Thursday, December 10, 2020

कामै नगरि समृद्धि?

संसारमा समृद्धिको कुनै सजिलो सुत्र छैन । यो धेरै कुरामा भर पर्छ । तर एउटा कुरा के भन्न सकिन्छ भने धेरै काम गरेमा पक्का पनि धेरै आम्दानी गर्न सकिन्छ, समृद्ध भइन्छ । यो व्यक्तिगत वा पारिवारिक जीवनदेखि राष्ट्रिय अर्थतन्त्रसम्म लागु हुन्छ । यसैलाई देश र कम्पनीहरुले शोषण गरेर कामदारहरुलाई धेरै बेर काममा लगाउन थालेपछि नै संसारभर श्रमिक आन्दोलन भएका हुन् र ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन, ८ घण्टा आराम सिद्धान्त स्थापित भएको हो ।

तर नेपालको स्थिति भने बिल्कुल फरक छ । अहिलेको श्रमबजारमा आएकामध्ये अधिकाँश निर्वाहमुखी कृषिको पृष्ठभुमीमा हुर्केका मानिस छन् । निर्वाहमुखी कृषिमा फुर्सद पनि कहिल्यै हुँदैन र रोपाइँ र बाली भित्र्याउने समयबाहेक कामको चटारो पनि खासै हुँदैन । उनीहरुलाई उद्योग वा कलकारखानामा ठ्याक्कै ८ घण्टा काम गर्ने बानी हुँदैन । त्यसैले मौका पाउँदासाथ आराम गर्ने, छुट्टी लिने सँस्कार बढी हुन्छ ।

फेरि झण्डै तीन दशकको सघन कम्युनिष्ट स्कुलिङले उनीहरुलाई के सिकाएको छ भने उद्योगीव्यवसायी भनेका ठग हुन् । त्यसैले तिनको काममा ठगी गर्नु जायज हो, श्रमिकको हकको कुरा हो । यसरी ठगी गर्दा समातिएमा बचाउन आउने त कथित ट्रेड युनियन सँगठन छँदैछन् । त्यसैले नेपाल दक्षिण एशियामा सबैभन्दा धेरै न्युनतम ज्याला र सबैभन्दा कम श्रमिकको उत्पादकत्व हुने देश हो । हामी चिन, भियतनाम वा बंगलादेशले औद्योगिक क्षेत्रमा गरेको प्रगति देखेर खुशी त हुन्छौं तर उनीहरुबाट सिक्न भने बिल्कुल प्रयास गर्दैनौँ । त्यहाँका स्थानीयले काम नगरी यी कुनै पनि देश समृद्ध भएका होइनन् र यी सबै देशमा देशको अर्थतन्त्र र औद्योगिकिकरणको बिकाससँगै व्यक्तिगत आय र न्युनतम ज्याला पनि बढ्दै नै गइरहेको छ । ‌

नेपालीहरुबिच भने काममा ठग्ने प्रवृत्ति यसरी गढेर बसेको छ कि आफ्नै व्यापार व्यवसायमा समेत ठग्नु सामान्य बनेको छ । नेपालको श्रमबजारमा औपचारिक क्षेत्रमा कम र अनौपचारिक तथा कृषिलगायत साना स्वउद्यममा धेरै मान्छे (स्व)रोजगार छन् । तर, ती कामप्रतिको हाम्रो प्रतिवद्धता कमजोर छ । एकादशी र पुर्णिमादेखि सँक्रान्तिजस्ता चाड, न्वारन र पास्नीदेखि जन्ती र भोजजस्ता अवसरमा जान र कहिलेकाहीँ रक्सी खान र तास खेल्नसमेत बिदा खोज्ने परम्परा छ । कतिसम्म भने बिगतमा नेपाल बन्द सँस्कृति बनिसकेको बेला लामो समयसम्म नेपाल बन्द भएन भने समेत मानिसहरुको गुनासो हुन्थ्यो ।

स्थानीय स्तरमा रोजगारी खुलेपछि स्थानीय मानिसहरुलाई नै रोजगारी चाहियो भनेर आन्दोलन हुन्छ तर यो सँस्कृतिले उक्त रोजगारी पाएपछि त्यसले अपेक्षा गर्ने प्रतिवद्धता भने कमैबाट पाइन्छ । त्यसैले धेरै ठेकेदार र उद्योगीले स्थानीयलाई रोजगारी दिन कम इच्छा गर्छन् । फलस्वरुप रसुवामा भएको निर्माण कार्यमा बर्दिया वा भारत बिहारबाट समेत गएर काम गर्छन् भने बर्दियाको होटलमा चितवन वा भारतको उत्तर प्रदेशका मान्छे गएर काम गर्छन् । यो खाली स्थानीयसँग आवश्यक सीप नभएर होइन, ठेकेदारले स्थानीयलाई रोजगारी दिंदा आउने जोखिम कम गर्न यसो गरेका हुन् ।

हुन पनि नेपालीहरु मलेसिया, कतार वा इजरायलमा प्रतिवद्ध र अनुशासित रुपमा काम गर्छन्, आठ घण्टाभन्दा बढी काम गरेर ओभरटाइम समेत कमाउँछन् तर यस्तो प्रतिवद्धता र इच्छाशक्ति देशभित्र फर्केपछि भने हराउँछ । जसरी विदेश भ्रमणमा गएका मन्त्री वा कर्मचारीको देश बदल्ने प्रतिवद्धता विमानस्थलमा उत्रँदा नै स्वाहा भइसक्छ । जबसम्म बाध्य पारिन्न तबसम्म अनुशासित रुपमा काम गर्नु भनेको हाम्रो डिएनएमा नै छैन।

सार्वजनिक बिदामा एकरुपता

माथि उल्लेख गरिएका व्यक्तिगत व्यवहार र अनुशासनका कुरा भए । श्रमिकको उत्पादकत्व वृद्धिका लागि सरकारी प्रयासबाट समेत सही पहल हुनसकेको छैन । दुई तिहाइ सरकार आएपछि श्रमिक र अन्ततोगत्वा उद्योगधन्दाकै उत्पादकत्व वृद्धि गर्नेतर्फ प्रयास हुने अपेक्षा गरिएको थियो । पोहोर साल सार्वजनिक बिदा कटौती गरेर त्यसतर्फ सँकेत पनि गरिएको हो। तर यो गतिमा १ वर्ष नपुग्दै ब्रेक लाग्यो। कतिपय काटिएका बिदा संघीय सरकारले नै पटके निर्णय गरेर थपियो । यो प्रतिस्पर्धामा संघीयदेखि प्रादेशिक र स्थानीय सरकारसम्म छन् । केही स्थानीय सरकारले त निश्चित चाडपर्वमा तीन दिनसम्म बिदा दिएका छन् । कहिलेकाहीँ त आजको बिदा बिहानमात्रै थाहा हुन्छ । सार्वजनिक विदा घोषणा गरेर लोकप्रिय हुने लोभमा आगामी वर्षदेखि त सँघीय सरकारले नै थप १२ दिनको बिदा क्यालेन्डरमा राख्ने तयारीमा रहेको छ ।

सार्वजनिक बिदा भन्नाले मुलतः सरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लागु हुने हो तर माथि नै भने झैँ हाम्रो डिएनएमा कामभन्दा बढी आराम छ । त्यसैले सरकारले बिदा घोषणा गर्दासाथ हाम्रो काम गर्ने इच्छाशक्ति ओइलाएर जान्छ । नीजि क्षेत्रमा काम गर्नेहरुले समेत बिभिन्न बहानामा बिदा लिन खोज्छन् । त्यस्तोमा निश्चित तालिकाबमोजिम उत्पादन, भन्डारण र ढुवानी गर्नुपर्ने उद्योगहरुले कसरी तालिकाबमोजिम गर्नसक्छन् ? अनि औद्योगिक उत्पादन कसरी बढ्छ? औद्योगिकिकरण कसरी हुन्छ? 

