Monday, August 25, 2014

राष्ट्रवाद, राष्ट्रियता र राष्ट्रियतावाद

Picture Source: Privilege of privilege, The Kathmandu Post
यस लेखमा सैद्धान्तिक भन्दा पनि आफ्नो सामान्य बुझाइको आधारमा राष्ट्रवादलाई परिभाषित गर्ने, नेपाली राष्ट्रवादका आधार, उग्र राष्ट्रवादले निम्त्याउने परिणाम र नेपालको सन्दर्भमा कसरि पुनर्परिभाषित गर्न सकिन्छ भन्नेबारे छोटकरीमा उल्लेख गरेन प्रयास गरेको छु ।

राष्ट्रवाद के हो?
राष्ट्रवाद आफ्नो देशप्रतिको आस्था हो, लगाव हो, माया हो, भावना हो । यो सदिऔँदेखि विकसित अवधारणामा आधारित हुन्छ र धेरैलाई आफुले देशलाई किन माया गर्छु भनेर प्रश्न सोध्ने जागरुकता नै हुन्न । या भनौँ यो यति स्वाभाविक हुन्छ कि कसैले यसमाथि प्रश्न उठाउनु जायज नै ठान्दैन वा यसलाई निरपेक्ष ठान्छ । आफु नेपालजस्तो पिछडिएको देशमा जन्मनुपरेकोमा गुनासो गर्नेहरु वा नागरिकता समेत परिवर्तन गरेर अर्को देशको नागरिक भइसकेकाहरुमा पनि ऐनमौकामा देशप्रतिको माया उम्लेर आउँछ, गोर्खाली रगत उम्लेर आइहाल्छ । तसर्थ राष्ट्रवाद भनेको कुनै भुगोलभन्दा पनि त्यहाँ रहेका आफुजस्तै पहिचान भएका समुदायप्रतिको माया हो ।