भन्दा उसले नै धेरै जानेको थियो । यदि तपाईं असहमत हुनु भयो भने उसको उच्च अहंकारको अपमान थियो । तपाईंलाई आफुजस्तै सोच्ने तरिकामा नल्याएसम्म कुनै पनि विषय, जतिसुकै महत्वहीन किन नहोस्, उसले छोड्दैनथ्यो । उ गलत हुने सम्भावना पनि हुन्छ भन्ने उसलाई कहिल्यै लागेन । उ सर्वज्ञानी व्यक्ति थियो । हामी डाक्टरको टेबलमा बसेका थियौं । केलाडा निश्चित रुपमा आफ्नै पारामा हुनु पर्ने थियो । किनकि डाक्टर अल्छी पाराले सुस्ताइरहेका थिए । म एकदमै उदासीन थिएँ । तर, त्यहीँ रहेका रामसे नामक व्यक्ति भने केलाडा जस्तै हठी थिए र उसको दृढ विश्वासप्रति तिखो आक्रोश व्यक्त गर्थे । उनीहरूबिचका कुराकानी कटुतापुर्ण  र अनन्त थिए ।

रामसे अमेरिकी कन्सुलर सेवामा थिए र कोबेमा तैनाथ थिए । उनी अमेरिकाको मध्य पश्चिम भागबाट आएका धेरै मोटा व्यक्ति थिए, उनको कसिलो छालामुनि थ्यालथ्याले बोसो थियो, र उनी आफुले लगाएका रेडिमेड लुगाहरूबाट बाहिर निस्केजस्तो देखिन्थे । उनी एक वर्ष घरमा बिताएकी आफ्नी श्रीमतीलाई लिन न्यूयोर्क उडान गरेर आफ्नो कार्यक्षेत्रमा फर्किरहेका थिए । श्रीमती रामसे सानो गाँठीकी एकदम सुन्दर महिला थिइन् । उनको व्यवहार हँसिलो र मिठो थियो  । कन्सुलर सेवामा कम तलब थियो, र उनी सधैं सामान्य लुगा लगाउँथिन्; तर उनलाई आफ्नो लुगा कसरी लगाउने भन्ने थाहा थियो । उनले बिस्तारै आफ्नो विशिष्ट स्थान हासिल गरिन् । मैले उनलाई कुनै विशेष ध्यान दिनु हुँदैनथ्यो । तर उनीसँग एउटा गुण थियो जुन महिलाहरूमा सामान्य हुनु पर्ने हो, तर आजकलका महिलाहरूको व्यवहारमा त्यो स्पष्ट छैन । उनको यो गुणले सुनमा सुगन्ध थपेको  थियो ।

एक साँझ खाना खाने बेला कुराकानी संयोगवश मोतीको विषयमा केन्द्रित भयो । त्यो बेला धूर्त जापानीहरूले बनाइरहेका कृत्रिम मोतीहरूको बारेमा पत्रपत्रिकाहरूमा धेरै चर्चा भएको थियो । र, डाक्टरले टिप्पणी गरे कि त्यसले गर्दा पक्कै पनि वास्तविक मोतीहरूको महत्वमा कमी आउनेछ । तिनीहरू पहिले नै धेरै राम्रा थिए; चाँडै नै अझ उत्तम हुनेछन् । केलाडाले आफ्नो स्वभावबमोजिम यो नयाँ विषयमा पनि हतारिएर प्रवेश गरे । उनले हामीलाई मोतीहरूको बारेमा जान्नुपर्ने सबै कुरा बताए । मलाई लाग्दैन कि रामसेलाई तिनीहरूको बारेमा केही थाहा थियो, तर उनी त्यो उपबुज्रुकलाई प्रहार गर्ने अवसरलाई रोक्न सकेनन्, र पाँच मिनेटमै हामी चर्काचर्की बहसमा पुग्यौं । मैले केलाडालाई पहिले पनि उग्र र उत्तेजित देखेको थिएँ, तर अहिले जस्तो चर्को र कडारुपमा प्रस्तुत भएको देखेको थिइनँ । अन्ततः रामसेले भनेको केही कुराले उसलाई घोच्यो, किनकि उसले टेबलमा मुड्की बजार्यो र करायो ।

