Saturday, April 5, 2014

मातृभुमी र पितृभुमी

जन्मभुमीको सेवा
हालै रसियाले युक्रेनको पुर्वी भाग क्रिमियालाई आफ्नो मुलुकमा गाभेको छ । यसबारे विश्व बिभाजित छ । अमेरिकी नेतृत्वको विश्वको ठुलो हिस्सा यसलाई अर्को मुलुकको सम्प्रभुतामाथिको आक्रमण ठान्छ । बिरोध गर्छ । रसियाले भने क्रिमियाको आत्मनिर्णयको अधिकार भएको भन्दै आफ्नो कदमको बलपुर्वक प्रतिरक्षा गर्दै आइरहेको छ । १९९० को शुरुमा शीतयुद्ध सकिएपछि फेरि तत्कालिन प्रतिद्धन्दी शक्तिहरु नै आमने सामने भएका छन् । यो बिभाजन बढ्दै जाने अनुमान गरिएको छ । १९७५ मा यसरी नै सिक्किमको विलय गरेको भारतले रुसको कदमको समर्थन गरेको छ । यसका छिटा नेपालमा पनि आइपुगेका छन् । सरकारी र औपचारिक तहमा नेपाल तटस्थ बस्ने निर्णय गरेको छ । सरकारइतर केही शक्तिहरु भने नेपालले यसको बिरोध गर्नुपर्थ्यो भन्ने ठान्छन्
यस लेखमा रसियाले क्रिमियालाई आफ्नो मुलुकमा गाभ्नु गलत थियो वा सही भन्नेबारे छलफल गर्न भने खोजिएको होइन । यो सन्दर्भ लिएर एउटा सँकथन (डिस्कोर्स) बारे चर्चा गर्न खोजेको छु । त्यो हो आफ्नो देशलाई जनाउने शव्द र त्यसलाई दिइने लैङ्गिकताको परिचय ।
परम्परागत रुपमा हामीले देशलाई मातृभुमी शव्द प्रयोग गर्दै आइरहेका छौँ । मुलुक, देश वा राष्ट्र भनेर सम्बोधन गर्दाभन्दा मातृभुमी भनेर सम्बोधन गर्दा बढी माया र भावनात्मकता जोडिएको ठान्छौँ । यो प्रयोगलाई फराकिलो सँकथनमा राखेर विश्लेषण गर्ने प्रयास यो लेखमा गरिएको छ ।
पहिला कुरा गरौँ लैङ्गिकताको । लैङ्गिक हिसाबले मातृभुमी भन्ने शव्द स्त्रीलिङ्गी हो र शाव्दिक रुपमा आमाको भुमी भन्ने जनाउँछ । शुरुमा मानिस घुमन्ते परिवेशमा थियो । मातृसत्तात्मक परिवार व्यवस्था थियो । विवाह भन्ने प्रचलन थिएन । यौनसम्बन्ध एकजनासितमात्र हुनसक्ने अवस्था थिएन । त्यतिबेला अक्शर बाबुको परिचय नै खुल्दैनथ्यो। त्यसैले मातृमुभी भन्ने शव्द प्रचलनमा आएको हुनुपर्छ ।
समाज पितृसत्तात्मक हुँदै गयो । तर पनि मातृभुमी शव्द प्रयोगमा आउन छाडेन । कतिसम्म भने आमाको नामबाट नागरिकता वा परिचय नपाइने अवस्थामा पनि मातृभुमी शव्दको प्रयोग गर्न छाडिएन ।