यसरी स्वेच्छाचारी बिदाको फर्मान जारी गर्दा काम गैरसरकारी वा नीजि क्षेत्रमा काम गर्नेहरुलाई बिदा लिनुपर्ने बाध्यकारी अवस्था पनि आउँछ। किनिकि सार्वजनिक बिदा भन्दा बित्तिकै विद्यालयहरु बन्द हुन्छन् र अभिभावकहरुलाई पनि कार्यालय वा काममा जान अप्ठ्यारो हुन्छ । यसरी सरकार(हरु) ले वार्षिक रुपमा पुर्वघोषित बाहेक आकस्मिक बिदा दिँदा काम र उत्पादकत्वको जैविक प्रणाली नै तहसनहस हुनेतर्फ ध्यान दिन जरुरी हुन्छ ।

सार्वजनिक बिदाको अग्रिम तालिका

बिदा नै नदिने भन्नु पनि स्वाभाविक नहोला । विभिन्न तहका सरकारहरुले आफ्नो स्थानीय आवश्यकताअनुसार गर्नसक्छन् तर बजारले अनुशासन र तालिका खोज्छ। अर्थात कुनै एक ठाउँमा उद्योग छ भने उसले योजना गर्न सक्नुपर्यो कि उक्त उद्योग क्षेत्रमा प्रभाव पार्ने विभिन्न तहका सरकारले दिने बिदा कति हुन् अर्थात आफ्नो उद्योग वर्षमा कति दिन निर्बाध चल्नसक्छ । त्यसैले सँघीय सरकारले झैं प्रादेशिक र स्थानीय सरकारले पनि नयाँ वर्ष शुरु हुनुअघि नै आगामी वर्षमा दिइने सार्वजनिक बिदा उल्लेखित पात्रो उपलब्ध गराउनुपर्छ । र, बिहान उठेपछिमात्र स्थानीयबासीले बिदा थाहा पाउने परम्पराको अन्त्य गर्नुपर्छ ।

त्यसभन्दा पनि अगाडि सार्वजनिक बिदा दिएर आफ्नो स्थानीय तह र प्रदेशको बिकास हुन्न बरु समृद्धिको प्रतिस्पर्धामा अर्को स्थानीय तह वा प्रदेशभन्दा एक दिन पछाडि परिन्छ भन्ने बुझेमा झन् राम्रो । किनकि भुमण्डलिकरणको जमानामा आफ्नो स्थानीय तहहरुमात्र होइन, स्थानीय तह र प्रदेश वा प्रदेश र पुरै नेपालको अर्थतन्त्र एकार्कामा अन्तरसम्बन्धित छन्, एक ठाउँमा दिइने बिदाले अर्को ठाउँलाई पनि असर गर्छ ।

८ कार्यघण्टा र २ दिने सप्ताहन्त

नेपालमा हप्ताको ५ दिन, बिहान १० देखि ५ बजेसम्म र शुक्रबार १० देखि ३ बजेसम्म गरी ४० घण्टा सरकारी कार्यालयमा काम हुन्छ । धेरै विद्यालयहरुले पनि यही तालिका अनुसरण गर्छन् । तर माथि भने झैं सरकारी कार्यालयको कार्यघण्टाले नीजि वा गैरसरकारी क्षेत्रमा काम गर्नेलाई पनि असर गर्छ वा ती क्षेत्रको उत्पादकत्वमा पनि असर पुर्याउँछ । तर नेपालको कार्यालय समयले ८ घण्टा काम गर्नसमेत सिकाउँदैन । शुक्रबारको दिन त अफिस जाँदा र आउँदा नै समय व्यतित हुन्छ ।

यसलाई व्यवस्थित गर्न धेरै गर्नैपर्दैन। छिमेकी देशहरुले समेत अपनाएको ८ घण्टा काम र ५ कार्यदिन गर्दा समस्या समाधान हुन्छ । यसले साप्ताहिक ४० घण्टा नै काम हुने तर श्रमिकमात्र होइन रोजगारदाताको समग्र उत्पादकत्वमा समेत वृद्धि हुने धेरै अध्ययनहरुले देखाएका छन् । दुई दिने सप्ताहन्त हुँदा सप्ताहन्त अर्थतन्त्रसमेत बढ्छ । किनकि कम्तीमा एकदिन भएपनि परिवारसहित मनोरञ्जनका लागि घरबाहिर जाने परिवार बढ्छन् । यसले ओभरटाइमा वा सप्ताहन्तमा मात्र काम गर्न चाहनेहरुलाई पनि रोजगारीका अवसर दिन्छ, अर्थतन्त्रको आकार बढ्छ ।

अर्कोतर्फ कार्यालय आउने जाने समयको बचतले श्रमिकले परिवारसँग बढि समय बिताउन पाउँछन् जसले उनीहरुको कार्यालयमा उत्पादकत्व समेत बढाउँछ । कार्यालयमा प्रयोग हुने सवारीसाधनदेखि बिजुलीको बिलसम्म कमी आएर कार्यालय सञ्चालन खर्चमा पनि कमी ल्याउँछ । सार्वजनिक वा नीजि सवारी साधनको प्रयोगमा कमी हुने हुनाले वातावरणीय दिगोपनाका लागि समेत सघाउँछ ।

यसले आकस्मिक सार्वजनिक बिदा दिनुपर्ने समस्या पनि केही हदसम्म समाधान गर्छ किनकि हप्तामा दुई दिन बिदा हुँदा सार्वजनिक बिदा दिनुपर्ने झण्डै तीस प्रतिशत चाड वा अवसरहरु सप्ताहन्तमा पर्नेछन् । समग्रमा कार्यालय वा उद्योगधन्दा खुल्ने वार्षिक कार्यदिन नघटाइकन श्रमिक र रोजगारदाता दुवैलाई फाइदा गर्छ ।

अभ्यास भइरहेको कुरा

दुई दिने सप्ताहन्त पहिलै असफल भइसकेको अवधारणा हो भन्ने पनि धेरैलाई लाग्ला किनकि बिगतमा यस्तो अभ्यास काठमाडौं उपत्यकाका सार्वजनिक कार्यालयमा केही वर्ष लागु गरेर प्रभावकारी नदेखिएपछि फिर्ता गरिएको थियो । केही समयअघि काठमाडौं उपत्यकाका धेरै काम हुने सरकारी कार्यालयहरु दुई शिफ्ट चलाउने निर्णय गरेर त्यो पनि प्रभावकारी नभएपछि फिर्ता लिइयो ।

तर यसमा समस्या भनेको यी दुवै निर्णय स्पष्ट दृश्टिकोण र उच्च राजनीतिक प्रतिवद्धताविना ल्याइएका थिए । आज ९ बजे हिंडेर १० बजे कार्यालय पुगेको मान्छेलाई भोलिदेखि ८ बजे हिँडेर नौ बजे कार्यालय पुग्नमा अभ्यस्त हुन समय लाग्छ। फेरि स्पष्ट दृश्टिकोण र प्रतिवद्धताविना यस्ता निर्णय आएपछि यसलाई सफल बनाउनभन्दा असफल बनाउन लाग्छ । किनकि कुनै पनि परिवर्तन शुरुमा धेरैलाई असुविधाजनक नै लाग्छ ।

यसको उल्टो सरकारी प्रतिवद्धता विना नै नेपालमा रहेका अन्तर्राष्ट्रिय र नेपाली गैरसरकारी सँस्थाले समेत दुई दिने सप्ताहन्त र बिहान नौदेखि ५ बजेसम्मको कार्यालय समय अभ्यास नै गरिरहेका छन् ।

यसर्थ सम्पुर्ण देशलाई आर्थिक समृद्धिको गोरेटोमा हिँडाउने हो भने तीनै तहका सरकारबाट सार्वजनिक विदामा एकरुपता र त्यसको पुर्व जानकारी, देशभर लागु हुने गरी दुई दिने सप्ताहन्त र पाँच दिने कार्यदिन लागु गर्ने प्रतिवद्धता हुनु जरुरी छ । कामदारहरुले पनि काममा अनुशासन र नियमितताको प्रतिवद्धता गर्ने हो भने समृद्धिको यात्राको गति बढाउन सकिन्छ ।