"ठीक छ, मलाई थाहा हुनुपर्छ, म के कुरा गर्दैछु । म जापानी मोती व्यवसायको बारेमा हेर्न जापान जाँदैछु । म यो व्यापारमा छु र मैले मोतीको बारेमा भनेको कुरा सही होइन भन्ने एकजना पनि छैन । मलाई संसारका सबै सुन्दर  मोतीहरूबारे थाहा छ, र मलाई मोतीको बारेमा जे थाहा छैन, त्यो जान्न लायक पनि छैन।"

हाम्रो लागि यो खबर थियो, किनकि केलाडाले सबै कुराकानीका बाबजुद पनि आफ्नो व्यवसाय के हो भनेर कसैलाई कहिल्यै भनेको थिएन । हामीलाई अस्पष्ट रूपमा थाहा थियो कि उ कुनै व्यावसायिक काममा जापान जाँदैछ । उसले टेबल वरिपरि विजयी भावले हेर्यो ।

"तिनीहरूले कहिल्यै पनि त्यस्तो कृत्रिम मोती पाउन सक्ने छैनन्, जुन म जस्तो विज्ञले आधा आँखाले नै भन्न नसकोस् ।" उसले श्रीमती रामसेले लगाएको मालातिर औंल्यायो र भन्यो, "मेरो कुरा मान्नुहोस्, श्रीमती रामसे, तपाईंले लगाउनुभएको त्यो मालाको मूल्य अहिलेको भन्दा एक पैसा पनि कम हुनेछैन ।"

श्रीमती रामसे आफ्नो विनयी स्वभावमा अलिकति लजाइन् र मोतीको मालालाई आफ्नो पहिरनभित्र घुसारिन् । रामसे अलिकति झुके र हामी सबैलाई हेरे । उनको आँखामा एक प्रकारको खुशी चम्कियो।

"यो मेरो श्रीमतीको त असली मोतीको माला हो नि, हैन?"

"यो त मैले तुरुन्तै याद गरें नि," जवाफमा केलाडाले भन्यो । "मैले आफैलाई भनें, आहा! यी त असली मोतीहरू हुन् नि ।"

"मैले यो आफैंले किनेको त होइन । तर यसको मूल्य कति पर्छ होला भनेर तिमीबाट जान्न म इच्छुक छु ।"

"ओहो, बजारमा सम्वतः पन्ध्र हजार डलर हाराहारी पर्छ होला । तर यदि यो फिफ्थ एभिन्यूमा किनिएको हो भने यसको लागि तीस हजार डलरसम्म तिरेको सुन्दा पनि मलाई अचम्म लाग्ने छैन ।"

रामसे अप्ठ्यारोसँग मुस्कुराए ।

"हामी न्युयोर्क छोड्नुभन्दा अघिल्लो दिन श्रीमती रामसेले यो माला एउटा डिपार्टमेन्ट स्टोरबाट जम्मा अठार डलरमा  किनेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ ।"

केलाडा रातोपिरो भयो ।

"हैट । यो वास्तविक मात्र होइन, मालाको आकारको लागि डोरी पनि मैले अहिलेसम्म देखेको मध्ये सबैभन्दा राम्रो हो ।"

"के यसमा बाजी थाप्ने त ? म सय डलरको बाजी थाप्छु कि यो नक्कली हो।"

"ल, हुन्छ । "

"ओहो, एल्मर, यस्तो निश्चित कुरामा पनि तिमी किन बाजी लगाउँछौ ?," श्रीमती रामसेले भनिन्।

उनको ओठमा अलिकति मुस्कान थियो र उनको स्वर बिस्तारै घट्दै गइरहेको थियो।

"किन सक्दिनँ ? सजिलै पैसा कमाउने यस्तो मौका मिल्दा पनि गुमाएँ भने म त मूर्खै भएँ नि ।"

"तर यो कसरी प्रमाणित गर्न सकिन्छ?" उनले जारी राखिन् । "यो त केलाडा र मेरो बोलीको भरमा मात्रै हुने भयो ।"

"मलाई माला हेर्न दिनुस्, र यदि यो नक्कली हो भने म उत्तिखेरै भनिहाल्छु । मलाई सय डलर गुमाउनु ठुलो कुरा होइन," केलाडाले भन्यो ।

"यसलाई फुकाल, प्रिय । यी सज्जनले जति चाहन्छन्, त्यति हेर्न देऊ ।"

श्रीमती रामसे एकछिन हिचकिचाइन् । उनले आफ्नो हात गाँठोमा राखिन् ।

"म यसलाई खोल्न सक्दिनँ," उनले भनिन्, "केलाडाले मेरो कुरामै विश्वास गर्नुपर्छ।"