वर्तमान अर्थमा मातृभुमी भन्ने शव्दको सम्बन्ध ‍औपनिवेशिक कालसित जोड्न सकिन्छ । भारत लगायतका मुलुकमा मातृभुमिबाट ‍औपनिवेशकहरुलाई हटाउने आन्दोलनमा यो शव्दको प्रयोग भएको पाइन्छ । यसलाई धार्मिक सामाजिक मान्यता प्रदान गर्न "जननी जन्मभुमीश्च स्वर्गादपी गरियसि" भन्ने रामायणको श्लोकलाई  आफ्नो सुविधाअनुसार अनुवाद गरिएको छ । आमा र मातृभुमी स्वर्गसमान हुन्छन् भनेर ।  खासमा शाव्दिक अर्थ चाहिँ मातृभुमी नभएर जन्मभुमी हुनुपर्ने हो । यही अनुवादका आधारमा जन्मभुमीमाथिको आक्रमणलाई आमामाथिको आक्रमणको रुपमा अर्थ्याइयो । त्यसबाट ठुलो मात्रामा आन्दोलनमा जनसमर्थन आउनसक्थ्यो । सोही अनुसार आन्दोलन गरेर ‍औपनिवेशकहरुलाई धपाउन पनि सहयोग पुग्यो। यो शव्दको प्रयोगले आमा र बृहत रुपमा समस्त महिलाहरुलाई नै सम्मान भाव प्रकट गरेको रुपमा अर्थ्याइयो । तर वास्तविकता भने अर्कै रह्यो । त्यसले समस्त महिलाहरुलाई नै खतरामा पार्यो । किनकि जबजब कुनै आन्दोलन र युद्धहरु हुन थाले, मुलतः पुरुषहरु हतियार बोकेरै युद्धमा होमिए । त्यस्तो अवस्थामा घर कुर्ने र समुदायको सुरक्षा गर्ने जिम्मा महिलाहरुमा रह्यो । जब विपक्षले आक्रमण गर्थ्यो, त्यसमा पिडित हुने पनि महिला नै भए । आक्रमण गर्ने समुहले विपक्षीका आमा, दिदीबहिनीमाथिको आक्रमणलाई सिधै उसको मुलुकमाथिको आक्रमण  बराबर अर्थ लगाए । यसबाट आक्रमणकारीमा सबैभन्दा ठुलो तुष्टि हुन्थ्यो । यही साँस्कृतिक अर्थका कारण धेरै युद्धमा हतियार लिएर नहिँडे पनि महिलाहरु तारो बनेका र शिकार बनाइएका छन् ।
अर्कोतर्फ यो शव्दको प्रयोगले लघुता पनि देखाउँछ । किनकि मातृभुमी शव्दले खाली आफ्नो देशको सुरक्षामा चिन्तित हुनुपर्ने औपनिवेशकालिन अर्थ बुझाउँछ । सँसारका केही देशहरु जस्तै रसिया, जर्मनी आदिले भने आफ्नो मुलुकलाई पितृभुमी वा फादरल्याण्ड भनेर सम्बोधन गर्ने गर्छन् ।  आफुहरुलाई विश्वमा शक्तिशाली ठान्छन्, आफ्नो साम्राज्य रहेको ठान्छन् र विश्व रँगमञ्चमा आक्रामक रुपमा उभ्याएका छन् । रसियाले क्रिमियालाई गाभ्ने हालैको निर्णयलाई एउटा उदाहरणको रुपमा लिन सकिन्छ ।

यी आधारहरुमा यहाँ गर्न खोजिएको तर्क के हो भने मातृभुमी शव्द प्रयोग गरेर आमा अर्थात बृहत् अर्थमा नारी जातिप्रति सम्मान दिन खोजेको भनेर अर्थ लगाइँदै आइएको छ । तर त्यसले उनीहरुलाई सम्मान होइन झन् जोखीममा पारेको छ । अर्कोतर्फ मातृभुमी शव्दले आफ्नो मुलुकप्रतिको माया र भावनात्मकता दर्शाए पनि त्यसले औपनिवेशकालिन अवस्थातिर लैजान्छ जबकि नेपाल कहिल्यै उपनिवेश बनेको छैन । त्यसैले लैङ्गिक रुपमा तटस्थ शव्द जस्तै "जन्मभुमी" वा "देश"को प्रयोग गर्दा राम्रो हुन्छ । 

No comments:

Post a Comment