Wednesday, March 27, 2019

नागरिकतामा विभेद सह्य कुरा होइन

Source: Wikimedia Commons
मिडिया, सामाजिक मिडिया, सँसदबारे अहिले सबैभन्दा चर्चामा रहेको विषय होः नागरिकता । यसमा अन्तर्निहित प्रश्न हो आफ्ना दम्पती र सन्ततीलाई नागरिकता दिलाउने अधिकार महिला र पुरुषलाई बराबर हुनुपर्छ कि पर्दैन? समानतावादीहरुले जति जोडतोडका साथ उठाइरहेका छन्, विभेदवादीहरुले पनि उत्तिकै जोडतोडका साथ उठाइरहेका छन् । महिलालाई पनि समान अधिकार दिएमा फिजिकरण, सिक्किमीकरण आदि हुने, करोडौं भारतीयहरुले नेपाली नागरिकता लिनसक्ने तर्क विभेदवादीहरुले दिएका छन्, केहीले त बिगतमा कसरी नागरिकताको प्रावधान दुरुपयोग गरियो र मुलतः भारतीयहरुले नागरिकता पाए भन्नेबारे उदाहरणसहित पेश गरेका छन्। यो लाइनमा पुर्व प्रहरी अधिकारीहरु, सेनाका अवकाशप्राप्त अधिकारीहरु, र कथित प्रगतिशिल र समाजवादी दलका नेतासमेत छन् । सामाजिक र मुलधारे मिडियामा समेत विभेदवादीहरुले यो बहसलाई सकेसम्म तोडमरोड गरेर विषयान्तर गर्ने प्रयास गरिरहेका छन् ।

तर, समानतावादीहरुको मुख्य प्रश्न यतिमात्रै हो, आफ्ना दम्पती र सन्ततीलाई नागरिकता दिलाउने अधिकार महिला र पुरुषलाई बराबर हुनुपर्छ । कुनै बहाना वा किन्तु परन्तु विना मेरो पनि धारणा यही होः मेरा सन्ततीलाई नागरिकताको पहिचान प्रदान गर्ने अधिकार जति मसँग हुनुपर्छ, त्यति नै मेरो श्रीमतीसँग हुनुपर्छ र मेरो छोराले चाहेमा बिहे गरेर ल्याउने विदेशी महिलाको अधिकार जति हुन्छ, त्यती नै मेरो छोरीले चाहेमा बिहे गरेर आउने पुरुषको पनि हुनुपर्छ ।

अहिलेसम्म जति पनि नागरिकतासम्बन्धी प्रश्न उठेका छन् अथवा दुरुपयोगका दृश्टान्त आएका छन्, ती त महिलाको नाममा पनि नागरिकता पाउनाले आएका होइनन् । बरु महिला वा पुरुष जसको नामबाट नागरिकता पाएपनि यी समस्या आउने नै छन् ।

त्यसैले अहिले राज्य व्यवस्था तथा सुशासन समितिमा रहनुभएका विभेदवादी, घागडान राष्ट्रवादी र प्रगतिशिल साँसदहरुलाई मेरो सुझाव छः पहिला नागरिकतामा महिला र पुरुषको समान हक स्थापित गरौं र सँगसँगै अहिलेसम्म दुरुपयोग भएका अनुभवबाट सिकेर ती प्रावधान सच्याउनतिर लागौं, नत्र महिलाले अधिकार नपाएपनि तपाइँले अहिले सिर्जना भइरहेका भनिएका समस्या ज्युँका त्युँ रहनेछन् र यसको जिम्मेवार तपाइँ नै हुनुहुनेछ।

Wednesday, January 9, 2019

महिला पत्रकार, महिला स्रोत, महिला पाठक

तस्वीरः पिक्सेल डट कम, क्रियटिभ कमन्स लाइसेन्स
कात्तिक, २०७५ को अन्त्यमा विश्व प्रसिद्ध फाइनान्सिअल टाइम्स पत्रिकासम्बन्धी समाचारले एउटा मेरो ध्यान खिच्यो। बेलायतको प्रसिद्ध अनलाइन प्रकाशन द गार्जिअनमा प्रकाशित समाचारमा उल्लेख थियो कि फाइनान्सिअल टाइम्सले धेरै पुरुषहरुलाई मात्र स्रोत उद्धृत गरिएको भएमा रिपोर्टरहरुलाई सचेत गराउने एउटा सफ्टवेयर एप्लिकेशन बिकास गरेको छ । समाचारको स्रोतको रुपमा महिलाहरुको समावेशिता बढाउने प्रयासस्वरुप यो एप्लिकेशन बिकास गरेको पत्रिकाको तर्क रहेको छ । उक्त एप्लिकेशनले निकालेको तथ्याङ्कको आधारमा रिपोर्टरमात्र नभएर महिला स्रोतलाई उद्धृत गर्न जोड नदिएकोमा बिट सम्पादकहरुलाई पनि सचेत बनाइने पत्रिकाले जनाएको छ। 

उक्त मिडिया गृहले आफ्नै समाचारहरुको विश्लेषण गर्दा समाचारमा उद्धृत गरिएका स्रोतमध्ये २१ प्रतिशतमात्र महिला थिए । अर्थात झण्डै ५ वटा स्रोतमध्ये एउटामात्र महिला थिए। उक्त पत्रिकाले आफ्ना स्तम्भकारहरुको पनि विश्लेषण गर्दा थाहा पायो कि २०१८ को मार्चमा हरेक २० प्रतिशत स्तम्भकारमात्र महिला थिए। थुप्रै परिश्रम गर्दा ५ महिनापछि अगस्टमा स्तम्भकारमध्ये महिलाको उपस्थिति ३० प्रतिशत पुगेको छ ।

सोही हप्ता नेपाली पत्रकारितामा महिलाको सहभागिताबारे फ्रिडम फोरमले त्रैमासिक अनुगमन प्रतिवेदन सार्वजनिक गर्यो । उक्त प्रतिवेदनमा अनुगमन गरिएका नौ ब्रोडशिट पत्रिकामध्ये महिला रिपोर्टरको बाइलाइन जम्मा १० प्रतिशत थियो र बिचार स्तम्भलेखक महिलाको सँख्या २२ प्रतिशत मात्र रहेको उल्लेख छ । यो सँख्या अनलाइनमा भने अलिक सुधारिएको छ जहाँ २४ प्रतिशत बाइलाइन महिलाको रहेको छ ।
स्रोतको रुपमा महिलाको उद्धरण भने एकदमै कम छ । अर्थात उद्धरण गरिएका स्रोतमध्ये पत्रिकामा ११ प्रतिशत र अनलाइनमा जम्मा ९ प्रतिशत रहेको छ ।

यी विवरणले देखाउँछन् पत्रकारितामा महिलाको सहभागिता विश्वमा नै अत्यन्तै कम छ, नेपालमा झन् दुरुह छ । यो दुरुह चित्र रिपोर्टर, स्तम्भकार र स्रोतको रुपमा पनि कम छ । शव्दमा मात्र होइन, महिलाको अनुहार रहेको तस्वीरको प्रयोग पनि कम भएको विभिन्न अध्ययनहरुले देखाएका छन् । लैङ्गिक विभेदको अन्त्य र समानताका लागि आवाज उठाउने मिडिया आफैं विभेदकारी र पुरुष केन्द्रित देखिनु दुःखद नै हो।

महिला पाठक
फाइनान्सिअल टाइम्सको कदम लैङ्गिक समानता कायम गर्ने पवित्र उद्देश्यबाट मात्र प्रेरित भने होइन । संसारभरिको आर्थिक विकासको गति नाप्ने पत्रिकाले आफ्नै नाफाघाटाको हिसाब गरेर पनि यो कदम अघि सारेको हो । विश्वभरि नै मिडियाबिचको प्रतिस्पर्धा छापा सँस्करणबाट सरेर अहिले अनलाइनमा पुगेको छ । फाइनान्सिअल टाइम्सले पनि अनलाइनमा कसरी अरुभन्दा एक कदम अगाडि बढ्न सकिन्छ भनेर अध्ययन गर्दा बढी महिला पाठकलाई आकर्षित गर्नुपर्ने निश्कर्षमा पुग्यो । र, आफ्ना समाचारका पाठकहरुको विश्लेषण गर्दा देखियो कि पुरुषमात्र स्रोतको रुपमा प्रयोग भएका समाचारलाई महिला पाठकले कम पढ्छन् । त्यसैगरी महिलाको पनि अनुहार भएको तस्वीर भएमा धेरै महिलाले क्लिक गर्ने सम्भावना रहेको देखायो । त्यसैले फाइनान्सिअल टाइम्सको यो अभियान पत्रकारितामा महिला सहभागिता बढाउनुपर्छ भन्ने उदार र आदर्श लक्ष्यबाट प्रेरित मात्र त होइन । तर लक्ष्य जे भएपनि प्रतिफल भने स्वागतयोग्य हुने अपेक्षा गर्न सकिन्छ ।