मलाई अचानक केही दुर्भाग्यपूर्ण घटना हुन लागेको शंका लाग्यो, तर मैले केही भन्न सकिनँ ।

रामसे जुरुक्क उठ्यो । "म नै खोल्छु यसलाई ।"

उसले माला केलाडालाई दियो । त्यो उपबुज्रुकले आफ्नो खल्तीबाट म्याग्निफाइङ्ग ग्लास निकाल्यो र ध्यानपूर्वक जाँच्यो । उसको चिल्लो र कालो अनुहारमा विजयको मुस्कान फैलियो । उसले माला फिर्ता दियो। ऊ बोल्नै लागेको थियो । अचानक उसले श्रीमती रामसेको अनुहार देख्न पुग्यो । त्यो यति सेतो थियो कि उनी बेहोस हुन लागेजस्तो देखिन्थिन् । ऊनी तन्केका र डराएका आँखाले उसलाई हेरिरहेकी थिईन् । ती आँखाहरूले हताश भएर अनुरोध गरिरहेका थिए । यो यति स्पष्ट थियो कि उनका पतिले ख्याल नगरेकोमा मलाई आश्चर्य लाग्यो ।

केलाडा बोल्नको लागि मुख खोल्दाखोल्दै रोकियो । उसले नराम्रोसित अनुहार बिगार्यो  । उसले आफूलाई सम्हाल्न गरेको प्रयास लगभग ठम्याउन सकिन्थ्यो ।

"म गलत थिएँ," उसले भन्यो। "यो धेरै राम्रो नक्कल हो, मैले मेरो म्याग्निफाइङ्ग ग्लासबाट हेर्ने बित्तिकै थाहा पाएँ यो असली होइन । मलाई लाग्छ यो मुला नक्कली मालको मूल्य अठार डलर ठिकै हो।"

उसले आफ्नो खल्तीबाट सय डलरको नोट निकाल्यो र केही नबोली रामसेलाई दियो ।

"मेरो जवान मित्र, यसले तिमीलाई शायद अर्को पटकदेखि यति धेरै जिद्दी नहुनु भन्ने सिकाए होला," रामसेले नोट लिँदै भने ।

मैले याद गरें कि केलाडाका हातहरू काँपिरहेका थिए ।

अन्य कथाहरू जस्तै यो कथा पनि जहाजभरि फैलियो, र त्यो साँझ उसले धेरै अपमान सहनु पर्यो । मिस्टर अजासु पनि फसेको खबर सबैलाई राम्रो मजाक लाग्यो । तर श्रीमती रामसे भने टाउको दुखेर आफ्नो कोठामा फर्किइन् ।

भोलिपल्ट बिहान म उठेर दाह्री काट्न थालेँ । केलाडा आफ्नो ओछ्यानमा पल्टेर चुरोट तानिरहेको थियो । अचानक खस्रक्क आवाज आयो र मैले ढोकामुनिबाट एउटा चिठ्ठी धकेलिएको देखेँ । मैले ढोका खोलेर हेरेँ । तर, त्यहाँ कोही पनि थिएन । मैले चिठ्ठी उठाएँ । जुन म्याक्स केलाडालाई सम्बोधन गरिएको थियो । नाम ठूलठूला अक्षरहरूमा लेखिएको थियो । मैले त्यो चिठ्ठी उसलाई दिएँ।

"कसको होला यो?" उसले खोल्दै भन्यो । "ओहो!"

उसले खामबाट चिठ्ठी होइन, सय डलरको नोट निकाल्यो । उसले मलाई हेर्यो र फेरि रातोपिरो भयो । उसले खामलाई स-साना टुक्रामा च्यातेर मलाई दियो ।

"के यसलाई ढोकाबाहिर फाल्न सक्छौ?"

मैले उसले भनेअनुसार गरें, र मुस्कुराउँदै उसलाई हेरेँ ।

"कसैलाई पनि पटमूर्ख देखिन मन पर्दैन," उसले भन्यो ।

"के मोतीहरू असली थिए?"

"यदि मेरो पनि जवान र सुन्दर श्रीमती भएको भए आफु कोबेमा बस्दा उनलाई एक वर्षसम्म न्युयोर्कमा बिताउन दिँदैनथें," उसले भन्यो ।

त्यतिबेला भने मैले केलाडालाई पुरै घृणा गरिनँ । उसले आफ्नो खल्तीतिर हात बढायो र ध्यानपूर्वक सय डलरको नोट राख्यो ।

कथाको मुल पाठ यहाँ उपलब्ध छ ।