नेपालको सन्दर्भमा पत्रकारितामा महिला रिपोर्टर, स्तम्भकार र स्रोतबारे केही अध्ययन भएका छन् जसमा माथि उल्लेखित फ्रिडम फोरमको रिपोर्ट पनि पर्छ । तर महिला पाठकको अभिरुचिबारे भने अध्ययन भएको मेरो जानकारीमा छैन तर म के भन्न सक्छु भने महिला पाठकको रोजाइसम्बन्धी फाइनान्सिअल टाइम्सको निचोड हाम्रो पत्रकारिताको हकमा पनि लागु हुन्छ । अर्थात् महिला पत्रकार कम हुने, महिला स्तम्भकार कम हुने, स्रोतको रुपमा महिलाको उद्धरण पनि कम हुने र तस्वीरहरु पनि पुरुषहरुकै मात्र देख्ने हो भने महिलाले समाचार पढ्ने सम्भावना पक्कै कम हुन्छ । मिडिया हाउसहरुले सोच्नु र सोध्नुपर्ने बेला आएको छ कि कतै महिलाहरुलाई सिमान्तीकरण गरेर आफ्नै खुट्टामा बन्चरो त हानिरहेका छैनन् ? आधा जनसंख्याको रोजाइलाई नजरअन्दाज गरेर आफ्नो बजार कसरी बिस्तार हुन्छ?


त्यसैले, मिडिया हाउसहरुले बढी महिलालाई स्थान दिनु आफ्नै व्यावसायिक हितको लागि पनि राम्रो हो । लैङ्गिक समानताको सिर्जनामा पत्रकारिताले योगदान गर्नुपर्छ भन्ने आदर्शले अहिलेसम्म काम गरेन । त्यसैले बजार बिस्तारकै लागि भए पनि महिला सहभागिता बढाउनैपर्छ । यसको शुरुवात समाचार कक्षमा बढी महिला पत्रकारलाई स्थान दिएर, जति महिला पत्रकार छन् उनीहरुलाई उचित काम गर्ने वातावरण दिएर र उनीहरुलाई बाइलाइनमा नाम दिन कन्जुस्याइँ नगरेर गर्न सकिन्छ । महिला लेखकहरुलाई स्तम्भकारको रुपमा लेख्न लगाएर, उनीहरुको लेखलाई प्रमुखता दिएर र उनीहरुलाई लेखककै रुपमा स्थापित हुन सहयोग गरेर दीर्घकालिन हित सुनिश्चित गर्न सकिन्छ । फाइनान्सिअल टाइमसले झैं बढीभन्दा बढी महिलालाई स्रोतको रुपमा प्रयोग गर्ने र तस्वीर प्रयोगमा पनि महिला भएको तस्वीरलाई बढी प्राथमिकता दिएमा यसले अन्ततः पत्रकारिताको बजार नै बिस्तार हुन्छ । र, यसले लैङ्गिक समानताको अभियानलाई पनि सहयोग नै गर्नेछ ।

(पत्रकार महासँघ चितवनको स्मारिका २०७५ मा प्रकाशित ।) 

Thursday, October 25, 2018

जागीरबाट उद्यमतिरको यात्रा शुरु गर्दाका दुविधा

जीवन सोझो बाटोमा हिँड्दैन। कति कुरा हाम्रो आफ्नै छनोटले निर्धारण गर्छ, कति कुरा परिस्थिति र संयोगले। यसपटक मैले आफ्नै छनोटमा जीवनको सबैभन्दा ठूलो र कठीन निर्णय लिएको छु।

यस्तै निर्णय १३ वर्ष अगाडि लिएको थिएँ, जसले मलाई एउटा निजी स्कुलको शिक्षकबाट पत्रकार हुँदै अहिलेको परिचय दिएको छ। त्यो निर्णय थियो, चितवन छोडेर काठमाडौं जाने। पढ्दै आएको अंग्रेजी विषय छोडेर पत्रकारिता तिर लाग्ने।

आर्थिक प्रगतिको मेरो निजी लेखाजोखा गर्दै गरौला, तर यो निर्णयबाट संसारलाई देख्ने, बुझ्ने र पढ्ने मामिलामा मैले ठूलो मौका पाएँ । साथसाथै जागिरको बहानामा आफ्नै मुलुकको भुगोल र नागरिकसँग साक्षात्कार गर्ने अभुतपूर्व मौका पाएँ। छोटो समयमै देशका नब्बे प्रतिशतभन्दा बढी जिल्ला घुम्ने मौका पाए।

तर जागीरले यति परनिर्भर बनायो कि यसबाट केही टाढा देख्नैनसक्ने भइयो। यो अलिकति आफैंले सिर्जना गरेको जाल (जस्तै ऋण र त्यसको मासिक किस्ता, दिन दिनै बढिरहेको वस्तु उपभोगको खर्च धान्ने बाध्यता) थियो ।

अर्कोतर्फ जागीर दिने संस्थाले पनि उद्यमशिलता प्रवर्द्धन नगर्ने मात्र होइन नरूचाउने पनि। कतिसम्म भने एउटा अन्तर्राष्ट्रिय संस्थामा जागीर खाँदा त निजी लगानी गर्ने छैन भनेर कबुलियतनामा नै गर्नुपरेको थियो। यस्तो लाग्छ, उनीहरुको स्पष्ट सन्देश हुन्थ्यो— जागीर गर, पैसा लेउ, त्यसलाई हामीले सिर्जना गरेको पूँजीवादलाई सघाउने गरि उपभोग गर, यही पुँजीवादी उपभोगको कुचक्रमा बस, बाँच र बिस्तारै यहीँबाट पतन होउ।

यसपटक धेरै कुराले मेरो दिमाग चकरायो।

हाल गरिरहेको जागीरे काम बिभिन्न कारणले दीर्घकालिन होइन कि भन्ने लागिरहन्छ। त्यसै पनि गैरसरकारी संस्थाहरुको कामको क्षेत्र (स्कोप) घट्दै गइरहेको देखिदै छ। आफैंलाई पनि गैरसरकारी क्षेत्रले जे काम गरिरहेको छ, त्यो काम नीजी क्षेत्रले गर्न थाल्ने हो भने धेरै दिगो, व्यावसायिक, स्वनिर्भर र प्रभावकारी हुनसक्छ भन्ने लाग्छ।

अर्कोतर्फ, बुढेसकालप्रतिको चिन्ता पनि अहिलेदेखिनै लाग्न थालेको छ। तीसको उत्तरार्द्धमा पुग्दा पनि एउटा व्यवसाय शुरु गर्न सकिएन भने बुढेसकाल धरापमा पर्छ भन्ने अनुभूती केही समय देखि भइरहेको थियो।

यसैबीच देशमा ठूलो परिवर्तन भयो। परम्परागत र केन्द्रीकृत सत्ता एक्कासी संघीय भयो। शक्ति र स्रोत सिमान्त शहर तथा गाउँहरुमा पनि पुग्यो। तीन तहको सरकारले काम गर्न थालेपछि राजधानी बाहिर पनि अवसरहरु सृजना हुन थाले।

अर्कोतिर काठमाडौंको धुवाँ र धुलोले आजीत पार्‍यो। बुढेसकालको चिन्तामा दम वा मधुमेह जस्ता दीर्घ रोगहरुबाट जुध्दै निसासिएर बस्नुभन्दा बाहिर पनि किन अवसर नखोज्ने भन्ने लाग्यो ।

यसका अन्य तर्क पनि छन् जसलाई चलिरहेको विकास र समृद्धि भन्ने ‘न्यारेटिभ'ले पनि झक्झकायो। अलिअलि पैसा भए जोखिम मोल्न नचाहने र घरजग्गा र शेयरमानै लगानी गर्ने हो भने यो विकास र समृद्धिको यात्रामा मेरो सहभागिता के हो? भन्ने कुराले पनि झक्झकायो ।

विदेशमा रहेका साथीहरु नेपाल फर्कनुपर्छ। केही उद्यममा लाग्नुपर्छ भनेर आफूले नै भन्ने गरेको आह्वानले आफैंलाई पनि कुत्कुत्याएजस्तो लाग्यो। आफ्नो ठाउँलाई मैले के गर्न सकेँ?, भन्ने प्रश्न अझ चर्को हुँदै आयो ।

दिमागमा यति धेरै प्रश्न उठेपछि एउटा निर्णयमा पुगियो—चितवनको भरतपुरमा डबली बुक क्याफे शुरू गर्ने। अलिअलि पत्रकारिता जस्तो पनि हुने। बौद्धिक कुराकानी गर्ने ठाउँ पनि हुने। र उद्यम पनि हुने। परिवारसँगको सल्लाहपछि यो उद्यम शुरु हुने क्रममा छ ।

हालसम्म आफूले गरेका केही लगानी र साझेदारीका शतप्रतिशत कामहरु घाटामा गएर टुङ्गिएका थिए। प्रतिफल त टाढाको कुरा, लगानी नै फिर्ता पाउन गाह्रो भएको थियो । तिनको एउटै सिकाइ भनेको आफैं लाग्नुपर्छ, अरुको भर पर्दा डुबिन्छ भन्ने नै थियो। उसै पनि साझेदारी उद्यमको संस्कृति नेपालमा कमजोरनै छ।

यो निर्णय त गरियो, तर गम्भीर सवाल आयो छँदाखाँदाको जागीर छोडेर उद्यममा लाग्दा यदि उद्यम सफल भएन भने के गर्ने? अनि आफूले अहिलेसम्म जानेर गरिरहेको कुरा चटक्क छोडेर अर्को बाटो लाग्दा कहाँ पुगिएला?

अन्तत: बिचको बाटो निकालियो -श्रीमतीले उद्यम हेर्ने, आफूले टाढा रहेरै योगदान गर्ने।


यही निर्णय नै सबैभन्दा दुविधापूर्ण र भावनात्मक रुपमा कठीन थियो, जसको मूल्य मैले पलपलमा चुकाउनुपर्नेछ। मैले जागीरको क्रममा काठमाडौं वा घरपायक जागीरको लागि व्यवस्थापनसँग याचना गर्ने साथीहरु देखेको छु। कतिपयले परिवारसँग साथमै रहनका लागि राम्रो जागीर छोडेर कम तलब भए पनि घरपायक नै रोजेको  पनि देखेको छु। यहाँ म भने साथ रहेको परिवारसँग आफ्नै छनोटमा टाढिएर बस्ने निर्णय गर्दैछु।


यसको सबैभन्दा ठूलो प्रभाव छोरीमा पर्नेछ। बाउआमासँगै बसेकी छोरी अब आमा र हजुरबुवा, हजुरआमासँग बस्नुपर्नेछ। अर्थात उसँग मेरो र मसँग उसको साथ छुट्नेछ ।

अर्को प्रभाव उसको पढाइमा पर्नेछ। राजधानीबाहिरका शहर जति नै समृद्ध र विकसित भए पनि त्यहाँ शिक्षाको स्तर काठमाडौंसँग तुलना गर्न लायक पनि छैन। धेरै मानिसहरू बालबालिकालाई राम्रो शिक्षादीक्षा दिनकै लागि काठमाडौं आएको पनि देखेको छु। म छोरीको भविष्यप्रति एक हिसाबले खेलबाड गर्दैछु कि भन्ने पीडानुभूतीले सताइरहन्छ ।

अर्को प्रभाव भनेको श्रीमतीमा पर्नेछ। यही उद्यमका लागि उनले आफ्नो करियर दाउमा लगाएकी छन्। घर, व्यवसाय र करियर व्यवस्थापन गर्नु उनको लागि ठूलो चुनौती हुनेछ।

मैले यही निराशा, आशा र द्विविधाबीच स्पष्टता खोजेको छु।

नेपालमा उद्यमप्रतिको धारणा बिस्तारै बदलिँदै गएको छ। एक जमाना त व्यापारीलाई सर्वसाधारणले फटाहा र राज्यले दुहुने गाई ठान्थे। अहिले आएर उनीहरुको भूमीका समाजले पनि आत्मसात गर्दै गएजस्तो देख्छु। राज्यले पनि निजी क्षेत्र र साना उद्यमहरुको विकासमा जोड दिन थालेको छ।

अर्कोतर्फ विशेष गरी युवा उद्यमीहरुबीच एकार्कालाई सहयोग गर्ने संस्कृति पनि बढेर गएको छ। युवा उद्यमीहरुले बारम्बार आफ्ना अनुभव र विचार आदानप्रदान गरिरहेको र एकअर्कालाई सघाइरहेको पनि पाउँछु। धेरै साथीहरुले मलाई पनि सहयोग गर्नुभएको छ।


कफि मेरो लागि सर्वथा नयाँ व्यवसाय हो। खोज्दै जाँदा उद्यमी युवाहरुको समूहले सञ्चालन गरेको एउटा कम्पनीमा पुगेँ। यो कम्पनीले कफी शप सञ्चालनको लागि मेशिनदेखि नेपाली अर्गानिक कफी बिन्ज र अन्य सम्पूर्ण सेवाहरु उपलब्ध गराउँदै छ। त्यसैले सजिलो भयो। इन्टेरियर डिजाइनरदेखि फर्निचर, विद्युतीय सामग्री सबै युवाहरुकै उद्यम पसलबाट खरिद गर्न पाइयो।

आफ्नै उद्यम शुरु गर्ने क्रममा मैले जे देखेँ त्यसले नेपाली समाजलाई हेर्ने मेरो नजर बदलियो। यो पूर्ण रूपमा वैदेशीक रोजगारीमा भर परेको समाज होइन। धेरै सृजनशील युवाहरुले नयाँ काम, नयाँ उद्यम गरेका छन्। त्यसले मलाई धेरै आशावादी पनि बनायो।

यही आशाका साथ वैशाख १५ गते भरतपुरमा हामी ‘डबली बुक क्याफे’ शुरु गर्दैछौं। तपाईँलाई स्वागत छ।

डबलीलाई फेसबुक लाइक र ट्विटरमा फलो गरेर पनि निरन्तर सम्पर्कमा रहन र हाम्रोबारे जानकारी पाइरहन सक्नुहुन्छ। डबलीको म्यापको लागि यहाँ क्लिक गर्नुहोस् । 


Wednesday, August 15, 2018

हेड सर, तपाइँको स्कुलमा सफा चर्पी छ?

 दृश्य १

तराइको एउटा उच्च माध्यामिक विद्यालय । १६०० जना विद्यार्थी अध्ययनरत छन्, ३० जना शिक्षक कर्मचारी । भारतीय दुतावासको सहयोगमा ५ करोड लागतमा भव्य तीन तले भवनमा अध्यापन हुन्छ । पूर्वपश्चिम लमतन्न सुतेको भवनको गेटबाट छिर्दा बित्तिकै देब्रेतिरको कुनामा पुरुष शौचालय छ भने पश्चिमतर्फको कुनामा महिला शौचालय छ । तीन तलामै यसरी व्यवस्थित चर्पी बनाइएका छन् । तर हालको अवस्था?

भवन अझै हस्तान्तरण हुन पाएको छैन । चर्पी भने सखाप भइसकेका छन् । पुरुष शौचालयमा छिर्दा सेरामिक्सका प्यानका टुक्राहरु खुट्टामा ठेस्सिन आइपुग्छन् । १२ वर्षको पिनास निको बनाउलाजस्तो गन्ध छ । दिसाका ढिस्काहरु छल्दै अलिक भित्र पस्दा दिसा र पिसाबको आहाल देखिन्छ । चर्पीमा जोडिएका धाराहरु पनि उखेलिएका छन् र पानीको आपुर्ति पनि बन्द छ ।

त्यस्तै हालत छ छात्रा शौचालयको पनि । अलिक ओभानो ठाउँ खोज्दै दिसापिसाब गर्न बस्दाबस्दै ढोकासम्मै आइपुगेको छ । अब त्यो शौचालयभित्र छिरेर दिसापिसाब गर्न सक्ने अवस्था नै छैन । धारा छन्, पानी यहाँ पनि काटिएको छ । 

दृश्य २

महेन्द्र राजमार्गबाट ४ किलोमिटर उत्तरतर्फको एउटा गाउँमा अवस्थित निम्न माध्यामिक विद्यालय । ३०० जना विद्यार्थी अध्ययनरत छन्, ८ महिलासहित १२ जना शिक्षक कर्मचारी । चर्पी जम्मा एउटा छ । विद्यार्थीसँग ढेसिइँदै जान अप्ठ्यारो लागेर शिक्षकहरु छिमेकीकहाँ चर्पी प्रयोग गर्न जान्छन् ।

रुम टु रिड भन्ने दाताले बनाइदिएको चर्पी भने २ वर्ष अगाडिदेखि प्रयोगविहिन छ । कारणः त्यसको भित्री प्लास्टर र फिनिसिङ गर्न बजेट छैन । करीब ३० हजार रुपियाँको अभावमा यो चर्पी रोकिएको छ, शिक्षक विदयार्थी सबैले कहर काट्न बाध्य छन् । नगरपालिकाका मेयरलाई ल्याएर हेडसरले देखाइपनि सकेका छन् । ३० हजार कतैबाट जोहो हुन सकेको छैन वा भनौं प्राथमिकतामा परेको छैन ।

यी दुई दृश्यले विद्यालयहरुले चर्पीलाई दिने उपेक्षा देखाउँछन् । र, यी दृश्यहरु कुनै ती स्कूल बिशेषका मात्र होइनन् । देशभरका सार्वजनिक विद्यालयमा जाने हो भने शौचालयको व्यवस्थापन सम्बन्धमा कमवेशी यस्तै समस्या देखिन्छ ।

चर्पीसम्बन्धी धारणा

मानिसले खाना खान्छ भने त्यसलाई बिसर्जन पनि गर्नुपर्छ । त्यसैले खानाको जोहोलाई महत्व दिइन्छ भने त्यत्तिकै महत्व शौचालयलाई पनि दिनुपर्छ । र जसरी खाना खाने थाल सफा हुनुपर्छ, त्यसैगरी चर्पी पनि सफा हुनुपर्छ । सफा चर्पी प्रयोग गर्न पाउनु मान्छेको मर्यादाको कुरा हो । तर माथिका उदाहरणबाट हामीले देख्यौं हाम्रा विद्यार्थीहरुको मर्यादित जीवनको अपेक्षालाई बाल्यकालदेखि नै निमोठ्दै लगेका छौं ।

चर्पीको सरसफाइसम्बन्धी अर्को मान्यता के छ भने चर्पी प्रयोग गरिसकेपछि त्यसलाई सफा राख्नु दायित्व हो । बिकसित देशहरुमा कोही कति व्यवस्थित वा सभ्य छ भनेर उसको घर वा सार्वजनिक स्थलको चर्पी हेरेर जाँच्ने गरिन्छ । र विद्यालयमा राम्रो र सफा चर्पी नराखेर हामीले फोहरी पुस्ता उत्पादन गर्दैछौं जसको नकारात्मक असरबाट पार पाउन धेरै वर्ष र लगानी लाग्नेछ ।

सफा चर्पीसम्बन्धी अर्को मान्यता के हो भने आफुले सफा चर्पी प्रयोग गर्न पाइयो भने आफुपछि प्रयोग गर्नेले पनि त्यस्तै सफा चर्पी प्रयोग गर्न पाउनुपर्छ । त्यसैले आफुले प्रयोग गरेपछि अनिवार्य रुपमा चर्पी सफा गरेर छाड्नुपर्छ । अब विद्यालयले नै सफा चर्पी राख्नेतर्फ पहल गरेन वा हजारौ विद्यार्थीले प्रयोग गर्ने चर्पी दिनको एकपटक पनि सफा गर्ने व्यवस्था मिलाउन सकेन भने विद्यार्थीले सफा गर्दैनन् वा पानीको पाइप भाँचेर फाले भनेर विद्यार्थीलाई कसरी दोष लगाउन पाइन्छ ?

चर्पीलाई हेर्ने दृश्टिकोण 

नेपाल सरकार शिक्षा मन्त्रालयको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता निर्देशिका २०७४ ले छात्र र छात्राहरुका लागि चुकुलसहितका अलगअलग शौचालय हुनैपर्ने न्यूनतम मापदण्ड कल्पना गरेको छ भने उत्कृष्ट मापदण्डमा 'सुरक्षित स्थानमा बाल, लैङ्गिक, अपाङ्गता र वातावरण मैत्री ४० छात्रा (माध्यामिक तहमा २५ छात्रा) र ४० छात्रहरुको अनुपातमा १ शौचालयको सुविधा' हुनुपर्ने कल्पना गरेको छ । अर्थात ३०० जना विद्यार्थी भएको विद्यालयमा कम्तीमा ६ वटा चर्पी हुनुपर्छ ।

विद्यालयमा छात्राहरुको शौचालयमा स्यानिटरी प्याड डिस्पोज गर्ने सुविधा पनि अनिवार्य हुनुपर्छ । उक्त निर्देशिकाले महिनाबारी स्वच्छता व्यवस्थापनका लागि सेनिटरी प्याड व्यवस्थापन गर्न छात्रा शौचालयहरूमा ढकनसहितको डस्टबिन राखिएको हुनुपर्ने न्यूनतम व्यवस्था गरेको छ । यसको अभावमा धेरै छात्राहरुले महिनावारीका बेला विद्यालयमा गयल हुनुपर्दछ । धेरै हेडसरहरुले भोगेकै हुनुपर्छ सानोमा उत्कृष्ट पढ्दै गरेका छात्राहरु किशोरावस्थामा प्रवेश गरेपछि एक्कासी कमजोर हुन थाल्छन् । अब ८ कक्षासम्म पढ्ने छात्राहरु र ८ जना शिक्षिका भएको विद्यालयमा एउटामात्र शौचालय हुनु कति दयनीय अवस्था होला?

 चर्पी नहुनु जनस्वास्थ्य समस्या पनि हो । किनकि चर्पी सफा भएन भने बालबालिकाहरु कि त खेत खलियान वा खोल्साखाल्सीतिर जान्छन् जसले वातावरण र पानी प्रदुषित गर्छ । अर्थात् उनीहरु दिसापिसाब च्यापेर बस्छन् जसले उनीहरुमा विभिन्न स्वास्थ्य समस्या आउनसक्छन् । दिसापिसाब च्याप्दा बालबालिका (र प्रौढमा पनि) कब्जियत हुने, माँशपेशीमा गडबड हुने, अनियमित दिसापिसाब, मुत्रनलीमा संक्रमणजस्ता समस्या हुने अध्ययनहरुले देखाएका छन् ।

व्यवस्थापकीय समस्या

कुनै विद्यालयमा चर्पी छैन भने त्यो विद्यालय व्यवस्थापन समितिको समस्या हो, नालायकी हो। अहिले विद्यालय शिक्षाको अधिकार पनि स्थानीय निकायमा गएकोले स्थानीय निकायको झन् ठुलो नालायकी हो । न्यूनतम लागतमा शौचालय सुचारु गर्न सकिने अवस्थामा पनि स्थानीय निकायले आनाकानी गर्नु अत्याचार नै हो । पाखापखेरा डोजर कुदाउने पैसाबाट अलिकित पैसा काटेर विद्यालयमा चर्पी बनाउनु पर्दैन भनेर अभिभावकहरुले स्थानीय निकायलाई सोध्नैपर्ने भएको छ ।

तर भएको चर्पी सफा छैन भने यो चाहिं विशुद्ध रुपमा विद्यालयको दैनन्दिन व्यवस्थापन हेर्ने प्रधानाध्यापकको असफलता हो । चर्पी सफा राख्ने व्यवस्था मिलाउन नसक्ने प्रधानाध्यापकले विद्यालय राम्रोसँग चलाउन सक्दै सक्दैनन् । चर्पी भनेको विद्यालयमा चाहिने चक डस्टर वा मार्कर जत्तिकै आवश्यक हो । बरु पढाइ प्रवचन विधिद्वारा गर्न सकिएला, चर्पीको विकल्प छैन ।

हेड सर, के तपाइँको स्कुलमा सफा चर्पी छ ? यो प्रश्न मैले हेड म्याडमहरुलाई सोधेको छैन किनकि मलाई आशा छ वहाँहरु यी समस्याहरुप्रति संवेदनशील हुनुहुन्छ र आफ्नो विद्यालयमा सफा चर्पी राख्ने व्यवस्था मिलाउनुभएको छ ।

शिक्षक मासिक, भदौ २०७५ मा प्रकाशित

Tuesday, March 27, 2018

बहकिएको बहस

कुरो सामाजिक सञ्जालकै हो। गत साता एउटा कुरामा सामाजिक सञ्जाल अझ भनौं ट्विटरमा अप्रिय बहस, अनावश्यक ध्रुवीकरण र कित्ताकाट भयो। विवाद २ जनाबाट शुरू भयो जसलाई म चिन्छु र सम्मान गर्छु ।
विनु सुवेदीले काठमाडौंको कुनै स्कुलले छोरीको भर्ना फारममा बाबुको फोटो टाँस्नै पर्ने र बाबुकै आम्दानीको स्रोत खुलेको कागज हुनुपर्ने बाध्यात्मक व्यवस्थाको विरोध गरेकी थिइन् ।
त्यसलाई डाक्टर र लेखक रामेश कोइरालाले बकम्फुसे कुरा भनिदिनुभयो र रंग हेरेर नुहाउन दिएनन् वा वर्ण हेरेर चिया ख्वाएनन् भने झैं सार्वजनिक खपतको लागि मात्र भनिएको झैँ अर्थ लाग्ने गरी ट्विट गर्नुभयो।
त्यसपछि पक्ष र विपक्षमा बहसले तीव्र रफ्तार समात्यो। शायद ट्विटरमा भिडेरमात्र पार नलाग्ने ठानेर होला, रामेशले एउटा ब्लग  नै लेख्नुभयो।
त्यसको प्रतिउत्तरमा फेरि विनु सुवेदीको लेख बाह्रखरीमा छापियो।
यो बहसमा मलाई उदेक लागेको कुरा के हो भने तथ्यमा धेरैजना गएकै थिएनन्। विनुको पक्षमा बोल्नेहरूले रामेशलाई पितृसत्तावादी, महिलाबिरोधी, महिला अधिकार विरोधी आदि भनिरहे भने विनुलाई त डलरवादी, अधिकारवादी, ह्यानत्यान, अपाच्य गाली नै पनि ‌ओकल्न भ्याए।
तर प्रश्नको चुरो कुरो के थियो भने १ कक्षामा भर्ना गर्दा नै बाबुको फोटो टाँस्नुपर्ने बाध्यता गराउने विद्यालय कुन हो? त्यत्तिकैमा डिएभी स्कुलको फारम आयो जहाँ आमाबाबु दुवैको फोटो टाँस्नुपर्ने बाध्यात्मक छ। तर यसलाई डाक्टर रामेशले पनि एउटा भारतीय विद्यालय भनेर नजरअन्दाज गरिदिनुभयो। तर त्यो भारतीय विद्यालय त यहीँ जावलाखेलमा रहेको, नेपाली विद्यार्थीलाई नेपाली पाठ्यक्रम नै पढाउने विद्यालय पो हो त।
म सधैँ भन्ने गर्छु व्यक्तिको लागि लोकतन्त्र वा प्रजातन्त्र भनेको समान छनोटको अवसर पनि हो। यस्तोमा त्यो विद्यालयमा यस्तो व्यवस्था छ भने ‘अर्कोमा पढाउ न त, किन निहुँ खोज्नु’ भन्न मिल्दैन। त्यसैले समस्या एउटा मात्रै विद्यालयमा छ भने पनि त्यसलाई सुधार्न लाग्नुपर्छ जुन दिशातर्फ यो बहस जान सकेन।
यो किन भयो? यसका लागि सामाजिक मिडियाको विशेषतामा जानुपर्छ। यसका धेरै फाइदा छँदाछँदै नकारात्मक पक्ष के देखिएको छ भने जब मानिस सामाजिक सञ्जालको बहसमा उत्रिन्छ उसले आफ्नो अडान छोड्दैन। आफ्नो अडान उपयुक्त छैन भन्ने लाग्यो भने पनि उसले सच्याउँदैन, बरू प्रतिरक्षाको लागि अडान झन्झन् कसिलो बनाउँदै जान्छ। यसले गर्दा बहस झन् ध्रुविकृत हुन्छ र व्यक्तिगत अहम् (इगो) को लडाइँको तहमा पुग्छ। ‍
यस्तोमा सत्यतथ्य पत्ता लगाउने सहज बाटो पनि बिर्सिइन्छ। जस्तै माथिकै उदाहरणमा बिनुले पनि विद्यालयहरुको नाम भनेर वहसलाई सही गति दिनसक्थिन्। त्यसो भएको भए यो अनावश्यक र अनुचित प्रावधान सच्याउन विद्यालयहरुलाई बाध्य पार्न सकिन्थ्यो।
अथवा रामेशले पनि सिधै मेन्शन गरेर सोधेर सत्यतथ्य पत्ता लगाउन सक्नुहुन्थ्यो। यसरी एउटा महत्वपूर्ण बहस व्यक्तिगत आरोपप्रत्यारोपमा गएर टुङ्गियो, र एउटा महत्वपूर्ण विषय ओझेल पर्‍यो।
यसका लागि कम्तीमा हामी सबैले सत्यतथ्य पत्ता लगाउने बाटो छँदाछँदै आफ्नो तर्क राखिहाल्ने हतार नगर्दा राम्रो हुन्छ। मैले पढाउँदा वा पत्रकारिताका तालिमहरूमा बर्ट्रान्ड रसेलको एउटा भनाइको सधैँ प्रयोग गर्छु जुन यहाँ पनि सान्दर्भिक देख्छु। उनले भनेका छन् ‘एरिस्टोटलले भने कि पुरुषको भन्दा महिलाका दाँत कम हुन्छन् जबकि उनी २ पटक विवाहित हुन् र आफ्नै श्रीमतीको मुख खोलेर हेरेर यो भनाइलाई पुष्टि गर्ने लेठो गरेनन्।’
तसर्थ सम्भव भएसम्म तथ्यमा प्रवेश गरेर बहस गर्दा सबैलाई राम्रो र बहस पनि उपयोगी हुनसक्छ। अझ पत्रकार वा विचार निर्माताहरुले त यो तर्फ झन् ध्यान दिनुपर्छ।

Wednesday, March 21, 2018

दुस्साहसी तीन यात्रा

जिन्दगीमा सजिलो र सीधा बाटो हिँड्नै जानिएन कि जस्तो लाग्छ अचेल । यसलाई बल दिएको छ मेरा पछिल्ला तीन पदयात्राले । यी तीनवटै यात्रामा अरु प्रायः नहिंड्ने बाटो हिंडेर असाध्यै दुःख पाइएको छ र कतिपय अवस्थामा त धन्न बाँचियो भन्ने पनि परेको छ । अलिकति Man Vs Wild का उपाय अपनाएर पनि ज्यान बचाउनुपरेको छ। तर एकपटकको दुःखबाट पाठ नसिकेको पाउँदा म आफैंलाई विश्मय लाग्छ।

जंगलमा बास
तीन वर्षअगाडि खप्तड जाँदाखेरि अरु हिंडेको दीपायल, झिग्राना हुँदै नगएर अछामको चौखुट्टेबाट यात्रा शुरु गर्यौँ । छोटो बाटो भनेर त्यो रोजेका थियौँ। डडेलधुराबासीले चौखुट्टेबाट  ४,५ घण्टामा पुगिन्छ भनेको आधारमा हामी ३ बजेतिर चौखुट्टेबाट हिँडे पनि भ्याइन्छ भनेर सोझिएका थियौँ । स्थानीयले भने ८,९ घण्टा लाग्छ भनेपछि हामीलाई हेपेर यिनीहरुले त्यसो भने होलान् भन्ने ठान्यौँ अनि त्यही दिन नै हिंड्ने निर्णय गर्यौँ। गाइड खोजेर चौखुट्टेबाट हिँड्दा नै अपरान्हको ४ बजेको थियो, राती १ बजेसम्म हिंड्दा पनि गन्तव्य नपुगेपछि रातभर एउटा पाटीमा आगो बालेर बस्नुपरेको थियो। राष्ट्रिय निकुञ्जको बाटोमा रातभर हिंड्दा झण्डै वन्यजन्तुको आक्रमणमा परिएन। यो यात्राबारे लेखिएको सँस्मरण यहाँ पढ्न सकिन्छ ।

१२ दिने पदयात्रा ६ दिनमा
अर्कोपटक उपल्लो मुस्ताङ जाने योजना गरेर निस्क्यौँ । मुक्तिनाथ पुगेपछि माथि हाँसिरहेको दामोदर हिमाल छोएरै आउने यति तीव्र उत्कण्ठा भयो कि उपल्लो मुस्ताङ जाने योजनालाई गोली मारेर थोराङतिर हानियौँ। छ जना हिंडेकोमा तीनजना मात्र उकालो लाग्न सक्ने देखियो तर पनि हिम्मत हारिएन। बिहान ५ बजे हिंडेका हामी दिउँसो ४ बजेमात्र थोराङ पुग्यौँ। लगभग शतप्रतिशत पर्यटकले नै मनाङबाट मुस्ताङतर्फ यात्रा गर्ने गर्दछन् । उनीहरु ४९०० मिटरमा रहेको हाइक्याम्प वा ४७०० मिटरमा रहेको बेसक्याम्पमा बसेर ५४१९ मिटरको थोराङ भञ्ज्याङ पार गरेर ३८०० मिटरको मुक्तिनाथमा पुगि विश्राम गर्छन् । हामी भने उल्टो बाटो हिंडेका थियौँ। ३८०० मिटरको मुक्तिनाथबाट यात्रा शुरु गरेर एकै दिनमा ५४१९ मिटर पुगेका थियौँ र झरेर ४९०० मिटरको हाइक्याम्पमा बास बस्न पुगेका थियौँ। दुई रातको बसाइ ११०० मिटरको फरकमा । यो पनि जोखिमपुर्ण नै थियो तर जेनतेन बाँचेर आइयो। यही यात्रामा तिलिचोसमेत पुग्न भ्याइयो । पर्यटकहरुले ‌औसतमा १२ दिन लगाउने पदमार्ग हामीले ६ दिनमा छिचोलेका थियौँ ।

अर्को उल्टो यात्रा
यसपटक फेरि त्यस्तै उल्टो यात्राको संयोग पर्यो । ताप्लेजुङ पुगेपछि धेरैको चाहना हुन्छ एकपटक पाथिभरा पुगेर आउँ । यसको अर्को कारण के पनि होला भने हिमाली जिल्ला भएर पनि सदरमुकाम मेङलुङ मात्र पुगेर फर्कने हो भने कुम्भकर्ण, कञ्चनजंघा लगायतका हिमाल नजिकबाट महसुस त के कुरा देख्न पनि नपाइ फर्कनुपर्ने हुन्छ । त्यसैले यसपटक ताप्लेजुङ पुग्दा जुन मेरो लागि पहिलो यात्रा थियो, पाथिभरा पुग्ने रहरले कुतकुतायो । अरु काम पनि लिएर गएकोले तमोरको छेउछाउ सिंह्वा पुगिएको थियो । त्यहाँबाट पाथिभरातिर हेर्दा लाग्यो बाग्लुङ राङखानीको रुम्टाबाट हाँडीकोटको डाँडो हेर्दैछु। बस, के चाहियो । लु भाई अब यहीँबाट पाथिभरा हुँदै मेङलुङ झरिन्छ भन्ने ठानियो । पहिलो दिन अलिकति माथि १७०० मिटरको उचाइमा रहेको लिङखिम गाउँ पुगेर बसियो । स्थानीयले त भन्दै थिए लिङखिमबाट ६,७ घण्टा लाग्छ । यति नाथे त हिँडिहालिन्छ नि भनेर आँटियो । तर १७०० बाट ३८०० मिटरको उचाइमा चानचुने कुरा होइन भन्ने मलाई थाहा थियो तर टोलीका साथीहरुलाई भने निरन्तर अल्टिमिटर हेर्दै यति माथि आइयो भनेर हौस्याइरहेँ।

गाउँगाउँमा बाटो पुगेको छ, बाटो पुगेपछि ३० वर्ष पुरानै भए पनि रेन्जरोभर गाडी चढ्छन् । त्यहाँका स्थानीय समेत गाडीमै मेङलुङ, त्यहाँबाट अर्को गाडी चढेर फेदीसम्म पुग्ने र त्यहाँबाट जम्मा तीन घण्टा हिंडेर पाथीभरा पुग्दा रछन् । त्यसैले यो बाटोमा लिङखिम छोडेपछि नै मान्छेको कुनै छाप थिएन । डोरेटो बाटो पनि झण्डै मेटिइसकेको रहेछ । त्यही पनि ५ सदस्यीय टोली निरन्तर अगाडि बढिरह्यो र पाथीभरा पनि निरन्तर अग्लो हुँदै गइरह्यो । जति हिँडेपनि नपुगिने, जति माथि गयो उति नै टाढा हुने ।

छोटो बाटो भनेर सातुसामल केही बोकिएको थिएन । अलिअलि मकै र जम्म तीन लिटर पानीको भरमा हामी यात्रा गर्दै थियौँ जुन लगभग आधा बाटो पनि नकाट्दै सकिइहाल्यो। अनि हप्याक भइयो । त्यसपछि फेरि Man Vs Wild कै उपाय शुरु गरियो । शुरुमा पानीको बोतलमा राखी हिउँ पगालेर पिउने आइडिया लगाइयो। पग्लिँदा पानी सँग्लो देखिएन । त्यसैले त्यो उपाय त्यागियो । तर तीर्खा कसरी तृप्त गर्ने? हिन्दीको कहावत मर्ता क्या नहीँ कर्ता भने झैँ यसपटक सीधै हिउँ खाएर घाँटी भिजाउने उपाय लगाइयो ।


पानी त पुग्यो तर शरीरलाई शक्ति पनि चाहियो। खोतलखातल गर्दा एकपटकमा बुद्ध एयरको चकलेट भेटाए एकजना साथीले । अर्कोपटक भने केही भेटिएन शिवाय एक पुरिया जीवनजल। त्यही जीवनजललाई हिउँमा छर्कँदै खाइयो । पानी पनि पुग्ने, शक्ति पनि आउने ।

नौ घण्टासम्म पुरै उकालो हिंडेर बल्लबल्ल पाथीभरा पुगियो त्यो पनि ३ टोलीमा । असाध्यै भोकाएका १ जनालाई भोकले कुदायो, मसहित २ जना बिचमा पर्यौँ अघि गएको साथीलाई नभेटाउने, पछि परेकालाई कुर्दा आफैँ शहीद भइन्छ कि भन्ने डर । पुच्छरका २ जना पुच्छरमै भइ नै हाले । यसरी अन्ततः पाथीभरा पुगेपछि मुख्य काम भनेको प्रसाद मागेर खानु नै भयो । सम्भव भएसम्म सबैतिर र मन्दिरका पुजारी, पहरेदार जताजता छन्, त्यतै गएर मागेर खाइयो । लाग्यो स्वर्गीय अनुभुती भनेको यही होला । मन्दिर पुग्दा बित्तिकै खान पाएको थोरै अनारदाना नै सञ्जीवनी अमृत होला ।

रिसाएको कञ्चनजंघा

२ दिन अगाडि पानी परेर मौसम खुलेको थियो । २००० मिटर माथि लागेदेखि नै हिउँ शुरु भएको थियो, मन्दिरमा पुग्दा त आधा फुटभन्दा बढी जति जमेको थियो होला। ३८०० मिटरमा पुगेर कञ्चनजंघादेखि सगरमाथा सम्मको पानोरामा हेरौँला भन्ने सपना भने सपनामात्रै रह्यो । कुहिरो लागेर बाटो नै भूतको फिल्मको दृश्यजस्तो भएको थियो । शिखरमा पुग्दा भिजिबिलिटि ५० मिटर पनि थिएन होला। त्यतिमात्र होइन, नौ दिनको इलाम, पाँचथर र ताप्लेजुङको यात्राभर पनि कञ्चनजंघाको दर्शन गर्न पाइएन। शायद कञ्चनजंघा मसँग रिसाएको छ, अर्कोपटक मन्स्याउन फेरी जानुपर्ला ।